मन्त्री निवासको ६४ प्रतिशत काम सम्पन्न


मधुसुदन रायमाझी, काठमाडौं ।

सरकारले संघीय मन्त्रीहरुको लागि निर्माण गरिरहेको मन्त्री निवासको काम तीब्र गतिमा अगाडि बढेको छ । निर्माण सुरु भएको यस अवधिमा मन्त्री निवासको ६४ प्रतिशत काम सम्पन्न भएको हो ।

हाल पुलचोकमा रहेको मन्त्री निवास साँघुरो भएकाले सरकारले ललितपुरकै भैसैंपाटीको आवास क्षेत्रभित्र सुविधा सम्पन्न निवासको काम अगाडि बढिरहेको छ । भैंसेपाटी स्थित सैबु आवास क्षेत्रका रहेको ९६ रोपनी १२ आना क्षेत्रफलमा मन्त्री निवासको काम धमाधम निर्माण भइरहेको छ । लगभग तयार हुने क्रममा रहेको निवासको रंगरोगन र फिनिसिङको काम रहेको छ ।सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले नेपालकै मौलिक कला संस्कृति झल्कने गरी मन्त्री निवास निर्माणको काम अगाडि बढाएको छ ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठले मन्त्री निवासको निर्माणको कामलाई जति छिटो सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो । निर्माण भइरहेका भवनमा अहिले डाँछी इट्टा राख्ने काम सम्पन्न भइसकेको बताउदै उहाँले छानामा टायल राख्ने काम भइरहेको बताउनुभयो । आयोजनाले २४ वटा मन्त्रीहरुको निवास, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निवासकासँगै उपसभामुखको निवास गरी मन्त्री निवास परिसरभित्र २७ वटा आधुनिक भवन निर्माण गरिरहेको छ ।निर्माणधिन मन्त्रीहरुको निवास २०७८ कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ को कारण केही समय म्याद थप्नु पर्ने भएको आगामी चैत्र महिनाभित्र सम्पन्न हुने आयोजनाले बताएको छ ।

आवासको लागि छुटयाएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी क्षेत्र भवनले ओगटने छ भने ३८ रोपनी ८ आना हरियाली क्षेत्रको लागि छुटयाइको छ । २१ रोपनी क्षेत्र आवासभित्रको आन्तरिक सडकले ओगटने छ । परिसरभित्र एक सय सवारी साधन अटाउने पार्किङ स्थल समेत निर्माण हुने आयोजनाका हुनेछ ।पहिलो चरणमा २७ वटा भवन, कमाउण्ड, सडक ढल र भौतिक पूर्वाधार निर्माण भइरहेको छ । पहिलो प्याकेज अन्तर्गतका काम अन्तिम चरणमा पुगेका छन् । विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीप शेखर श्रेष्ठले मन्त्री निवासलाई जतिसक्दो चाडो सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,‘सयमसीमाभित्र सम्पन्न गर्नको लागि आयोजनाले तीब्र गतिमा काम गरिरहेको छ ।’ १ अर्ब ३ करोड लागतमा निर्माण भइरहेको मन्त्री निवास आगामी चैत्रभित्र सम्पन्न हुनेछ बताइएको छ । निर्माणाधिन मन्त्री निवासको प्रत्येक भवनमा ग्राउन्ड फ्लोरमा वेटिङ रूम, हल र सचिवालय राख्ने गरी निर्माण गरिएको छ ।आयोजनाले दोस्रो प्याकेज अन्तर्गत बहुउदेश्य सभा हल, सुरक्षाकर्मी बस्ने घर, स्वीमिङ पुल, ग्रोसरी लगायतको संरचना निर्माण गर्न बोलपत्र आह्वानको गरिसकेको छ । यसै महिनाभित्र ठेक्का सम्झौता गरेर काम अगाडि बढाउने तयारी अयोजनाले गरेको छ ।

आयोजनाका प्रमुख इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले मन्त्री क्र्वाटर मल्लकालीन शैलीमा निर्माण भइरहेको बताउनुभयो । भवनको ढलानमाथि झिंगटी राखेर परम्परागत शैली दिएको बताउदै लकडाउनको अवधिमा पनि काम भएको कारण जतिसक्दो चाँडो सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । सिंहदरबारदेखि मन्त्री निवासको दुरी ६ किलोमिटरमात्र रहेको बताउदै कर्माचार्यले वातारणीय दृष्टिकोणले मन्त्री निवास निकै उपयुक्त स्थानमा रहेको बताउनुभयो । कमाचार्यले भन्नुभयो,‘अब भवनको रंगरोगन र फिनिसिङको काम बाँकी छ, मन्त्री निवासमा आधुनिक प्रविधिको प्रयोग गरी गरी निर्माण गरिएको छ ।’