चरेश ओसारपोसार गर्ने एक गिरोह पक्राउ


काठमाडौ ।

नेपालबाट युरोप, अमेरिका र एसियाका बिभिन्न देशमा अबैध रुपमा चरेशको कारोवार गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालमा बनेको सामान पठाउने भन्दै हस्तकलाको सामान भित्र चरेश राखेर तस्करी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका उर्पा तामाङ उर्फ सेसे भन्ने ब्यक्तिलाई उक्त कारोवार गरेको अभियोगमा पक्राउ गरेपछि उक्त गिरोह पक्राउ परेको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ह्रदय थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका तामाङ यस अघि लागू औषध मुद्धामा १९ बर्ष जेल बसेर २०७३ सालमा जेलमुक्त भएका थिए । जेल मुक्त भएपछि तामाङले संगठित रुपमा उक्त काम गर्दै आएको एसएसपी थापाले जानकारी दिनुभयो ।लागू औषध खैरो हेरोइन मुद्दामा जेल गएका तामाङ अहिले चरेस तस्करीको धन्दा शुरु गरेका छन् । नेपालबाट भारतको बाटो हुँदै हङकङ, थाइल्याण्ड र टर्की सहितका मुलुकमा चरेस पठाउने समूहका ९ जनालाई पक्राउ गरेर ब्युरोले सार्वजनिक गरेको छ ।

प्रहरीले म्याग्दीका श्यामप्रसाद रोका र वीर बहादुर रोका मगरलाई ब्युरोको टोलीले भदौ २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरू कतार एयरवेजको विमानमार्फत दोहा जान लागेका थिए । श्याम प्रसाद र वीर बहादुरको साथबाट प्रहरीले ४ किलो ३५ ग्राम लागू औषध चरेस बरामद गरेको थियो । उनीहरूलाई चरेस पठाउने समूहबारे अनुसन्धान गर्दै जाँदा थप ७ जना पक्राउ परेका हुन् ।

विमानस्थलबाट पक्राउ परेका श्यामप्रसाद, बरबहादुरको बयानका आधारमा म्याग्दीका दिलबहादुर रोका, धादिङ घर भएका अनिलबहादुर घले,जितबहादुर तामाङ र माइला भन्ने कृष्ण बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।आफ्ना मान्छेलाई बिभिन्न समूह बनाएर चरेस तस्करीमा संलग्न रहदै आएका तामाङलाई पक्राउ गरेपछि उनकै बयानको आधारमा ब्युरोले नुवाकोटका बीरबहादुर तामाङलाई पक्राउ गर्न सफल भएको थियो ।

नेपालमा बनेको नोटबुक र डायरीको भित्री कभरमा चरेस राखेर सो समूहले तस्करी गर्दै आएको सूचनाको आधारमा उनीहरुको बारेमा लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गर्न सफल भएको एसएसपी थापाले जानकारी दिनुभयो । प्रहरीले सो समूहबाट ७ किलो भन्दा बढी चरेस बरामद गरेको छ ।टोखा नगरपालिका–३ स्थित कपनमा रहेको तामाङको डेरामा चरेसलाई नोटबुक र हेन्डीक्राफ्ट भित्र लुकाउने कारखाना नै सञ्चालन गरेको भेटिएको उहांले जानकारी दिनुभयो ।

तामाङ सहितको गिरोहले नेपाली कागजबाट बनेका डायरी र ऊनबाट बनाइएका विभिन्न रङका हेण्डिक्राफ्टमा कार्बन पेपरले छोपेर विदेश पठाउन चरेस तयार गर्ने गरेको पत्ता लागेको एसएसपी थापाले जानकारी दिनुभयो ।सो समूहले भारतीय नागरिकसँग मिलेर कलकत्ता हुँदै पानी जहाजबाट थाइल्याण्ड लगायतका देशमा चरेस पठाउने गरेको तथ्य फेला परेको ब्युरोले जानकारी दिएको छ ।तामाङले बिदेशमा काम गर्न जाने नेपालीलाई नक्कली कागजात बनाएर बिक्रि गर्ने गरेको पनि ब्युरोले जनाएको छ ।