ओम अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्मा भन्नुहुन्छ, ‘कोभिडको महामारीसँगै कोभिड लागेका र नलागेका मानिसहरुमा पनि एन्जाइटी (चिन्ता) निद्रा कम लाग्ने, डिप्रेसनका साथै कडा खालको मानसिक समस्या साइकोसिस पनि देखिएको छ ।’ उहाँ भन्नुहुन्छ, ‘महामारी आएपछि उपचारका क्रममा के पाइयो भने जसलाई कुनै बेला डिप्रेसन, एन्जाइटी आदि मानसिक रोग भएर उपचारले निको भई औषधि नै बन्द गरिसकेकोलाई पनि रोग बल्झिएको पाइएको छ ।
कहिल्यै मानसिक समस्या नभएकालाई पनि डिप्रेसन, एन्जाइटी, अनिद्राजस्ता मानसिक समस्या देखिए । कोभिड भएर निको भएको केही महिनापछि पनि कोभिडकै कारण मानसिक समस्या देखिएको पाइयो । कोभिडको कारण उत्पन्न विभिन्न परिस्थितिले गर्दा निकै पछिसम्म पनि अरु मानसिक रोग हुने, बानी व्यहोरा परिवर्तन हुने गरेको पाइएको छ । कोरोना निको भए पनि यसले दिएको पीडा, आर्थिक, सामाजिक प्रभावलाई सम्बोधन नगरिएकोले मानसिक समस्या लामो समय रहन सक्ने देखिएको छ ।’
कोभिडको महामारीकै क्रममा देखिएका र पछिसम्म पनि देखिन सक्ने मुख्य मानसिक स्वास्थ्य समस्याहरुका सम्बन्धमा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्मासँग कुराकानी गरी तयार गरिएको यो लेख प्रस्तुत छ :
अनावश्यक हात धोइरहने
कोरोना महामारीले मानिसहरुलाई केही छोएमा हात धुन सिकायो, यो राम्रो बानी हो । तर कतिपयमा जतिखेर पनि सिकसिक लाग्ने, केही नछोए पनि बीच–बीचमा हात धोइरहने, कसैले नछोएको स्थानमा छुँदा पनि हात धोइहाल्ने जस्ता अनावश्यक बानी लागेको पाइयो ।
यसमध्ये कतिपय यो बानी अब्सेसिभ कम्प्लेसिभ डिसअर्डर (Obsessive compulsive disorder) रोगकै रुपमा पनि देखिन थालेको छ । पहिला पनि अलि–अलि यो समस्या भएकोमा बढेको देखियो भने यस्तो बानी कहिल्यै नभएकोमा पनि यो समस्या देखियो । विनाऔचित्य पनि हात धोएको धोयै गरेर रोगको नै रुप लिनु राम्रो होइन ।
हात धोइरहनुलाई मानिसले शुरुमा त ‘कति राम्रो बानी’ भन्छन् तर धुनै नपर्ने अवस्थामा पनि हात धोइरहन थाल्यो भने त्यो रोग हो । यो महामारी आइसकेपछि यस्तो रोग पनि बढी नै देखिन थालेको छ । कोभिड हटेर गइसकेपछि पनि यस्तो समस्या लामो समय रहिरहन सक्छ, कतिपयलाई उपचारकै आवश्यकता पनि पर्न सक्छ ।
अनिद्राको समस्या धेरै
कोभिड महामारीका बेला सबैभन्दा धेरै देखिएको लक्षण भनेको लामो समय निद्रा नलाग्ने हो । यस अवधिमा निद्राको समस्या धेरै देखियो । कोभिड नै भएको मानिसलाई त धेरै नै देखियो । जीवन अब के होला भन्ने चिन्ता भयो, एकान्त बासमा बस्नुपर्यो, उसलाई आफ्नो व्यवसाय बिग्रन लागेको र अरु महत्वपूर्ण कार्यहरु गर्न नसकेको चिन्ता पनि भयो होला ।
यसले गर्दा कोभिड–१९ भएका धेरै मानिस अनिद्राको समस्याबाट गुज्रिए । साथै रोग नलागेका धेरै मानिसहरु पनि कोभिड लाग्ने चिन्ता, परिवारको चिन्ता, व्यवसायको चिन्ता आदि कारणले तनावमा परी अनिद्राको समस्या भयो । त्यो पनि एक–दुई दिन फाट्टफुट्ट होइन कि ‘दुई हप्तादेखि आधा घण्टाभन्दा बढी निदाएकै छैन’ भनेर आउनेहरु पनि थुप्रै भए ।
एकदमै डर लागिरहने समस्या भएर आउनेहरु पनि थुप्रै पाइए । डरका कारण मुटुको ढुकढुकी बढिरहने, मुख सुक्ने समस्या भएकाहरु धेरै थिए । यस्ता प्यानिक डिसअर्डरहरु भएका धेरै बिरामी भेटिए ।
धेरैलाई देखियो डिप्रेसन
महामारीमा सबै वर्गलाई धेरै देखिएको समस्या हो डिप्रेसन अर्थात् उदासीपन । मानिस उदास, निरास हुने, अब केही हुँदैन भन्ने । महामारीले गर्दा बर्बादै भयो, अब सबै कुरा बिग्रिन्छ भनेर निरास हुने, अब सबै खत्तम हुन्छ भनेर सोच्ने, ओछ्यानमा मात्र बसिरहने, काम गर्न मन नलाग्ने, केही गर्न पनि जाँगर नहुने, झर्को लाग्ने, बोल्न खासै इच्छा नलाग्ने, परिवारसँग बोल्ने र अन्तरक्रिया गर्ने कार्यमा रुचि नगर्ने, जीवनप्रति आशावादीभन्दा पनि बढी निरासावादी बन्ने समस्या धेरै देखिए ।
यो मानसिक रोगमा आत्मविश्वासको तह कमजोर हुँदै जाने हुन्छ, काम गर्न जाँगर लाग्दैन, निरासा बढ्दै जान्छ । निरासा यति बढ्दै जान्छ कि मानिस आत्महत्याको स्थितिमा नै पुग्छ ।
यस्ता लक्षणहरु देखिन थालेपछि मानिसलाई उपचारको जरुरत पर्छ । यस्तै कारणले कोरोना महामारी आएपछि आत्महत्याको दर बढेको हो कि भन्ने लागेको छ । तनावलाई व्यवस्थापन गर्न नसक्नु र पहिले भइरहेको मानसिक समस्यालाई व्यवस्थापन गर्न नसकेका कारण कडा खालका मानसिक समस्या देखिएका छन् ।
कहिल्यै पनि नभएकालाई पनि गम्भीर मानसिक समस्या देखिएका छन् । यो समस्या लामो समय रहिरहन सक्छ । यस्ता समस्यालाई अलि–अलि लक्षण देखिँदैमा उपचार गरेर नियन्त्रणमा लिन आवश्यक छ ।
घरेलु हिंसा
कोरोना महामारीको अवधिमा घरेलु हिंसा पनि असाध्य बढेको पाइएको छ । यसलाई पनि मानसिक रोगकै रुपमा लिनुपर्छ । महामारी आइसकेपछि तनावका कारण घरेलु हिंसामा वृद्धि भएको हो । महामारीसँगै शुरु भएको लकडाउनमा मानिसहरु निकै तनावमा परे । सबैजसोले घरमा नै बस्नुपर्यो ।
पहिला कोही घरमा र कोही काममा हुन्थे भने त्यस बेला सबै घरमा नै बस्दा आपसी विवादहरु बढ्न थाले । त्यसमा पनि मदिराको प्रयोग हुन थालेपछि घरेलु हिंसा पनि बढ्यो । रोगकै रुपमा घरेलु हिंसा देखियो । यो समस्या नेपालमा मात्र होइन, विश्वव्यापीरुपमा नै वृद्धि भएको छ ।
यसलाई कोरोना महामारीका अवधिमा झाँगिएको एउटा रोग एवं समस्याका रुपमा हेरिएको छ । यसले अझै पछिसम्म असर गरी नै रहनेछ । तनावहरु कम गर्ने उपायहरु अपनाएर, उपचार गरेर यो समस्या न्यूनीकरण गर्न सकिन्छ ।
ग्याजेट र बालबालिकामा तनाव
महामारीको अवधिमा बच्चाहरुलाई एक प्रकारले थुनेर नै राख्नुपर्ने स्थिति भयो । बाध्यात्मक स्थितिमा पनि उनीहरुले सकी नसकी अनलाइन क्लास लिनुपर्यो । त्यसमा पनि एकथरी अनलाइनमा पढ्न सक्ने र अर्को थरी इन्टरनेटमा पहुँच नै नभएका कारण पढ्न नसक्ने भए ।
इन्टरनेट उपयोगमा सबै बालबालिकाको पहुँच नहुँदा ठूलो विभेदको सिर्जना भयो । पढ्ने अवसरबाट वञ्चित हुनुपर्दा उनीहरुमा तनाव थपियो । साथै अनलाइन क्लास लिने अवसर पाएका विद्यार्थी र शिक्षकमा समेत तनाव भएको पाइएको छ ।
हामीले बालबालिकालाई कम उमेरमै भर्चुअल वल्र्डमा लग्यौँ । यसले गर्दा बच्चाहरु शारीरिक क्रियाकलाप, अन्तरक्रिया गर्ने अवसर, साथीहरु र शिक्षकसँग घुलमिल हुने अवसर, प्रकृति र घरबाहिरको समाजसँग घुलमिल हुने, अतिरिक्त क्रियाकलापका अवसरहरुबाट वञ्चित भए ।
उनीहरुले जीवनको महत्वपूर्ण अवसरहरु गुमाउन पुगे । जसले गर्दा उनीहरुको व्यक्तित्व विकास, शारीरिक विकास, मानसिक विकासमा त अवरोध भयो नै । साथै उनीहरुमा पनि चिन्ता, निद्रा नलाग्ने, डिप्रेसन हुने, एकोहोरो हुने जस्ता अनेक मानसिक समस्या देखिएका छन् । महामारी सकिएपछि पनि केही समय यो समस्या रही नै रहनेछ । यी मध्ये कैयौँलाई उपचारको आवश्यकता पर्छ ।
अर्कोतिर अनलाइन कक्षा शुरु भएपछि बालबालिका ग्याजेटहरुको प्रयोगमा बिस्तारै अभ्यस्त हुन थाले । पहिलेदेखि नै विशेष गरी शहरी बालबालिका तथा किशोर–किशोरीहरुमा ग्याजेट प्रयोग गर्ने लत लाग्न थालिसकेको थियो र यो समस्याको रुपमा देखिइसकेको थियो भने अनलाइन कक्षाको कारण यो समस्या अझ बढ्न गयो ।
ग्याजेटको प्रयोग बढ्न जाँदा बाबुआमालाई उनीहरु पढिरहेका छन् भन्ने भयो, तर यसको सदुपयोग मात्र नभई दुरुपयोग नै हुन थाल्यो । कक्षा सकिएपछि पनि उनीहरु इलेक्ट्रोनिक डिभाइसमा लामो समय बसिरहने भए ।
यसले गर्दा उनीहरु अन्य सोसियल मिडियामा पनि जाने बानी पर्यो । ग्याजेटको दुरुपयोगले ‘इन्टरनेट एडिक्सन’ हुन थालेको पाइयो । पहिला पनि इन्टरनेट एडिक्सन भएर उपचार गर्न आउनेहरु थिए भने अनलाइन कक्षा शुरु हुन थालेपछि यसमा निश्चय नै वृद्धि भएको छ । इन्टरनेट एडिक्सनलाई मानसिक रोगको रुपमा लिइसकिएको छ । यो एडिक्सनको प्रभाव निकै ठूलो छ । महामारीपछि यसको गुणात्मक वृद्धि भएको छ ।
दुव्र्यसनको समस्या
महामारीको अवस्थामा भोगेको आर्थिक समस्याले पछिसम्म असर पार्ने नै छ । त्यस्तै कतिपयमा आफन्तहरु गुमाउनुपर्दाको पीडा रहेको छ । कतिपयमा मादक पदार्थ, लागू औषधको दुव्र्यसन पनि भएको छ ।
महामारी सकियो भन्दैमा यी दुव्र्यसनलगायतका मानसिक समस्या पनि हटिहाल्छन् भन्ने छैन । दुव्र्यसनमा परेको मानिसले ‘ल कोभिड सकियो अब म लागू पदार्थ खान्न, मदिरापान गर्दिन’ भनेर चटक्क छोड्न सक्तैन । यसको परिणाम लामो समयसम्म रहिरन सक्नेछ ।
महामारी कालमा अत्यधिक मदिरापान गरेको, कहिल्यै नखानेले पनि लागू पदार्थ खाएको जस्ता समस्या देखिएका छन् । यस्ता केसहरुलाई तथ्यांकमा तयार गरिसकिएको त छैन, तर अस्पतालमा आउने केसहरु हेर्दा निश्चय नै यस्ता केसहरुमा वृद्धिचाहिँ भएको पाइएको छ । यो लत तुरुन्त हटाउन सकिने समस्या होइन । यसको लागि केही समय उपचार गर्नुपर्ने, काउन्सिलिङ गर्नुपर्ने हुनसक्छ ।
मस्तिष्कमा असर
यी विविध समस्याका साथै कोभिडले प्रत्यक्षरुपमा मस्तिष्कमा पनि असर गर्न सक्छ । यसका भाइरस मस्तिष्कमा पुगेर कोषहरुमा असर गर्न सक्छन् । ब्रेनका न्युरो ट्रान्समिटरहरु जसले साइकोसिस, डिप्रेसन गराउँछ, त्यसमा पनि प्रभाव पार्छ कि भन्ने त्रास भएको छ ।
यो पनि अहिले बहसमा आइरहेको छ । अनुसन्धान हुँदै छ, निकै जटिल खालको अनुसन्धान भएकोले तुरुन्तै रिपोर्ट आउला भन्न त सकिन्न तर जे होस् यससम्बन्धमा छलफल, बहस, अनुसन्धानचाहिँ हुन थालेको छ ।
कोभिडको भाइरसले सीधै विभिन्न न्युरो ट्रान्समिटरहरुलाई प्रभाव पारेर अहिले मानसिक समस्या बढी आएको हो कि भन्ने बारेमा पनि बहस व्यापक भइरहेको छ । तर यसबारेमा यकिन अध्ययन रिपोर्ट आइसकेको छैन । यो मानसिक तनावले मात्र होइन, यसमा केही शारीरिक तत्वहरुको पनि भूमिका भएको हुनसक्छ भन्ने अनुमान गरिएको छ ।
केयर गिभरको मानसिक समस्या
आफूलाई कोभिड नभएको तर सम्पूर्ण परिवारलाई कोभिड भएर स्याहार गर्नुपरेकाहरुलाई पनि मानसिक समस्या देखिएको छ । परिवारका सदस्यको लागि अस्पताल दौडिने, अक्सिजनको व्यवस्था गर्ने, आईसीयु बेड खोज्ने, औषधि खोज्ने, उपचार र अरु व्यवस्थापनमा खटिनुपर्दा ज्यादै नै तनावको सामना गर्नुपरेको हुन्छ ।
आफू ठीक भए पनि परिवारका धेरै जना सदस्य बिरामी हुँदा उसलाई ठूलो मानसिक तनाव हुन्छ, जुन अरुले अनुभूति गर्न, कल्पना गर्न नै नसक्ने खालको हुनसक्छ । परिवारका सदस्य बिरामी हुँदा उमेर र स्वास्थ्य अवस्थाअनुसार रिस्क फ्याक्टर पनि फरक–फरक नै हुन्छन् । डायबिटिज भएका, बूढाबूढी, बालबालिकालाई जोखिम बढी नै हुन्छ ।
त्यसैले कोभिड भएकालाई मात्र होइन, यस महामारीमा कोभिड नभएकालाई पनि निकै ठूलो मानसिक असर परेको छ । आफू र आफ्नो परिवारमा कोभिड नभएकाहरुलाई पनि महामारीकै कारण मानसिक समस्या देखिएको छ ।
मानसिक उपचारमा जोड
कोभिड महामारीले मानिसको जीवन प्रक्रियामा नै असर गरेको छ । सामाजिक, आर्थिक जीवनमा असर पारेको छ । मानिसको व्यावसायिक जीवनमा परेको असरले अझै छोडेको छैन । मानिसहरुको दैनिक आर्थिक क्रियाकलापमा प्रभाव पारेको छ । रोगले लामो समय आइसोलेसनमा बस्नुपरेको छ । खर्च बढेको छ, काम गर्न सकेको छैन । यसले मानसिक तनाव सिर्जना गरिदिएको स्थिति छ ।
कतिपयले एन्जाइटी, डिप्रेसनलाई लुकाएका हुन्छन्, कतिपय लक्षण लुकेको अवस्थामा हुन्छन् । यी समस्या तुरुन्तै हट्ने भन्ने हुँदैन । यसले लामो समय असर गर्छ । मानसिक स्वास्थ्यलाई समस्या नै नठान्ने र उपचार हुन्छ भनेर विचार नै नगर्ने वर्ग पनि ठूलो छ । उपचार गर्नुपर्छ भन्ने थाहा नहुने, उपचार नै गर्न नचाही रोग नै लुकाउने, यसको उपचारको पहुँचमा नै नभएकाहरुमा त लामो समयसम्म यो समस्या रही नै रहनेछ । कतिपय लक्षण त लामो समयसम्म बाहिर नदेखिने नै हुनसक्छन् ।
केही बिरामीलाई हामीले उपचार गर्यौँ, केही ठाउँमा काउन्सिलर पठाएर काउन्सिलिङ पनि गर्यौँ । यसले केही फाइदा भए पनि धेरैको पहुँचमा मानसिक स्वास्थ्य सेवा पुग्न सकेको छैन । अर्कोतिर मानसिक उपचार गरे तापनि सामाजिक, आर्थिक क्षेत्रमा देखिएको समस्यालाई हामीले सम्बोधन गर्ने कुरा भएन, त्यसलाई कतैबाट पनि सम्बोधन गरिएको देखिँदैन, जुन अति जरुरी छ ।
यो आर्थिक, सामाजिक पाटोलाई सम्बोधन नगर्ने हो भने यस सन्दर्भमा देखिएको मानसिक समस्यालाई तुरुन्तै ठीक पार्न सकिने स्थिति देखिँदैन । यो राज्यस्तरबाट हुनुपर्ने कार्य हो, राज्यले नीति बनाएर गर्ने कार्य हो ।
मानसिक समस्या समाधान गर्नका लागि राज्यले यो पाटोलाई विशेष महत्व दिन जरुरी छ । सरकारले स्वास्थ्य सेवाप्रदायकका तल्लो तहदेखि नै मानसिक स्वास्थ्यको उपचारलाई स्थान दिनुपर्छ ।
मानसिक रोगसम्बन्धी संघसंस्थाहरुले कोभिड गइसकेपछि पनि मानसिक रोग निकै लामो समयसम्म रहिरन सक्ने अनुमान गरेका छन् । यो समस्याविरुद्ध लामो समय लडिरहनुपर्ने स्थिति आउने विश्लेषण गरेका छन् । त्यस कारणले पनि राज्यले मानसिक उपचारका लागि विशेष ध्यान पुर्याउन जरुरी छ ।
प्रतिक्रिया