एथलेटिक्स प्रशिक्षक प्रशिक्षण शुरू


हेटौंडा, (नेस) ।

बागमती प्रदेशले राष्ट्रियस्तरको एथलेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रशिक्षण शुरू गरेको हो ।

प्रशिक्षणका सबै कार्यक्रमहरू दशरथ रंगशालाको ट्र्याकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा सैद्धान्तिक कक्षाहरू सञ्चालन हुनेछन् । एकहप्ते प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना सहभागी छन् । एथलेटिक्स संघ प्रमुख प्रशिक्षक चन्द्र गुरुङको नेतृत्वमा वरिष्ठ प्रशिक्षकहरू कान्ति महतो र धनिराम चौधरीले सहभागीलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एन्टिडोपिङको समेत कक्षा सञ्चालन गरिनेछ ।

परिषद् सदस्यसचिव सूर्यलाल भण्डारीको सभाध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथि थिए । कार्यक्रम उद्घाटनमा नेपाली एथलेटिक्स इतिहासका कीर्तिमानी मानन्धरले बागमती प्रदेश खेलकुद विकास परिषद्को प्रशंसा गरे । राष्ट्रिय खेलकुद परिषद् र अन्य प्रदेश सुस्ताएका बेला बागमती प्रदेशले गरेका कार्यक्रम र सक्रियताले खेलकुदमा नया“ आशाको किरण सिर्जना गरेको उनले बताए ।