सेनाको वृक्षरोपण अभियान


बैतडी, (नेस)  । 

नेपाली सेनाले बैतडीमा वृक्षरोपण अभियान शुरु गरेको छ । सेनाले सञ्चालन गरेको ‘एक सिपाही, दश बिरुवा’ अभियानअन्तर्गत मंगलबारदेखि हनुमानध्वज गुल्मको टोलीले वृक्षरोपण थालेको हो ।

जंगल तालिमका रूपमा प्रयोग गर्दै आएको दशरथचन्द नगरपालिका–२ कठपतेमा वृक्षरोपण गरी अभियानको शुभारम्भ गरिएको हनुमानध्वज गुल्मले जनाएको छ । वातावरणीय सन्तुलन कायम राख्न तथा नेपाली सेना र जनप्रतिनिधि, नागरिकबीचको आपसी सद्भाव कायम राख्न टेवा पुगोस् भनेर संयुक्त रूपमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका २ सय ५० वटा बिरुवा रोपिएका छन् ।

दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ओखर, अमला, लप्सी, रिठा, तिमुर, कल्कीलगायतका फलफूल तथा बाँस, निगालो, धुपीलगायतका बिरुवा रोपण गरिएको हो । हनुमानध्वज गुल्मको आयोजनामा गरिएको वृक्षरोपण कार्यक्रममा जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको सहभागितामा रहेको थियो ।

नेपाली सेनाले सैनिक र नागरिकको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले पछिल्लो समय सामाजिक कार्य पनि गर्दै आएको छ । सेनाले विद्यालय भवन जीणोद्वार, पर्यटकीयस्थल सरसफाइ र मर्मतसम्भार, शैक्षिक क्षेत्रको विकासका लागि पुस्तकालय भवन निर्माण, निःशुल्क स्वास्थ्य शिविर, विपद््मा उद्धार, विभिन्न विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम पनि दिँदै आएको छ ।