एमाले स्थायी कमिटी बैठक जारी


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदन पेस भई छलफल भइरहेको एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

यसअघि आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा. पुष्प कँडेलले भाग लिएका थिए ।एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ ।

विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ । प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही ८ र ९ असोजमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशन आगामी १० देखि १२ मंसिरमा हुने तय गरिएको छ।