असोज १० गतेदेखि मुक्तिनाथ मन्दिर खुला गरिने, कागवेनीमा श्राद्ध गर्नेको भीड

1.6k
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिकस्थलमुक्तिनाथ मन्दिर पाँच महिनापछि भक्तजनका लागि खुल्ला गरिने भएको छ ।

मुक्तिनाथ र कागवेनीमा सोह्र श्राद्धमा पुग्ने भक्तजनको सुबिधालाई ख्यालमा राखेर असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिन लागेको हो । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षतामा मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर कम रहेको भन्दै दर्शनका लागि मन्दिर खुला गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण गएको बैशाखदेखि मुक्तिनाथ मन्दिरमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो। हिन्दु धर्मालम्बीहरुका लागि सोह्रश्राद्धमा मुक्तिनाथ र कागवेनीमा पुगेर स्नान तथा तर्पण गर्ने कुरालाई पुण्य मानिने भएकाले मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ । बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजिन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भीत्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिईने निर्णय भएको छ । कोरोना खोप लगाएका व्यक्तिहरुले सहज प्रबेश पाउनेछन् ।मुक्तिनाथ मन्दिर झन्डै समुद्री सतहबाट ३ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ ।

यसैगरी हिन्दुधर्मालम्बीले पृतिस्मरण गर्ने सोह्रश्राद्ध सुरु भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरु पुग्न थालेका छन्।

तीन वर्षअघिसम्म सोह्रश्राद्ध लागेपछि दैनिक हजारौंको संख्यामा भक्तजनहरु मुक्तिनाथ र कागबेनीमा पुगेर श्राद्ध गर्थे। तर,  पछिल्लो वर्ष कोरोना महामारीका कारण स्थानीय प्रशासनले मुस्ताङ प्रवेशमा कडाइ गरेपछि भक्तजनहरुको संख्या पनि पातलिंदै गएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस वर्ष कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा दुवै खोप लगाएको कार्ड देखाए मुस्ताङ प्रवेशका लागि अनुमति दिने भएको छ। जसका कारण रिपोर्ट नेगेटिभ भएका र दुवै खोप लगाएकाहरु दर्शन र श्रद्धाकर्म गर्न कागबेनी र मुक्तिनाथ जान थालेका छन्।

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएकी गण्डकीको संगम स्थल भएकाले कागबेनीमा पुगेर पिण्डदान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख छ। कालीगण्डकी तथा मुक्तिनाथ क्षेत्रका जानकार स्वामी ऋषि प्रपन्नाचार्यका अनुसार तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्रश्राद्ध वा पितृको तीथि नै त चाहिँदैन। तर सोह्रश्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि दिवंगत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका विभिन्न स्थानहरुबाट हजारौं धर्मावलम्बी आउने गर्दछन्  ।