अर्घाखाँचीबाट कांग्रेसमा सिंहलाई जिताउन पूर्वविद्यार्थीहरू सक्रिय


काठमाडौं ।

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्र्तगत अर्घाखाँची जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ गणेशबहादुर सिंहले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसको विचार र निष्ठाको राजनीतिलाई स्थापित गर्नका निम्ति आफूले उम्मेदवारी दिएको सिंहले बताउनुभयो ।

करिब चार दशक शिक्षण पेशामा आबद्ध सिंह नेपाल शिक्षक संघ र नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अध्यक्ष भई नेतृत्व प्रदान गरिसक्नुभएको छ । पञ्चायतकालमै विद्यार्थी राजनीतिमा सक्रिय रहनुभएका उहाँ २०२६ सालमा केही महिना जेलसमेत पर्नुभएको थियो । विद्यार्थीकालमा उहाँसँगै काठमाडौं र बनारसमा एउटै कमिटिभित्र रहेर काम गरेका साथीहरू पार्टीको केन्द्रीय तहमा पुगिसकेका छन् भने उहाँका पूर्वविद्यार्थी र सहकर्मीले पार्टीको जिल्ला नेतृत्व हाँकिसकेका छन् । जीवनको उत्तराद्र्धमा समेत सक्रिय सिंहलाई कतिपयले बुढेसकालमा भनेर प्रश्न तेर्साउने गरेकोतर्फ इंकित गर्दै भन्नुभयो–‘मानिस विचारले कहिल्यै पनि बुढो हुँदैन ।

अहिले नेपाली कांग्रेसलाई बुढाहरूको अनुभव, त्याग र युवाहरूको जोश, जाँगर तथा दृष्टिकोणलाई ‘फ्युजन’ गर्नुपर्ने आवश्यकता छ ।’ अर्घाखाँचीमा पाइला नै नटेकेर सुवर्ण शम्शेरले चुनाव जितेको, काशीनाथ गौतम, ढुण्डिराज शास्त्री, रेवतीप्रसाद भुसालले चुनाव जित्दै गर्दा कांग्रेस किल्लाका रूपमा परिचित अर्घाखाँचीमा भएका पछिल्ला निर्वाचनमा पार्टीले हार बेर्होर्दै आएको पृष्ठभूमिमा पार्टी पुरानै अवस्थामा फर्काउनका लागि ‘फ्युजन’ आवश्यक छ । त्यसका निम्ति आफ्नो उम्मेदवारी रहेको सिंहले बताउनुभयो । नेता र कार्यकर्ताबीच बढ्दै गएको दूरीलाई कम गरी विचार र संगठनले पार्टी मजबुत गराई जिल्लामा गुमेको पार्टीको साँखलाई पुनर्जीवित गर्ने आफ्नो एजेन्डा रहेको सिंहको भनाइ छ ।सिंहलाई जिताउन उहाँका पूर्वविद्यार्थीहरूको सक्रियता बढेको छ । लामो समयसम्म विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै संगठितसमेत गर्नुभएका उहाँ जिल्लामा ‘हेडसर’का रूपमा परिचित हुनुहुन्छ ।

यद्यपि, पार्टीको गुट उपगुटका कारण पटक–पटक ‘मेड मास्टर’ को पद भने गुमाउँदै आउनुभएको थियो । यसपटक पूर्वविद्यार्थीहरूले ‘हेडसर जिताऊ अभियान’ नै शुरू गरेका छन् । ‘आफ्नै पूर्वविद्यार्थीको नेतृत्वमा रहेर पार्टीको संगठन विस्तार तथा सुदृढिकरणमा अहोरात्र खटिनुभएका उहाँले अहिलेसम्म आफूलाई कुनै पद माग्नु भएन । अहिले १० जनालाई दिन पाइने भोटमध्ये एउटा भोट माग्नु भएको छ । हामीले ‘गुरू दक्षिणा’ दिनुपर्ने बेला आएकाले जरुरी पनि उहाँलाई जिताउने अभियानमा लागेका छौं ।’ सिंहका पूर्वविद्यार्थीहरूको भनाइ । पूर्वविद्यार्थीहरूले स्वतःस्र्फूतरूपमा सामाजिक सञ्जालमार्फत् सो अभियान शुरू गरेका छन् ।