विपद्मा युवाको सहभागिताको लागि नीतिको अभाव 


न्युज अफ नेपाल, ललितपुर ।
विपद् व्यवस्थापनमा युवा परिचालनलाई प्रभावकारी बनाउन नीतिगत रुपमै त्यसबारे किटानी गर्नुपर्ने खाँचो एक कार्यक्रमका सहभागीहरुले औल्याएका छन् ।राष्ट्रिय युवा महासंघ नेपाल, ललितपुरको शनिबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाका सहभागीहरुले सो खाँचो औल्याएका हुन् ।
सभाको उदघाटन गर्दै नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ठूले राईले विपद् न्यूनीकरणमा युवासहित समुदायको भूमिका महत्वपूर्ण हुुने हुँदा त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रहरी सेवामा रहँदा विपद सम्बन्धी काममा लामो समय संलग्न रहनुभएका राईले २०७२ सालको भूकम्प जाँदा शुरु शुरुमा समुदाय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले नै खोज उद्धार र राहतको काम गरेको पछि क्रमशः विदेशी सहयोग आउन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘विपद् न्यूनीकरणमा समुदायको भूमिकालाई सशक्त बनाउन संघ, प्रदेश र स्थानीय तहले युवा परिचालन, समुदायको भूमिकालाई सुनिश्चित गर्नुपर्दछ ।’ समुदाय प्रहरी साझेदारी, प्रहरी मेरो साथी अभियानलाई ललितपुरको सन्दर्भमा प्रभावकारी बनाउन महासंघले लागू औषध दुव्र्यसन विरुद्ध सञ्चालित सडक नाटकले ठूलो सन्देश दिएको पनि उहाँले स्मरण गर्नुभयो ।सो अवसरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले आफ्नो क्षेत्रमा लागू औषध दुव्र्यसनीको समस्या निकै रहेको जनाउँदै त्यसलाई न्यूनीकरण गर्न महासंघले विगतमा झै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ‘लागू औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यमा सहकार्य गर्न वृत तयार छ । जागरणका कार्यक्रम गरौं ।’प्रहरी नायब उपरीक्षक घिमिरले सार्वजनिक रुपमै आहवान गर्नुभयो ।
सो अवसरमा ललितपुर महानगरपालिकाका विपद् व्यवस्थापन शाखाका प्रमुख हरिश्चन्द्र लामिछानेले भूकम्प पीडितहरुलाई परेका विविध समस्याका बारे पुनःनिर्माण प्राधिकरणमा ध्यानाकर्षण गराउन विगतमा महानगरपालिकाले महासंघसंग मिलेर गरेको सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।विपद् व्यवस्थापनमा युवाको भूमिका महत्वपूर्ण र प्रभावकारी बनाउन विविध कार्यक्रम गर्दै आएको बताउँदै शाखा प्रमुख लामिछानेले त्यस कार्यमा महासंघसंग विगत माझै सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले युवा अघिकारबारे सचेतना गर्न महासंघ मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव एवं संस्थाका सल्लाहकार सुनील महर्जनले स्थानीय प्रहरी प्रशासनलाई जवाफदेही, युवावर्गसहित समुदाय मैत्रीको अभियान व्यापक र तीब्रता दिन महासंघले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो । ललितपुर शाखाका अध्यक्ष राजन महर्जनले युवा, अधिकार ,स्थानीय सरोकार र सेवा विस्तारको तीन खम्बे रणनीति अन्तर्गत लागू औषध, विपद् व्यवस्थापन र युवा अधिकारको क्षेत्रमा नेपाल प्रहरी र महानगरपालिकासंग मिलेर काम गर्दै आएको बताउँदै यस कार्यलाई अझ प्रभावकारी र बृहत बनाउनुपर्ने बताउनुभएको थियो ।