प्रधानमन्त्री समक्ष बुटवलको पहिरो नियन्त्रणको काम अघि बढाउन माग


यमलाल भुसाल, बुटवल  । 
पूर्व उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेल सहितको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरी बुटवलको ज्योतिनगरमा झरेको पहिरो नियन्त्रणको काम तत्काल अगाडि बढाउन आग्रह गरेको छ ।

टोलीमा उपमहासचिव पौडेल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, बुटवल वडा नम्बर ४ का अध्यक्ष टंक पराजुली, बुटवल १ का अध्यक्ष महेन्द्र लिगल र बुटवल १३ का वडा अध्यक्ष नारायण पुन सहितको टोलीले बिहीबार प्रधानमन्त्री देउवालाई भट गरि त्यस्तै आग्रह गरेको हो ।

नेता पौडेलले पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन, पहिरो नियन्त्रण, बुटवलको संरक्षणका साथै गुरुयोजना निर्माण र प्रभावितहरुलाई पुनःस्थापनाको लागि बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।‘वन तथा वातावरण मन्त्रालय र राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई निर्देशन दिनुहोस’ पौडेलले भन्नु भयो ।

ज्ञापनपत्र बुझदै प्रधानमन्त्री देउवाले बुटवलको संरक्षणका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिने बताउनु भयो । उहाँले चुरे क्षेत्रको संरक्षणका लागि गुरु योजना बनाएर अघि बढ्ने बताउनु भयो ।

भदौ १३, १४ र असोज ४ गते गरी बुटवल–३ ज्योतिनगरमा चुरेबाट झरेको पहिरोले २० भन्दा बढी घर पुरिएका छन् भने, ज्योतिनगर बस्ती नै जोखिममा परेको छ । बुटवलको ज्योतिनगर चुरेको फेदमा पर्छ। ज्योतिनगर र लक्ष्मीनगर माथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो।

त्यतिबेला पहिरोले झरेर ५७ घरमा क्षति पुगेको थियो ।२३ वर्षपछि अहिले फेरि पहिरो झरे समग्र बुटवल क्षेत्रलाई नै जोखिमपूर्ण बनाएको भुर्गवविदहरुले बताएका छन ।