पर्यटक भित्र्याउने तयारीमा मनाङ, प्रजिअको नेतृत्वमा पदमार्गको अनुगमन


नेपाल समाचारपत्र, मनाङ । 

कारोना संक्रमणका कारण पूर्णरूपमा ठप्प पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ ।

बाढीपहिरोले पदमार्गमा क्षति पुर्‍याएको अवस्थाबारे अध्ययन र मर्मत तथा सम्भारका लागि प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अनुगमन एवं अवलोकन गरेको हो । कोभिड संक्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई मध्यनजर गरी पदमार्ग खुलाउन अनुमगन गरिएको उहाँले बताउनुभयो ।

प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पत्रकार महासंघ मनाङलगायतको टोलीले पदमार्गको अनुगमन गरेको छ । पदमार्गअन्तरगत केही स्थानमा बाढीपहिराले क्षति पु¥याएको पाइएको प्रजिअ लामिछानेले बताउनुभयो ।
पर्यटक भित्रिने अनुकूल मौसम भएकाले आफूहरू पर्यटक भित्र्याउन तयार रहेको बताउँदै लामिछानेले भन्नुभयो– ‘जिल्लामा पर्यटक भित्रिदै गर्दा सहज बनाउने कार्यमा जोड दिनु हाम्रो दायित्व हो ।’

हाल ६३ जना विदेशी पर्यटक मनाङमा नै रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङ प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । हिजोआज पनि उपल्लो मनाङमा ४५ जना पर्यटक रहेको उहाँको भनाइ थियो । कोरोनाले शिथिल रहेको पर्यटनलाई बढावा दिन तथा असार १ को बाढीपछिको सडकको अवस्थाबारे जानकारी लिन आफूहरू तिलिचो पुगेको गौतमले बताउनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिका–९ वडाध्यक्ष छिनी दोर्जे गुरुङले पहिराले क्षति पुर्‍याएको तिलिचो ताल जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको बताउनुभयो । उहाँले नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहोरमैला व्यवस्थापन र खुला दिसामुक्त बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालयले निर्माण गरिएको जानकारी दिनुभयो ।

कोभिड–१९ को संक्रमणसँगै बाढीपहिराले पुर्‍याएको क्षतिका कारण जिल्लामा पर्यटक भित्र्याउन सहज बनाउनका लागि उक्त टोलीले पर्यटन व्यवसायको पनि अनुगमन गरेको थियो । जिल्लामा थलिएको पर्यटन व्यवसाय सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी लामिछानेको टोली सक्रियता देखाएकोप्रति अन्नपूर्ण बेसक्याम्पका व्यवसायी डम्बर गुरुङ, कर्मा ढेन्डु गुरुङलगायतका पर्यटन व्यवसायी हर्षित भएका छन् । पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने र केही पर्यटक आउने क्रम शुरू भइसकेको पर्यटन व्यवसायी डम्बर गुरुङ बताउनुहुन्छ ।

पदमार्ग अन्तर्गत तलेखु–भ्राताङ भिरमा मानिस हिँड्न मिल्ने बाटो निर्माण भइसकेको छ भने सवारी आवागमनका लागि भीर फोरेर सडक निर्माणको काम भइरहेको प्रजिअ लामिछानेले बताउनुभयो । तल्लो मनाङको विभिन्न भागमा सडक निर्माणको काम भइरहेको छ । खोत्रोसम्म सवारी चलेको छ भने चामे गाउँपालिका र माथिल्लो मनाङमा सीमित रहेर सवारी चलिसकेको छ । माथिल्लो मनाङबाट खाङ्सारसम्म भने सवारी चलिरहेको छ । बेंसीशहर–चामे सडक खण्ड नेपालीहरूको ठूलो पर्व बडादशैंसम्म चालु गर्ने तयारीमा छ ।