मन्त्रीमण्डल विस्तारको तयारी शुरू


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रीमण्डललाई पूर्णता दिन लाग्नुभएको हो ।

सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६÷६ मन्त्रालय लिने विषयमा समझदारी बनेको भए तापनि कुन–कुन मन्त्रालय कुन दलले पाउने भन्नै अझै टुंगो लागिसकेको छैन । गृह, अर्थ, ऊर्जा, न्याय, कानुन तथा संसदीय मामिला, परराष्ट्र र स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिसकेका प्रधानमन्त्री देउवाले थप १६ मन्त्री नियुक्त गर्नुहुनेछ ।सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीहरूको नाम बुझाइसकेको बताइएको छ । बुधबारसम्म मन्त्रीमण्डल विस्तार हुने बताउँदै एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले भन्नुभयो– ‘गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार मन्त्रीमण्डलले अब पूर्णता पाउँछ ।

त्यसै गरी, नेकपा माआवादी केन्द्रको पनि आज बुधबार बस्ने स्थायी समिति बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ । माओवादी नेता हरिबोल गजुरेलले स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री देउवालाई बुझाउने बताउनुभएको छ । मंगलबारका लागि तय गरिएको स्थायी कमिटीको बैठक स्थगित भएर बुधबार सरेको थियो ।जनता समाजवादी पार्टीले पनि मन्त्रीको नाम टुंगो लगाउन आन्तरिक गृहकार्य अगाडि बढाएको छ । जसपाले आफ्नो मागअनुसार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा पठाउने मन्त्री छनोटका लागि परामर्श थालेको जसपाका नेता महेन्द्र राय यादवले बताउनुभयो । पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि जसपालाई मन्त्री छनोट गर्न भने सकस परेको छ ।

कांग्रेसबाट चार जना मन्त्री नियुक्त गर्नुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पार्टीभित्र मन्त्री छनोटका लागि आन्तरिक छलफल गर्नुभएको छ । उहाँले पार्टीभित्र रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मन्त्री बनाउनेको नाम माग गर्नुभएको बताइएको छ ।