नेकमा शोध तालिम प्रारम्भ


भक्तपुर।

नेपाल इन्जिनियरिङ कलेज (नेक)मा आज देखि चार दिने शोध तालिम कार्यक्रम कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले उद्घाटन गरी शुरु गर्नुभएको छ।

विश्वविद्यालय अनुदान आयोगको वित्तिय सहयोगमा सञ्चालितउक्त तालिम कार्यक्रममा नेपाल‚ भारत‚ चीन‚ साउदी अरेबिया र नाइजेरिया गरी पाँच देशका शोधकार्यमा संलग्न ७७ जना विद्यार्थी तथा शोधकर्ताहरूले भाग लिइराखेका छन्। कोभिड(१९ महामारीको जोखिम कायमै रहेकोले सामाजिक दूरी कायम गर्न केही प्रशिक्षार्थी भौतिकरूपमा उपस्थित हुने छन् भने केहीले अनलाइनबाट तालिम प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।स्रोतव्यक्तिको रुपमा नेक‚ पोखरा विश्वविद्यालय‚ त्रिभुवन विश्वविद्यालय‚ काठमाडौं विश्वविद्यालय‚सिक्किम विश्वविद्यालय‚सिक्किम मनिपाल विश्वविद्यालय‚र युनाइटेड अरब इमिरेट्स विश्वविद्यालय गरी सातवटा संस्थाहरूबाट विज्ञहरूले तालिम दिने छन् ।

शोधविषय छनौट‚ शोधपत्र ढाँचा‚ लेखन तथा प्रकाशन‚ शोध खर्च व्यवस्थापन‚ बौद्धिक सम्पत्ति सुरक्षा जस्ता अत्यन्त उपयोगी विषयहरू समेटिएको तथातालिम कार्यक्रमको अन्तमा तालिम लिएकाहरूले शोध प्रस्तावको मस्यौदा समेत तयार गर्नुपर्ने भएकोले तालिम प्रभावकारी हुने विश्वास गरिएको छ। विभिन्न देशका विभिन्न संस्थाहरू कार्यक्रममा समावेश भएकोबाट पछि ती संस्थाहरू बीच आपसी समझदारीको आधारमा संयुक्त शोध कार्यक्रम सञ्चालनको सम्भावनामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजन नेकका शिक्षकद्वय कृष्ण विक्रम शाह र त्रैलोक्य राज ओझाले गर्नुभएको छ।