निजामती कर्मचारीको अभिलेख अद्यावधिक हुँदै


काठमाडौं, (नेस)  । 

निजामती कर्मचारीको अभिलेख राख्ने जिम्मा पाएको राष्ट्रिय निजामती किताबखाना (निजामती) ले वैयक्तिक विवरण अद्यावधिक गर्ने कार्य शुरू गरेको छ ।

किताबखानाले कर्मचारीको विवरण अद्यावधिक गर्ने कार्यलाई अभियानकै रूपमा शुरु गरेर मंसिरभित्र काम सक्ने लक्ष्य राखेको छ । अद्यावधिक गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम शुरु गरेको किताबखानाले असोजको पहिलो सातासम्म २ सय १३ जना कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ । अद्यावधिक गर्न पाँच जना कर्मचारी खटिइएका छन् ।

सो क्रममा संगठनको दरबन्दीअनुसार पदपूर्तिको स्थिति, सरुवा, बढुवालगायत कर्मचारी व्यवस्थापनसम्बन्धी विवरण संकलन गर्नेे, सेवा सञ्चालन गर्ने मन्त्रालय तथा विभागबाट कर्मचारीका घटनासम्बन्धी विवरण समयमै प्राप्त गर्ने÷गराउने वातावरण तयार हुनुका साथै अभियानकै क्रममा ‘गभरमेन्ट अफिस इन्टिग्रिटेड म्यानेजमेन्ट सिस्टम’ नामक अनलाइन प्रणालीको परीक्षणसमेत गरिने किताबखानाले जनाएको छ ।

यस्तै, अभिलेख अद्यावधिक गर्ने कार्यका लागि आवश्यकताअनुसार थप जनशक्ति अभिमुखीकरणसहित व्यवस्था गरिने, किताबखानाको असल पहिचानलाई प्रवद्र्धन गरिने, अभियानअन्तर्गत भए÷गरेका कामको विवरण हरेक शुक्रबार सार्वजनिक गरिने र इमेलमार्फत प्राप्त हुने आधिकारिक विवरणको आधारमा समेत विवरण अद्यावधिक गरिने जनाइएको छ ।

कर्मचारीको व्यक्तिगत अभिलेख अद्यावधिक गरेपछि कर्मचारी कार्यरत मन्त्रालय र किताबखानाको जनशक्तिसम्बन्धी विवरणमा एकरूपता ल्याउन सहयोग पुग्ने, कर्मचारीको पद र सेवासम्बन्धी विवरणलाई ‘रियल टायम’ बनाउन सहयोगी हुने किताबखानाले जनाएको छ । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाटै सरुवाको आवेदन दिन सक्ने व्यवस्था मिलाएको थियो ।