विश्व पर्यटन दिवसमा सेनाले ग-यो पदयात्रा र वृक्षारोपण


मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली सेनाको कालिजंग धुलिखेलले विश्व पर्यटन दिवसको अवसर पारी पर्यटकिय तथा ऐतिहासिक पदमार्ग पहिचान, प्रर्वद्धन र संरक्षण अभियानलाई तिब्रता दिएको छ ।

पदमार्ग सहित सेनाको कालिजंग गणले बृक्षारोपणलाई निरन्तरता दिएको छ । सोमबार धुलिखेल–रविओपी–टनचोक–काशिभन्ज्याङ्ग सहितको ११ किलोमिटर यात्रा पछि काशिभन्ज्याङ्गमा बृक्षारोपण गरिएको छ ।‘यो नियमति कार्य हो । पदमार्गको पहिचान, प्रर्वद्धन र संरक्षणलाई सेनाले प्राथमिकतामा राखेको छ ।

नाला ऐतिहासिक क्षेत्र हो । पर्यटयिक र ऐतिहासिक मार्ग पहिचानका लागि पदयात्रा गरिएको हो’–कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले भन्नुभयो–‘पदयात्रासँगै बृक्षारोपण गरिएको छ । धुलिखेलबाट काशिभन्ज्याङ्ग हुँदै नगरकोटसम्मको पदयात्राका लागि हामी प्रयासरत छौं ।’

यस अघि नेपाली सेनाले धुलिखेल देखि देविस्थान, शारदा देविस्थान हुँदै पनौतीसम्मको पदयात्रा गरेको थियो । पदमार्गको पहिचान र पदयात्राको निरन्तरताका लागि नेपाली सेनाले स्थानीय सरकार र संघ संस्थासँगको समन्वय गरिरहेको कर्णेल मिलन थापाले बताउनु भयो ।पदयात्रामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, शशस्त्र एसपी महेश केसी, पर्यटन ब्यवसायी प्रेमकण्ठ माकजु, ज्योत्सना सैजु लगायतको सहभागिता रहेको थियो ।

काशिभन्ज्याङ्ग संरक्षण समिति, बनेपा नगरपालिका वडा नम्वर ३ ले पदयात्रामा सहभागिहरुलाई स्वागत गरेको थियो । वडा कार्यालय र संरक्षण समितिको जिम्मेवारी रहने गरी नेपाली सेनाले उपलब्ध गराएका हर्राे, बर्राे, कल्की, अम्बा, कागति, स्टेबरी लगायतका ४ सय ५० विरुवा बृक्षारोपण गरिएको थियो । विरुवाहरुको नियमित रेखदेख गर्न संरक्षण समितिले जिम्मेवारी लिएको अध्यक्ष उद्धव बजगाईले बताउनु भयो । काशिभन्ज्याङ्ग पर्यटकहरुका लागि आर्कषक क्षेत्र भएकाले यसको संरक्षण र ब्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय भईरहेको अध्यक्ष बजगाईले बताउनु भयो ।

बृक्षारोपणसँगै मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । नेपाली सेनाले यहि वर्ष सिन्धुपाल्चोकको मेलम्ची, चौतारा लगायतका क्षेत्रमा बृक्षारोपण गरेको छ भने काभ्रेको पनौती, भकुण्डे, धुलिखेल तथा बनेपा क्षेत्रमा बृक्षारोपण गरेको बताएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पर्यटकहरुको सहजताका लागि पदमार्गको प्रचारप्रसार र संरक्षणमा स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।

स्वास्थ्य र आयआर्जनका लागि पदयात्रालाई बढावा दिनु आवश्यक रहेको प्रजिख पोखरेलले बताउनु भयो । वडा अध्यक्ष कृष्णप्रसाद दाहालले स्थानीय सरकारले पर्यटकिय क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि प्राथमिकतामा राखेको बताउनु भयो । कार्यक्रममा मेलमिलापकर्ता समाजका जिल्ला अध्यक्ष बलराम बजगाई, वडा सदस्य रामकृष्ण बजगाई, समाजसेवी लोकनाथ बजगाई, उद्धवप्रसाद बजगाई, गोकुल बजगाई, उदयबहादुर केसी लगायतको सहभागिता रहेको थियो । कालिजंग गण धुलिखेलका गणपति मिलन थापाले पदमार्गको पहिचान र संरक्षणमा नेपाली सेनाले प्राथमिकता दिएको बताउनु भयो ।