बुटवल नगरपालिकाले दियो पहिरो पीडितलाई घरबहाल रकम


यमलाल भुसाल, बुटवल ।

पहिरो पीडितले नगरपालिकाका मेयर शिवराज सुवेदीलाई आक्रमण गरेपछि बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएकालाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ ।पहिरो पीडितले सोमवार मेयर सुवेदीलाई पहिरो निरिक्षणका क्रममा मुक्का हानेका थिए । यो विषय निक्के चर्चा पाएको थियो ।

हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएर विद्यालयहरुमा आश्रय लिन बाध्य भएकालाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने भएको मेयर शिवराज सुवेदीले जानकारी दिनु भयो ।स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका मेयर सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले गरिरहेका निरन्तरका विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्थापनाका कामलाई सहकार्यमा थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।

पहिरो र बाढीले पूर्ण रुपले घर–आवास क्षति भएर विद्यालयहरुमा आश्रय लिई बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा विपद ब्यवस्थापन समितिको सिफारिसमा विद्यालयबाट तत्काल स्थानान्तरण गरी अन्यत्र बहालमा बस्नका लागि तत्काललाई बहाल खर्च रकममा राहत स्वरुप सहयोग गर्ने निर्णय भएको छ ।विस्थापितहरुका लागि पुनःस्थापना गर्न सम्बन्धित वडाबाट पीडितको माग निवेदन सहित विवरण संकलन गरी जिल्ला विपद ब्यवस्थापन समिति मार्फत प्रकृया अगाडि बढाइने भएको छ ।

बुटवल उपमहानगरपालिका तिनाउ दानव नदिमा ठुलो बाढी आई कटान गरेको र चुरे क्षेत्रमा रहेका वडा नं। १, २, ३, ४, ५, ६, ११, १२, १३, १७, १८ मा क्षतिको विवरण सहित जिल्ला विपद ब्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनु भयो ।बुटवल ३, ४ को ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा पहिरोले थुपारेको लेदो, ढुङ्गामाटोको गेग्रेटोलाई प्राविधिकहरुको विशेष निगरानीमा हटाइने भएको छ ।

बुटवल–बेलहिया ब्यापारिक मार्गको बुटवलको गोलपार्क देखि राजमार्ग चौराहासम्मको सडह खण्डमा निर्माण कार्य ढिलो गरी सुरु भएको र यसले जोखिम बढाइरहेको भन्दै विपद् व्यवस्थापन समितिले ध्यानाकर्षण गराएको छ ।