५० लाख धरौटीमा शर्मा रिहा



काठमाडौं, (नेस) ।

कर फछ्र्यौट आयोगले कर मिनाहा गर्दा अनियमितता गरेको अभियोगमा मुद्दा खेपिरहेका निलम्बित सह–सचिव चूडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन् ।

आयोगमा सदस्यका रूपमा रहँदा व्यवसायीलाई गैरकानुनी रूपमा लाभ पुग्नेगरी कर छुट दिएको अभियोग लागेका शर्मालाई अदालतले ५० लाख धरौटी मागेपछि शर्माले ५० लाख धरौटी बुझाउनुभएको थियो ।

विशेष अदालतका अनुसार शर्मा सोमबार अदालतमा हाजिर हुनुभएको थियो । विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उहाँलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

कर फछ्र्यौट आयोगले व्यवसायीहरूलाई मनलागी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख घाटा हुने गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असारमा शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अध्यक्ष महत र सदस्य ढकाल आइतबार अदालत उपस्थित भएर ५० लाख नै धरौटी बुझाएर रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्