पहिरो पीडितहरुका लागि उद्दार तथा राहत व्यवस्था गर्न सरकारसँग माग


यमलाल भुसाल, बुटवल ।

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाउदै पहिरो र नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरेको छ ।

बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनका लागि लुम्बिनी प्रदेश सरकारलाई नेपाली कांग्रेस बुटवल नगर समितिले दवाव श्रृजना स्वरुप ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।ज्योतिनगर पहिरो तथा तिनाउ नदी करिडोरका बाढी पीडितहरुलाई राहत, उद्धार र पुनःस्थापनाका लागि कांग्रेस नगर सभापति खेलराज पाण्डेको नेतृत्वमा ध्यानाकर्षण गराईएको हो ।ध्यानाकर्ष बुझदै मुख्यमन्त्री कुल प्रसाद केसीले तत्काल सरकारले ३ चरणका कार्ययोजना बनाउने गरि कार्यक्रम अगाडी बढाएको बताउनु भयो ।

मुख्यमन्त्री केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयलाई तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको बताउनु भयो ।गएको भदौ १३ गते झरेको पहिरोले बुटवल-३ ज्योतिनगरका दर्जनौ घर परिवार विस्थापित भएका छन् । यसैगरी भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर-परिवार घरबार विहिन बनेका छन् ।

बाढी पहिरो तथा डुबानले विस्थापित हुँदा समेत प्रदेश सरकारले समयमै चासो नदिएको भन्दै आलोचना हुने गरेको छ ।घटना भएको एक महिना वितिसक्दा पनि सरकारले प्रभावितहरुको तथ्याङ्क समेत तयार गर्र्न नसकेको भन्दै तीब्र आलोचना भएको हो ।यसैगरी बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तीब्रता दिन आवश्यक निर्देशन गरिने मुख्यमन्त्री केसीले आश्वासन दिर्नु भयाे ।

यसैगरी चौराह–गोलपार्क सडक विस्तारको काममा ढिलासुस्ति हुनुका साथै शहरको मुख्य सडक नै धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा शहरबासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएको भन्दै ध्यानाकर्षण गराएको सभापति पाण्डेले बताउनु भयो । कांग्रेसले बेलबास–बेथरी सडक विस्तार र कालिकानगर बाइपास सडक विस्तारको कामलाई समेत समयमै पूरा गर्नका लागि ध्यानाकर्षण गराएको छ ।