कांग्रेस महाधिवेशन: रूपन्देहीका ९ पालिकामा देउवा, ४ मा पौडेल पक्षका सभापति बिजयी 


यमलाल भुसाल, बुटवल ।

 नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीका ६ वटा स्थानीय तहमा सर्वसम्म र ९ वटामा मतदानवाट नेतृत्व चयन भएको छ । एउटा पालिकाकाम विवादका कारण आज मतदान हने नेपाली काँग्रेस जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समरीमाई गाउपालिकामा आज मतदान हुने भएको छ । जिल्लामा ९ वटामा देउवापक्ष ४ वटामा पौडेल पक्ष र २ जना कुनै पक्षमा क्रियाशील नभएका सभापतिमा बिजयी बनेका छन्।

रुपन्देहीका नगरमा बिजयी नगर सभापतिहरु

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत रुपन्देहीमा पनि ११ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड र लेखा समितिका सभापति भरत कुमार शाहको गृह जिल्लामा रुपन्देहीमा ५ वटा स्थानीय तहमा निर्विरोध भएका थिए ।खाँण र शाह दुबै कांग्रेस सभापति शेर बहादुर देउवा पक्षका हुन्। शनिबारको निर्वाचनमा दुबै प्रभावशाली नेताको गृहजिल्लामा देउवा पक्षका सभापतिहरुको वर्चस्व रहेको छ । पार्टिका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट ५ वटा पालिका सभापतिमा बिजयी बनेका छन् । यस्तै २ जना कुनै पक्षमा क्रियाशील नभएका सभापतिमा बिजयी बनेका छन्।

देउवा पक्षका सभापति

तिलोत्तमा नगरपालिकामा देउवा पक्षका हरिलाल पाण्डे झिनो मतले विजयी भएका छन् । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा रामचन्द्र पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्दै कडा टक्कर दिए । सिद्धार्थनगरमा देउवा पक्षकै कोसिस खड्का विजयी भएका छन् । उनले रामचन्द्र पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गरेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित भएका छन् । उनीसहित उनको सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो । उनी देउवा समूहमा रहेपनि भरत शाहसँग नजिक मानिन्छन् । सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् । उनले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाए । खनाल रुपन्देही ५ का संघीय सांसद भरत शाह निकट हुन् भने पोखरेल बालकृष्ण खाँण निकट हुन् ।यस्तै देउवा पक्षबाट गैडहवा गाउँपालिका सभापतिमा सत्यनारायण पथिक, मायादेवी गाउँपालिकामा पदम भण्डारी, रोहिणी गाउँपालिामा पारसनाथ योगी, सियारी गाउँपालिकाका गोपाल पाण्डे र शुद्धोधन गाउँपालिकामा दामोदर पौड्याल रहेका छन्।

 स्थानीय तहको नेतृत्वमा पौडेल पक्ष विजयी

बुटवल उपमहानगर सभापतिमा पौडेल पक्षका खेलराज पाण्डेय निर्वाचित भएका छन् । पदाधिकारीमा एकजना सहसचिवबाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् ।वर्तमान नगर सभापति रहेका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् ।देवदह नगरपालिका सभापतिमा रामचन्द्र पौडेल पक्षका गुणाखर भुर्तेल १०३ मतसहित बिजयी बनेका छन् ।नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक देउवा पक्षीय भएपनि उनको गृहनगरमा पौडेल पक्षका उम्मेदवार सभापतिमा विजय बनेका हुन् ।२०५ मत खसेकोमा पदाधिकारी भने दुवै पक्षबाट समावेश भएका छन्। उनले झबिन्द्र पाण्डेलाई ३ मतले हराएका हुन। पाण्डेको १ सय मत थियो ।यस्तै पौडेल समुहबाट ३ वटा गाउँपालिकामा पौडेल पक्षका सभापति बिजयी बनेका छन्। कोटहीमाई गाउँपालिाकामा अवधराम यादव, मर्चवारी गाउँपालिकामा जनार्दन यादव बिजयी बनेका छन्।

दुई पालिकामा साझा उम्मेद्ववार

नेपाली कांगेसले २ पालिकामा कुनैपनि समुहमा क्रियाशील नभएका ब्यक्तिलाई पालिका सभापति बनाएको छ । कन्चन गाउँपालिका सभापतिमा देवीराम रेग्मी र ओमसतिया गाउँपालिकामा भगवानप्रसाद चौधरी बिजयी बनेका छन्।नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तह मध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका ,मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।