पाँच महिनापछि खुल्यो मुक्तिनाथ मन्दिर



प्रताप बानियाँ, म्याग्दी ।

कोरोना भाइरस संक्रमणको कारण पाँच महिनादेखि बन्द मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि खुलेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार मन्दिर खुला गरिएको हो ।

हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रूपमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारण तथा भक्तजनहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथ मन्दिर विकास समितिका अध्यक्ष समेत रहनुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पालना गर्ने गरी बाहिरी जिल्लाबाट आउने भक्तजन र तीर्थयात्रीलाई लक्षित गरेर मन्दिरमा दर्शन गर्न तथा पूजाआजाका लागि खुलाइएको बताउनुभयो । स्वदेशीका लागि पीसीआर वा एन्टिजेन परीक्षण गरेको नेगेटिभ रिपोर्ट तथा कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाएको खोपकार्ड र विदेशीलाई पीसीआर परीक्षणको सात दिनभित्रको रिपोर्टका आधारमा मुक्तिनाथ प्रवेशको अनुमति दिइएको उहाँले जानकारी दिनुभयो ।

सोह्रश्राद्धको अवसरमा कागबेनीमा पुगेर श्राद्ध र पिण्डदान गरी मुक्तिनाथ मन्दिरको दर्शन गर्न हिन्दूजन पुग्ने गर्दछन् । कोरोना भाइरसको संक्रमण फैलिएपछि मुस्ताङमा गएको वैशाख तेस्रो सातादेखि जारी गरिएको निषेधाज्ञा गत भदौको २३ गतेबाट हटाइएको थियो । मुस्ताङमा १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएको अवस्थामा संक्रमणदर समेत न्यून रहेकाले जनजीवनलाई सामान्य बनाउन निषेधाज्ञा हटाइएको थियो ।

मुस्ताङमा जारी निषेधाज्ञा हटाएसँगै प्रसिद्ध मुक्तिनाथ मन्दिर खुलाउनका लागि प्रशासनलाई दबाब परेको थियो । निषेधाज्ञा हटाएर मुक्तिनाथ मन्दिर खुलेसँगै कोरोना भाइरसका कारण थला परेको मुस्ताङको पर्यटन व्यवसायले अब गति लिने अपेक्षा गरिएको पर्यटन व्यवसायीहरु बताउँछन् । मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थलहरु खुलेसँगै म्याग्दीको बेनी भएर मुस्ताङ जाने स्वदेशी पर्यटकहरुको चहलपहल समेत बढेको छ ।

समुन्द्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिरमा पुगेर १ सय ८ धारा नुहाएपछि मन्दिरको दर्शन तथा पूजाआजा गरेमा जीवनमा गरेका पापहरु नष्ट हुने धार्मिक जनविश्वास रहीआएको छ ।

कोरोना परीक्षणको नेगेटिभ रिपोर्टसहित पूर्ण खोप लगाएको आधारमा मुस्ताङ प्रवेशका लागि खुला गरिएपछि मुस्ताङमा स्वदेशी पर्यटकहरुको चहलपहल बढेको मुस्ताङ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो । उहाँले पछिल्लोपटक कागबेनी र मुक्तिनाथ क्षेत्रमा स्वदेशी पर्यटक आउन थालेको बताउँदै उपल्लो मुस्ताङको भ्रमणमा भने विदेशी पर्यटक पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्