मुगु अस्पताललाई पेस नेपालले स्वास्थ्य सामग्री सहयोग


मुगु ।

प्राणघातक कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला अस्पताल मुगुलाई पेस नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।पेस नेपालले कारितास जर्मन र कारितास नेपालको आर्थिक सहयोगमा अक्सिजन सिलिन्डर २० थान, मास्क, सेनिटाइजर, ग्लब्स, भीटीएम किट, एन्टिजेन किट, बिरामी सुत्ने बेडलागायत ९ लाख २४ हजार ६७९ रुपैया बराबरको स्वास्थ्य सामग्री जिल्ला अस्पताल मुगुलाई सहयोग गरेको हो ।

मुगुका नागरिकहरुको स्वास्थ्य सुरक्षाको लागि मुगु जिल्ला समन्वय समितिका संयोजक पूर्ण बहादुर रोकायाको रोहोवरमा जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पेस नेपालका जिल्ला कार्यक्रम संयोजक नारद रेग्मीले जानकारी दिए ।संयोजक रोकायाले पेस नेपालले गरेको सहयोगप्रति धन्यबाद दिदै जिल्ला अस्पताल मुगुलाई सहयोग भएको उक्त सामग्रीको अभिलेख राखेर सही सदुपयोग गर्न सुझाव दिए ।

त्यस्तै, उक्त स्वास्थ्य सामग्री बुझ्दै जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमखु ज्ञानसिंह बुढाले पनि उक्त स्वास्थ्य सामग्रीहरुको अभिलेख राखेर सही सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।