एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार



नेपाल समाचारपत्र, काठमाडौं ।

संसद्मा जारी अवरोध हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाउनुभएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल एमालेले बहिष्कार गरेको छ ।

एमालेले राख्दै आएको मागको विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । यसअघि सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमाले बहिष्कार गरेको थियो ।

प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरू उपस्थित भए पनि एमाले सहभागी नभएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘संवादमा बोलाउँदा पनि नआउने भन्नु एमाले वार्ताबाट भाग्न खोजेको देखियो । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ ।’ कार्कीले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘फेरि फेरि पनि म उहाँहरूलाई आमन्त्रण गर्छु, उहाँहरू आउनुहुनेछ र आफ्नो कुराहरू राख्नुहुनेछ ।’

सरकार र सभामुखले संवादका लागि पहल नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएको एमाले सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू पनि सहभागी हुने भएपछि बहिष्कार गरेको हो । प्रधानमन्त्री देउवाले सर्वदलीय बैठकमा सहभागी हुन एमालेका अध्यक्ष केपी ओलीलाई नै खबर गर्नुभएको थियो । तर, बैठक शुरु हुनुअघि अध्यक्ष ओलीले बैठक बोलाएकोमा धन्यवाद दिँदै अनाधिकृत नेता सहभागी हुने बैठकमा आफ्नो दल सहभागी हुन नसक्ने जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले भने– ‘ओलीले बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएपछि प्रधानमन्त्रीले संवादबाटै भाग्ने कुरा नगर्नुहोस्, आउनुहोस् छलफल गरौँ, निकास निकालौं भनेर आग्रह गर्नुभयो ।’

एमाले सहभागी नभए पनि प्रधानमन्त्री निवास बालुवाटारमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच संवाद भएको थियो । बैठकले प्रमुख प्रतिपक्ष दल एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।

त्यस्तै, बैठकले संघीय संसद्लाई निर्बाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि नेकपा एमाले र उक्त पार्टीका नेता ओलीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा बैठकले जोड दिएको छ । नेकपा एमालेको अवरोधका कारण संघीय संसद् लगातार अवरुद्ध हुँदै आएको छ ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदमाथि सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेको भन्दै सभामुखविरुद्ध सर्वोच्च अदालतमा रिट दायर रहेको छ । एमालेसँग संवाद अगाडि बढाउन कानुन मन्त्री कार्कीले यसअघि एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर दुईपटक संवादसमेत गरिसक्नुभएको छ ।

संसद् सहज रूपमा सञ्चालन हुन नसक्दा प्रतिनिधिसभा संसद्मा ३३ वटा र राष्ट्रिय सभामा पेस भएका २७ वटा विधेयक गरी ६० वटा विधेयक अलपत्र छन् ।

सर्वदलीय बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्