लेननको दुर्लभ क्यासेट बिक्री


कोपेनहेगन,(एजेन्सी) ।

विश्व चर्चित सांगीतिक ब्यान्ड विटल्सका गायक जोह्न लेनन र उनकी पत्नी योको ओनोको एउटा दुर्लभ क्यासेट रिकर्टिङ डेनमार्कका राजधानी कोपेनहेगनमा आयोजित लिलाममा ५८ हजार ३ सय अमेरिकी डलरमा बिक्री भएको छ ।

पचास वर्षभन्दा लामो समयअघि विटल्स समूह टुक्रिनु केही महिनाअगाडि मात्र चार जना डेनिस किशोरले ३३ मिनेट लामो यो अडियो ट्रयाक तयार पारेका थिए ।

लेनन दम्पतीको अन्तर्वार्तासमेत रहेको सो क्यासेटमा समावेश गरिएको गीत अहिलेसम्म रिलिज नभएको विश्वास गरिएको छ ।

लिलाम गृहले मंगलबार लिलामका ल्याएको सो क्यासेट टेप कुनै संग्रहालय वा संकलनकर्ताबाट खरिद गरिएको हुन सक्ने जनाएको छ । यस क्यासेट खरिदकर्ताले आफ्नो परिचय खुलाउन चाहेको छैन । उनले टेलिफोनमार्फत् लिलाममा आफ्नो बोल लगाएका थिए ।

यस क्यासेटसँगै लेनन स्कुलका विद्यार्थीहरूसँग बसिरहेको एउटा तस्वीर र ‘हामी हिप्पीहरूको झुण्ड हौं’ शीर्षकको एउटा स्कुले अखबारको कपि पनि बिक्री भएका छन् ।

सन् १९७० को जनवरीमा केही विद्यार्थीले आफ्नो स्कुलको अखबारका लागि लेननको अन्तर्वार्ता लिएका थिए ।