कोलकाताद्वारा दिल्ली पराजित


नयाँदिल्ली, (एजेन्सी) । 

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मंगलबार भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको छ । शारजहाँमा कोलकाताले १० बल बाँकी राखी जित हात पारेको हो । टोलीको जितमा नितिश राणाले २७ बलमा ३६ रन जोडे भने शुभमन गिलले ३० रनको योगदान दिए ।

यस्तै, सुनील नारानले १० बलमा २१ रन बनाएका थिए । यो जितसँगै कोलकाताको १० अंक भएको छ भने हारका बाबजुद दिल्लीले १६ अंकसहित प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।कोलकाताले मात्र १ सय २८ रनको लक्ष्य प्राप्त गर्न ७ विकेट गुमाउनुपरेको थियो । टोलीका बेंकटेश ऐयर १४ रन, राहुल त्रिपाठी ९ रन, आयन मोर्गान शून्यमा, दिनेश कार्तिक १२ रन र टिम साउदी ३ रन बनाएर आउट भएका थिए । तर, चौथो नम्बरमा ब्याटिङ गर्न आएका नितिश नटआउट हुँदै टोलीलाई जित दिलाए ।

यसअघि, दिल्लीका लागि शिखर धवन र स्टिभ स्मिथले पहिलो विकेटका लागि ३५ रन जोडेका थिए । लयमा रहेका धवनले २४ रन बनाए । तर, श्रेयस ऐयर १ रनमा आउट भएपछि दिल्लीको ब्याटिङ कमजोर बन्दै गएको थियो । स्मिथ पनि ३९ रनमा आउट भएपछि सिमरोन हेटमायर ४ रन, ललित यादव र अक्षर पटेल शून्यमा पभेलियन फर्केका थिए । ऋषभ पन्त ३६ बलमा ३९ रन बनाएर रनआउट भएका थिए ।