एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी, आईएलओ घोटाला छानबिन गर्ने उद्घोष


नेपाल समाचारपत्र, काठमाडौं ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको छ । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

एनआरएनएका पूर्वउपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आईएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमितताको छानबिन गर्न माग गर्नुभएको छ ।

आचार्यले आफू निर्वाचित भएमा संस्थाभित्र गरिएका अनियमिततालाई बाहिर ल्याउने घोषणा गर्नुभएको छ । उहाँले संघभित्र सानो समूहले चरम दुरुपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरेको बताउनुभयो । ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु, पैतृक सम्पत्तिको अधिकार, राहदानीसहित तेस्रो पुस्तापछि पनि कायम रहनेगरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिनेछु’ –आचार्यले भन्नुभयो ।

आचार्यले आफ्नो दुईवर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तीमा एक सय पु¥याउने घोषणा गर्नुभएको छ ।

हाल एनसीसीको संख्या ८४ रहे पनि कतिपय एनसीसीहरू निष्क्रिय रहेका छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसलाई पनि जोड्ने आचार्यको योजना रहेको छ । उहाँले थाइल्यान्ड, म्यानमारलगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पीएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषणा गर्नुभयो । पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहनुभएको छ । उहाँ लन्डनका स्थापित व्यवसायी तथा समाजसेवी हुनुहुन्छ ।

करिब दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्घोष गर्दै मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गर्नुभएको छ ।

आचार्यले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागतरूपमा ध्यान दिने बताउनुभयो ।

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवद्र्धनका लागि अभियान चलाउने उहाँको योजना छ । प्रवासी नेपालीको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने आचार्यले घोषणा गर्नुभयो ।

नेपालमा गैरआवासीय नेपालीको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने आचार्यले बताउनुभयो । ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुनेछ’, उहाँले भन्नुभयो – ‘नेपालबाट अवैधरूपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो ।’

आचार्यको उम्मेदवारीलाई संघका ६५ मध्ये झण्डै दुइतिहाई राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले समर्थन गरेका छन् । आचार्यले अगाडि सारेका एजेन्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ ।

सोही कार्यक्रममा एनसीसी अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनएका संस्थापक महासचिव तथा पूर्व राजदूत भीम उदासले आचार्यलाई शुभकामना दिँदै विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउन तथा दोहोरो कर हटाउने सम्झौताका लागि पहल गर्न सुझाव दिनुभएको छ ।

घोषणासभामा एनआरएनए उपाध्यक्ष मन केसी, आईसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एसी शेर्पा, हरिबोल भण्डारी, सचिव आरके शर्मा, एनसीसी अमेरिकाका सल्लाहकार वेद खरेल, पूर्वकोषाध्यक्ष हिक्मत थापालगायतले शुभकामना दिनुभएको थियो ।

त्यस्तै, गैरआवासीय नेपाली अभियन्ताहरू जानकी गुरुङ, आरके शर्मा, प्रवीण गुरुङ, राज रेग्मी, खगेन्द्र न्यौपाने, नारायण आचार्य, मनोज गोर्खाली, भोमा लिम्बु, हिमाल गुरुङलगायतले कुल आचार्यको टिमबाट विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।