काभ्रेमा बर्षेनी रेविजबाट पाँच जनाकाे मृत्यु

‘रेविजको तथ्य बुझौ, त्रसित नहोऔं’


मोतीराम तिमल्सिना, काभ्रे ।

बौलाहा कुकुरको टोकाईबाट काभ्रेपलाञ्चोक जिल्लामा एक वर्ष भित्र पाँच जना नागरिकले ज्यान गुमाएका छन् । भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रका प्रमुख डा. मोगलप्रसाद शाहका अनुसार कुकुरको टोकाईबाट दुई जना बालक, दुई युवासहित ८० बर्षिय जेष्ठ नागरिकको निधन भएको छ ।

१५ औ विश्व रेविज दिवसको अवसर पारी भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले आयोजना गरेको रेविज सप्ताहको पहिलो दिन धुलिखेलमा जनचेतनामुलक -याली आयोजना गरेको थियो । बधशाला, अब्यवस्थित फोहोरमैला र कुुकुरको संख्या बढेकाले रेविज रोगको संक्रमण र जोखिम बढ्ने भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

‘कुकुरको टोकाईबाट बच्न, कुकुरको बन्ध्याकरण गर्न, रेविज विरुद्धको खोप लगाउन अनुरोध गर्दछौं’– डा. मोगलप्रसाद शाहले भन्नुभयो–‘कुकुरले टोकिहालेमा तत्कालै खोप लगाउँ र मृत्यु हुनबाट जोगिउँ ।’ कुकुरले टोके लगत्तै रेविज हुने सम्भावनालाई न्युनिकरण गर्न तत्काल निशुल्क खोप लगाउन पशु स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । धुलिखेल, बनेपा र पनौतीमा रेविज विरुद्धको निशुल्क खोप उपलब्ध छ ।

कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले स्थानीय सरकारले धुलिखेल लगायतका क्षेत्रमा रेविज नियन्त्रणका लागि अभियान शुरु गरेको बताउनु भयो । बौलाहा कुकुरलाई नियन्त्रणमा लिई उपचार गर्न, कुकुरहरुको बन्ध्याकरण गर्न र रेविज खोप लगाउने अभियान शुरु गरिएको उपप्रमुख शर्माले बताउनु भयो ।

धुलिखेलमा एक वर्षमा रेविजका कारण दुई जनाले ज्यान गुमाएका थिए । नागरिकहरुलाई कुकुरले टोकेको अवस्थामा रेविज विरुद्धको खोप लगाउन उपप्रमुख शर्माले अनुरोध गर्नु भएको थियो । सोहि कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख प्रशाुकिय अधिकृत तारानाथ लुईटेल, नार्कका अध्यक्ष आनन्द दाहाल, विभिन्न शाखाका कर्मचारीहरु एवं जनप्रतिधहरुको सहभागिता रहेको थियो । रेविज रोग लागेपछि उपचार हुँदैन तर समयमै खोप लगाएमा सजिलै बच्न सकिन्छ ।