नेपालको कटाक्ष, ‘समाजवादीका आँखा फूलका, एमालेका काँडाका’


नेपाल समाचारपत्र, हेटौंडा ।

नवगठित नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित हुनुभएको छ । निकै तामझामसाथ हेटौंडामा शनिबार भएको मकवानपुर जिल्लास्तरीय भेला तथा शपथ ग्रहण कार्यक्रममा नेपालले समाजवादीका आँखा फूलको र एमालेको आँखा काँडाको भएको बताउनुभएको छ ।

कार्यक्रममा नेपालले एमालेका नेताहरुले जस्तै गाली गरे उनीहरु र आफूहरुमा फरक नदेखिने भन्दै भन्नुभयो– ‘हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् । केपी ओली अहङ्कारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन् । उनीहरुको काम नै गाली गर्ने, त्यसमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौं । नत्र, उहाँहरु र हामीमा के फरक रु’ –उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेकपा एमालेमा हुकुमी शासन रहेको भन्दै एमालेमा पार्टी कमिटी प्रणालीभन्दा हुकुमी शासनमात्र रहेको बताउनुभयो । ‘एमालेमा विचारको छलफल र बहस भन्दा पनि व्यक्तिको हुकुमी शासन छ,’ उहाँले आरोप छ– ‘केपी ओलीले जनताको बहुदलीय जनवादको मालामात्र जपेका छन् ।’ ओलीले जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उहाँलाई बिदा गर्नुपर्छ भन्ने योजनामा आफूहरु लागेको नेपालको भनाइ थियो । आगामी चुनावको नतिजाले एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन आउने दाबी गर्नुभयो । उहाँले केपी ओलीकै कारण एमाले फुटेको दाबी छ ।

‘उहाँलाई लाग्यो केपी ओलीलाई चुनौती दिने कोही छैन । तर, हामीले चुनौती दियौं । केपी ओली अहङ्कारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन् । उनीहरुको काम नै गाली गर्ने, त्यसमा रमाउँछन्’, उहाँले थप्नुभयो– ‘उहाँ ९ओली० ले ठान्नुभयो कि निष्कासन गरेपछि हामी थर्थर काँपौंला, आँखाबाट आँसु झाराैँ ला, ओलीको चाकडी गरौंला । के हामी त्यही किसिमका मान्छे हौं रु होइनौं, हामी विद्रोही हौं । सही र गलत छुट्याउने योद्धा हौं ।’

उहाँले ओलीले पार्टीमा पार्टीविपरीत एकल निर्णय गरेका कारण पार्टी फुटेको आरोप लगाउनुभयो । र, भन्नुभयो– ‘अब समाजवादीले नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नेछ ।’ उहाँले देशभर संगठन निर्माण भइरहेको बताउँदै समाजवादी अभियानमा जोडिनेको संख्यामा कमी नभएको दाबी गर्नुभयो ।

उहाँले पार्टीले जनताको बहुदलीय जनवाद ९जबज० लाई मानेको बताउनुभयो । अध्यक्ष नेपालले नेकपा ९एकीकृत समाजवादी० पार्टीले जबजको मान्यता र विशेषतालाई आत्मसात् गरेको भन्दै एकीकृत समाजवादीका विरोधीहरुले समाजवादीले जबज नमानेको भन्दै गलत प्रचार गरेको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले एकीकृत समाजवादीले सबै विचार बोकेको भन्दै माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात् गरिएको स्पष्ट पार्नुुभयो । उहाँले देशभर एकीकृत समाजवादीको लहरसँगै समाजवादीका संगठन निर्माणका कामहरु भइरहेको बताउनुभयो ।

बागमती प्रदेशमा एमालेको अल्पमतको सरकार चलिरहेको समयमा उहाँले प्रदेशमा केपी ओलीको पार्टीलाई धूलो चटाउने चेतावनी दिनुभयो । प्रदेशमा केही दिनमा सरकार ढालिनेतर्फ उहाँको भनाइ लक्षित थियो ।

‘प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो’, ओलीप्रति लक्षित गर्दै राजनीतिक उथलपुथल स्मरण गर्दै नेपालले भन्नुभयो– ‘ओली मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । उहाँले कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो ।’

एकीकृत समाजवादी मकवानपुरस्तरीय भेलामा स्थायी कमिटी सदस्य विरोध खतिवडाले पार्टी कार्यकर्ताका नाम लिँदै आउँदो चुनावमा कति भोट ल्याउने जिम्मा लिनुहुन्छ भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले आगामी दिनहरुमा एकीकृत समाजवादी पार्टी देशकै पहिलो कम्युनिस्ट पार्टी हुने दाबी गर्नुभयो ।