सेल्टा भिगोको कठिन जित


मेड्रिड, (एजेन्सी)  । 

सेल्टा भिगोले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ ।घरेलु मैदानमा सोमबार राति भएको खेलमा सेल्टा भिगोले ग्रानाडालाई १–० गोलले हराउँदै कठिन जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सेल्टा भिगोको जितमा डेनिस स्वारेज नायक बने । मिडफिल्डर स्वारेजले दोस्रो हाफको इन्जुरी समयमा सान्ति मिनाको पासमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।त्यसअघि, खेलको ७३औं मिनेटमा इयागो आसपासले पेनाल्टीमा गोल गर्नबाट चुकेपछि सेल्टा भिगो तनावमा देखिएको थियो । ७३ प्रतिशत बल पोसेसन राखेको सेल्टा भिगोले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो ।

सेल्टा भिगोले खेलभर १४ वटा पोस्ट प्रहार गरेको थियो । यता सातवटा पोस्ट प्रहार गरेको पाहुना टोली ग्रानाडा अन्तिम समयमा सम्हालिन नसक्दा हार खेप्न बाध्य बन्यो । निर्णायक गोल गरेका डेनिस स्वारेज ‘म्यान अफ दी म्याच’ घोषित भए । जितसँगै सेल्टा भिगोको सात अंक भएको छ । पराजित ग्रानाडाको भने तीन अंक रहेको छ ।