मानिसको रुप बिगार्ने मुसाको उपचार



के तपाईं हात, गोडा, अनुहार, यौनाङ्गमा मुसा आएर हैरान हुनुभएको छ ? मानिसको शरीरमा कुनै एक प्रकारको भाइरस संक्रमणको कारण मुसा आउने हुन्छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ पनि । मुसा आएको व्यक्तिले प्रयोग गरेका रुमाल, साबुन, काइँयो, जुत्ताजस्ता चीज अर्को व्यक्तिले प्रयोग गर्नुहुँदैन ।

मानिसको शरीरमा आउने मुसा के हो र यसको उपचार कसरी हुनसक्छ भन्ने विषयमा छाला रोग विशेषज्ञ तथा काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल (धुलिखेल अस्पताल) छाला रोग विभागका प्रमुख प्रा.डा. धर्मेन्द्र कर्णसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :

मानिसको हात, गोडा, अनुहारमा देखिने साना–ठूला डल्लाहरु के हुन् ?

नेपालीमा यसलाई मुसा भनिन्छ भने अंग्रेजीमा वार्डस । यो एक प्रकारको भाइरल संक्रमण हो । यो संक्रमणका कारण हुने गर्दछ । यो ह्युम्यान प्यापिलोमा भाइरस(जीवाणु) का कारण हुन्छ । यो मानव जातिमा पाइने एक प्रकारकोे भाइरस हो । प्यापिलोमाले छालाको सतहलाई माथि उठाइदिन्छ । यो भाइरस सयौँ प्रकारको हुन्छ । यो कुन ठाउँमा आउँछ, त्यसको आधारमा प्रकार निर्धारण हुन्छ ।

यो विशेष गरी शरीरको कुन–कुन भागमा आउने हुन्छ र एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ ?

कसैको अनुहारमा आउँछ भने कसैको हात–खुट्टामा आउँछ । यो गुप्ताङ्गमा पनि आउन सक्छ । अनुहारमा आउने मुसा स–सानो कोठीजस्तो देखिन्छ । त्यो सामान्यतया सर्ने रोग हो । यो छाला–छालाको सम्पर्क हुँदा या एउटै रुमाल, ब्लेड प्रयोग गर्दा, ब्युटिपार्लरमा थ्रेडिङ, फेसियल गर्दा, कपाल काट्ने ठाउँमा पनि मुसा भएको व्यक्तिको कपाल–दाह्री काटेर त्यही कैंची, ब्लेड प्रयोग गर्दा पनि सर्छ ।

हातमा मुसा भएको व्यक्तिको भिजेको हात अर्को व्यक्तिसँग मिलाउँदा पनि सर्छ । यति मात्र नभई मानिसको शरीरको पैतालामा पनि मुसा देखिएको छ । मुसा भएको व्यक्तिको जुत्ता, चप्पल, मोजा अर्को व्यक्तिले लगाउँदा पनि सर्छ । कुनै परिवारमा एकजनाको खुट्टामा मुसा छ भने अरु व्यक्तिमा पनि सर्छ । खास गरी बाथरुममा एउटै मात्र चप्पल राखिन्छ, त्यसबाट पनि मुसा सर्छ ।

अनुहार–घाँटीमा देखिने सबै छालाका साना डल्ला मुसा नै हुन् त ?

घाँटीमा आउने दाना मुसाजस्तै देखिन्छ तर त्यो मुसा हैन, स्कीन ट्याग हो । मानिसको तौलमा घटबढ भयो भने त्यस्तो देखिन्छ । यो विशेष गरी २५ वर्षदेखि ५० वर्षको बीचमा देखिन्छ, तर सरुवा रोग होइन । यो घाँटी, काखी, काछमा आउँछ । यो कीटाणुले गर्दा आएको नभई तौलको कारणले गर्दा आउने हुन्छ ।

के मुसा सबै व्यक्तिलाई सर्छ ? 

यो सबैमा सर्दैन । एउटै परिवारको एउटा व्यक्तिमा छ भने अरुमा सर्छ नै भन्ने हुन्न । यसको प्रमुख कारण रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता नै हो । कसै–कसैलाई मुसा आउँछ र उपचार नगरे पनि आफैं हराउँछ । २० देखि ३० प्रतिशत व्यक्तिहरुको मुसा आउँछ र आफैं पनि हराउँछ ।

त्यसैले कतिपयले मुसा आउँछ, आफैं हराउँछ भन्ने गरेको सुनिन्छ । तर ६० देखि ८० प्रतिशत मानिसमा फैलँदै जान्छ र कुरुपसमेत बनाउन सक्छ । जस्तै– हातमा भएको मुसा नाक, मुख, ओठमा समेत आउने गर्दछ ।

यो हात, खुट्टा, अनुहारमा छ भने नराम्रो केही गर्दैन तर गुप्ताङ्गमा छ भने त्यसको उपचार अति आवश्यक हुन्छ । यसले क्यान्सरसम्म हुनसक्छ । यौनसम्पर्कबाट सर्ने मुसाका कारण क्यान्सर हुनसक्छ । त्यसैले यो छिटोभन्दा छिटो चिकित्सकलाई देखाई उपचार गर्नुपर्छ ।

शरीरमा आउने मुसाको समस्याबाट बच्न के गर्न सकिन्छ ?

कतिपय मुसाहरु गुप्ताङ्गमा देखियो भने यौनरोगका रुपमा लिइन्छ । यौनसम्पर्क गर्दा सुरक्षित तरिका अपनाइएन भने एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । विशेष गरी यो हात–खुट्टामा देखिने भएकाले हात नमिलाउने, सकेसम्म अरुलाई नछुने र अरुको मोजा, चप्पल, जुत्ता नलगाउने गर्दा पनि यो रोग सर्नबाट धेरै हदसम्म बच्न सकिन्छ ।

नेपाली सत्कारको सही प्रयोग नमस्कार गरेको खण्डमा धेरै हदसम्म मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । कोरोनाले ल्याएको भौतिक दूरी कायम गर्ने बानी र नमस्कार गर्ने हाम्रो परम्परालाई निरन्तरता दिएमा यो सरुवा रोगबाट बच्न सकिन्छ ।

एउटै रुमाल प्रयोग नगर्ने, कपाल–दाह्री काट्दा र ब्युटिपार्लरको सेवा लिँदा सुरक्षा विधि अपनाउने गर्नुपर्छ । कपाल काट्ने ठाउँमा आफ्नै कैँची, ब्लेड लिएर जानु बुद्धिमानी हुन्छ । बाथरुममा एउटै साबुन, चप्पल प्रयोग नगर्नु बेस हुन्छ ।

अहिले चलेको फेसन सौना लिने, पौडी खेल्ने गतिविधिबाट पनि मुसा सर्छ । ब्युटिपार्लरमा एउटालाई सेवा दिइसकेपछि राम्रोसँग हात धुने, थ्रेडिङको धागो एउटै प्रयोग नगर्ने, एउटै जुत्ता–चप्पल नलगाउनेजस्ता सावधानी अपनाउनुपर्छ ।

मुसा आइहालेमा यसको उपचार कसरी गर्न सकिन्छ त ? 

यसको उपचार धेरै किसिमको हुन्छ । हामीले १५ वर्षअगाडिदेखि नै धुलिखेल अस्पतालमा यसको उपचार शुरु गरेका हौँ । यसको उपचार औषधिले पनि हुन्छ, लेजर थेरापीबाट पनि हुन्छ । त्यस्तै क्रायो थेरापी (फ्रिजिङ उपचार चिसोले सेक्ने ) पनि गरिन्छ ।

शुरुमा बच्चाहरुलाई उपचार गर्दा डराउने हुँदा क्रिम पनि प्रयोग गर्छाैं । विश्वको सबैभन्दा अत्याधुनिक प्रविधि भनेको क्रायो थेरापी हो । यसमा लिक्युट नाइट्रोजन भन्ने केमिकल प्रयोग गरिन्छ ।

यसको तापक्रम माइनस १९६ डिग्री हुन्छ । यो उपचार जहाँ–जहाँ मुसा छ त्यहाँ–त्यहाँ छोइदिने हो । चिसोले गर्दा जीवाणु मर्छ र मुसाको डल्लो उठेको छाला बिस्तारै सुकेर जान्छ । यो ३ हप्ताको बीचमा हप्तामा दुईपटक गर्‍यो भने जस्तोसुकै मुसा पनि सुकेर जान्छ ।

त्यसले पनि भएन भने रगत परीक्षण गरेर खाने औषधि पनि दिन्छौं । कुनै–कुनै मुसा काटेर फाल्नु नै राम्रो हुन्छ । हात, अनुहारमा छ भने लेजर प्रविधिबाट निकाल्नु राम्रो हुन्छ । यो एकपटकमै जान्छ । सयममै उपचार गरे मुसाको समस्या हट्छ र जटिल अवस्था आउनबाट राकथाम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्