काभ्रेको बनेपामा पञ्चकुमारी, पनौतीमा सुन्दरबस्ती

सहकारी मार्फत समृद्धीको अभियान


मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेको बनेपामा रहेको पञ्चकुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको चौधौ बार्षिक साधारण सभा र पनौतीमा रहेको सुन्दरबस्ति बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बनेपामा आयोजना भएको साधारण सभामा बागमती प्रदेश सभा सदस्य गोमा भुर्तेलको प्रमुख आतिथ्यता र अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो भने पनौतीमा आयोजना भएको सभा पनौती नगरपालिका वडा नम्वर ४ का अध्यक्ष बुद्धसिं थापाको प्रमुख आतिथ्यता र अध्यक्ष प्रमिला खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । कोभिडको महामारीमा सदस्य केन्द्रित योजनाहरु सार्वजनिक गर्दै सहकारीहरुले आर्थिक समृद्धीको घोषणा गरेका छन् ।पञ्चकुमारी बहुउद्देश्यीय सहकारीको सभामा अध्यक्ष मधुसुदन पन्तले संस्थाले गरेका बार्षिक गतिविधिसँगै चालु वर्षमा संचालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

कोभिड महामारीका बेला शेयर सदस्यहरुका समस्यालाई मध्यनजर गर्दै सहकारीले विषेष कार्यक्रम संचालन गरेको बताउँदै अध्यक्ष पन्तले सहकारीले संस्थागत विकासका लागि ४ आना क्षेत्रफलको जमिन ६४ लाखमा खरिद गरी आफ्नै भवन निर्माणको तयारीमा रहेको बताउनु भयो । कार्यक्रममा संस्थाका सचिव गोविन्द दाहालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बाल बचतकर्तालाई सम्मान, उत्कृष्ट बचतकर्ता, ऋणी, कर्जा, सदस्यता बृद्धी र पुँजी वितरण, सदस्यहरुको निधनमा अन्तिम संस्कारका लागि सहयोग, प्रसुती खर्च, दुर्घटना विमा जस्ता कार्यक्रम गरिरहेको बताउनु भयो । सोहि अवसरमा संस्थामा उत्कृष्ष्ट बचतकर्ता खेमनाथ दाहाल, उत्कृष्ट ऋणी टिकाराम खड्गी, जेष्ठ सदस्य महिला दिन कुमारी सत्याल र पुरुष शिवहरी दाहाल लगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट कर्मचारी गंगा दाहाल र रमा तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।

८ करोड ३० लाखको कारोवार गरेको संस्थाले गत आर्थिक वर्षसम्ममा १ करोड १० लाखको शेयर पुँजी र ५ करोड २० लाखको निक्षेप संकलन गरेको छ । कार्यक्रममा कोषाध्यक्ष लोकमणी दाहालले आर्थिक प्रतिवेदन र लेखा संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाकी उपाध्यक्ष कल्पना सापकोटा बजगाई, गंगा दाहाल ब्यवस्थापकले सहकारीले गरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । साधारण सभामा संस्थाका सल्लाहकार कृष्ण तिमल्सिना कृष्णबुद्ध बजगाई, वडा अध्यक्ष सचितानन्द केसी, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला बहुउदेश्यीय सहकारीका सचिव योगराज दाहाल, शेयर सदस्य लगायतले मन्तब्य राख्नु भएको थियो । सहकारीले शेयर सदस्यहरुको आर्थिक समृद्धीका लागि निरन्तर कार्य गरिरहनु पर्ने सहभागिहरुले सुझाव दिएका थिए ।

त्यस्तै सुन्दरबस्ति सहकारीको सभामा १७ करोड २० लाख ७५ हजार निक्षेप, २२ करोड ३ लाख ३० हजार कर्जा लगानी गरी १ करोड १० लाख चुत्ता पुँजी रहेको जानकारी गराईएको थियो । प्रमुख अतिथी वडा अध्यक्ष बुद्धसिं थापाले सहकारीहरुले योजना सहितको कार्यक्रममा प्रतिस्पर्धा गर्नु पर्ने बताउनु भयो । बचत र ऋण कारोवार मात्रै बढाउनु भन्दा साना साना ब्यवसायी र थोरै आय आर्जन भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राख्न सुझाव दिनु भयो । सहकारी ऐन र कानुन निर्माण भए पनि कार्यान्वयन हुन नसकेकोमा वडा अध्यक्ष थापाले चिन्ता ब्यक्त गर्नु भयो । विशेष अतिथी सहकारी विज्ञ हरि बशिष्ठले आधुनिक सहकारीको विकास भएको बताउनु भयो । सहकारीलाई स्थानीय सरकारले समन्वय र सहजिकरण गर्नु पर्नेमा शासन गरिरहेको बताउँदै उहाँले प्रशासनको माध्यमबाट सहजिकरण गरी सहकारीलाई फैलन दिनु पर्ने बताउनु भयो ।

सहकारीका अध्यक्ष प्रमिला खड्काले सहकारीले युवा लक्षित कार्यक्रम तय गरी युवालाई कृषि र आयआर्जन हुने खालका योजनामा लगानी गरिरहेको बताउनु भयो । प्रवन्ध निर्देशक रोशन चौलागाईले सहकारीले वर्षभरी गरिरहेका गतिविधिलाई मुल्यांकन गरी कोभिड महामारीका बीच सदस्यहरुको आर्थिक बृद्धी र विपदसँगै जीवन समृद्ध बनाउन कृषिमा आधारित लक्षित सहुलियत कार्यक्रमहरु शुरु गरिएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले सहकारीहरुले सामाजिक उत्तरदायित्व बहन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा युवा ब्यवसायी विज्ञान राई, कानुनी सल्लाहकार मातृका थापा, उग्रतिर्थ साकोसका अध्यक्ष मोहन गजुरेल, सचिव शान्त्मणी रिजाल, सुनौलो साकोसका अरुण भण्डारी, अग्नि साकोसका अध्यक्ष रविन्द्र श्रेष्ठ, सहकारीका दिपेश कार्की लगायतले सहकारीले खेलेको भूमिका र आगामी दिनमा सहकारीले गर्ने योजनाका बारेमा सुझाव दिनु भएको थियो । सोहि अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा सुजना सुवेदी काफ्ेल र शारदा हुमागाईलाई नगद सहित सम्मान गरिएको थियो । पनौती वडा नम्वर ४ मा रहेको उक्त सहकारीले सोहि क्षेत्र र आसपासमा सेवा उपलब्ध गराउँदै आएको छ ।