विद्यालय कर्मचारी र बालविकास शिक्षकले बुझाए नगरपालिकामा ज्ञापनपत्र



प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले सोमबार ज्ञापनपत्र बुझाएका छन् । विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिको आयोजनामा सरकारले वृद्धि गरेको तलब पाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो ।

उक्त ज्ञापनपत्र समितिका अध्यक्ष बिर्सना चोखाल र सचिव गणेश परियारले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र शिक्षा अधिकृत अर्जुन पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनपत्रमा सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा बालविकास शिक्षक र विद्यालय कर्मचारीको मासिक तलब न्युनतम १५ हजार रुपैयाँ पु¥याउने घोषणा गरेकाले कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको २ महिना बितिसक्दा पनि अहिलेसम्म सरकारले वृद्धि गरेको तलब-भत्ता पाउने विषयमा आवश्यक प्रक्रिया अगाडि नबढेको भन्दै यसको कार्यान्वयनका लागि आफूहरुले ध्यानाकर्षणस्वरुप ज्ञापनपत्र बुझाइएको समितिका अध्यक्ष बिर्सना चोखालले बताउनुभयो । नेपालीहरुको महान् पर्व दसै नजिकिँदै आएको अवस्थामा स्थानीय सरकारले समेत आफ्नो दायित्वभित्र पर्ने तलब निकासा गरी विद्यालयको तल्लो तहमा कार्यरत शिक्ष्क तथा कर्मचारीले उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाइदिन माग समेत गरिएको छ ।

यदि अहिलेकै अवस्था कायम रहेको खण्डमा सम्पूर्ण बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरु थप आन्दोलनमा जान बाध्य हुने व्यहोरा समेत ज्ञापनपत्रमार्फत जानकारी गराइएको छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख हरिकुमार श्रेष्ठले बालविकास शिक्षक तथा कर्मचारीले उठाएको माग जायज रहेकाले बढेको तलब सुविधा पाउने विषयमा अन्यथा नहुने बताउनुभयो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले चालु वर्षदेखि लागू हुनेगरी विद्यालय तहमा कार्यरत बालविकास शिक्षक तथा कर्मचारीको मासिक तलब १५ हजार पु-याइने घोषणा गरेको हो । विद्यालयको तल्लो तहमा कार्यरत बालविकास शिक्षक तथा कर्मचारीले अधिकांश समय विद्यालयलाई दिए पनि न्युन तलबमा काम गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्