बजार अनुगमन तिब्र, उपभोक्तालाई सचेत रहन आग्रह

बनेपाको द इजी शपलाई ५ हजार जरिवना


मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला बजार अनुगमन समिति काभ्रेले जिल्लाका मुख्य बजारहरुको अनुगमनलाई तिब्र बनाएको छ । खाद्यान्न तथा मासुजन्य पसलहरुको अनुगमन गरेको टोलीले दशैमा उपभोक्ताहरुले प्रयोग गर्ने अन्य सामानहरुको खरिद विक्रीको पनि अनुगमन गर्ने तयारी गरेको छ ।

विहिबार बनेपाका मासु र खाद्यान्न पसलहरुमा अनुगमन गरेको टोलीले बनेपा नगरपालिका वडा नम्वर ७ गोदामचोकमा रहेको द इजी शप पसलले विस्कुटमा मुल्य बृद्धी गरी विक्री गरेको फेला पारेसँगै ५ हजार जरिवना गरेको छ । साथै लेभलिङ्ग, प्याकेजिङ्ग, म्याद गुज्रेका सामानहरु भए नभएको अनुगमन गरी उपभोक्ताहरुको हितमा काम गर्न टोलीले निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदिप सुनुवारले बजारलाई स्वच्छ, ब्यवसायीक र ब्यवस्थित बनाई उपभोक्तालाई सहज बनाउने प्रयास गरिएको बताउनु भयो । ‘चाडपर्व केन्द्रित बजार अनुगमनले उपभोक्तालाई हित गर्छ भने ब्यवसायीहरुलाई सच्चिने अवसर प्राप्त हुन्छ’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘जिल्लाका विभिन्न क्षेत्रमा सबै खालका पसलहरुको अनुगमन गरिनेछ ।’

विहिबार बनेपामा खाद्यान्न पसलका अलावा मासु पसल, मासुको बधशाला र रक्सि पसलमा अनुगमन गरिएको थियो । २९ वटा पसल अनुगमन गरिएकोमा मासु पसललाई अझै ब्यवस्थित र दशै तिहार तथा अन्य समयमा पनि उपभोक्ताहरुलाई स्वस्थ मासु उपलब्ध गराउन सरसफाईमा ध्यान दिन, कानुनी प्रकृया पुरा गर्न सुझाव दिएको छ । मासु ब्यवसायी र बधशाला संचालकहरुलाई आईतबार दिउसो जिल्ला भेटेरिनरी अस्पतालमा बैठक आयोजना गरी थप प्रकृयाका लागि सहजिकरण गरिने जिल्ला भेटेरिनरी अस्पताल धुलिखेलका प्रमुख डा. मोगलप्रसाद शाहले बताउनु भयो ।

बनेपा वडा नम्वर ९ को शाहि टोलमा ८ वटा बधशाला संचालन भए पनि दर्ता भएका छैनन । सबै बधशालाले मासु पसल दर्ता गरेका छन् । तराईका विभिन्न जिल्ला तथा सिमाना जोडिएका भारतका विभिन्न स्थानबाट बनेपामा हरेक दिन भैसी र राँगा ल्याई बध गरिने गरिएको बद्यशाला संचालक दिलकुमार शाहिले बताउनु भयो । उहाँले दैनिक ५ वटा भैसी र राँगा बध गर्दै आउनु भएको छ । राँगा भन्दा धेरै भैसीको बध हुने गरेको छ । होलसेल मुल्य प्रति केजी ३ सय ६० रुपैयामा विक्री गरे पनि बजार मुल्य ४ सय २० रुपैया पर्ने गरेको शाहिले बताउनु भयो ।

बद्यशालामा थप सरसफाई आवश्यक रहेको, दर्ता गरी संचालन नगरिएको, भैसीहरुको स्वास्थ्य परिक्षण गर्नु पर्ने, गर्भिणी भैसी हो होईन अथार्त उ गर्भिणी हुन सक्छ कि ? सक्दैन ? त्यसको पूर्ण जानकारी नभई भैसीको बध गरिने गरिएको डा. मोगलप्रसाद शाहले बताउनु भयो । मासु पसलहरु पनि दर्ता भए पनि सरसफाईमा ध्यान दिन नसकेको उहाँले बताउनु भयो । जिल्ला स्तरीय टोलीले बनेपाका होलसेल खाद्यान्न पसलहरुको अलावा मार्ट, खुद्रा पसल र रक्सि पसलको समेत अनुगमन गरेको थियो । बुधबार पनौतीमा १३ वटा पसलसँगै अस्पतालको पनि अनुगमन गरिएको थियो ।

अनुगमन टोली पुगेपछि पनौतीका केहि पसलेहरु सटर तानेर भागेका थिए । अनुगमनका लागि जिल्ला प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडा, जिल्ला भेटेरिनरी अस्पतालका प्रमुख डा. मोगलप्रसाद शाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका नारायणप्रसाद भट्टराई, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनी, काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र बैदार, उद्योग बाणिज्य संघको टोली, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक राजन कोईराला लगायतको सहभागिता रहेको थियो ।