अनुले मस्कोमा हुने प्रिमियर लिगमा खेल्ने


काठमाडौं, (नेस) । 

सागको स्वर्ण विजेता अनु अधिकारीले रसियाको माकोमा आयोजना हुने रेंकिङ प्रतियोगिता कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जाने भएकी छन् ।

अनुलाई मंगलबार बिदाइ गरिएको हो । विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीको सहभागिता रहने उक्त रेंकिङ प्रतियोगितामा अनुले ५५ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । प्रत्येक तौल समूहमा विश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए ।खेलाडी अनु हाल विश्व कराते रेंकिङको १ सय ६३औं स्थानमा रहेकी छन् । यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडी ओलम्पिकका लागि स्वतः छनोट हुने खेलाडी अनुले जानकारी गराइन् । यो लिग आउँदो ओलम्पिकका लागि शुरुआती चरण भएको समेत उनले बताइन् ।

यस विश्व रेंकिङ प्रतियोगितामा सहभागिता हुनका लागि नेपाल कराते महासंघले आयोजना गर्ने विभिन्न सिरिज प्रतियोगिताहरूमा सहभागिता र जितका आधारमा रेंकिङका लागि प्राप्त अंकका आधारमा उच्च ५० भित्र परेका खेलाडीहरूले स्वतः छनोट चरण पार गर्नेछन् । बाँकी १४ जना २०० रेंकिङभित्र परेका खेलाडीले लिगका लागि दर्ता खुलेको अवस्थामा फस्र्ट कम फस्र्टका आधारमा जति सक्दो चाँडो नाम दर्ता गर्न सकेमा मात्र सहभागिता जनाउन पाउने प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।

अरू बेला शीर्ष १५० भित्रका खेलाडीले मात्र सहभागिताका लागि नाम दर्ता गर्न पाउने भएता पनि यसपटक कोभिडका कारण सिरिजहरू नभएका कारण २०० भित्रका खेलाडीहरूले नाम दर्ता गर्न पाउने प्रावधान कराते महासंघले गरेकाले अनु यस लिगका लागि छनोट हुन सफल भएको समेत श्रेष्ठले जानकारी गराए । अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु एक्लै हिजै त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।