किरन धामी, दार्चुला ।
जिल्ला सदरमुकाम खलंगामा विगत लामो समय देखि उद्योग व्यवसाय सञ्चालन गर्दै आईरहेका कृष्णानन्द जोशी एक सफल उद्यमीका रुपमा परिचय दिन सफल भएका छन् ।
जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिलामा जन्मेका जोशी ज्योतीसी काम गर्दा गर्दै २०२७ सालबाट आफ्नै स्वविवेकले गाउँघरका वनहरुमा पाइने अल्लो सिस्नाको र भेडा च्याङग्राको ऊन प्रशोधन गरी विभिन्न प्रकारका कपडाहरु उत्पादन गर्न सुरु गरेको बताउछन् । सुरु सुरुमा गाउँमै हातले अल्लो प्रशोधन गरी अल्लोका कपडा उत्पादन गर्दै आएका जोशीले २०३२ सालमा खलंगा झरेर कृष्णानन्द ढाकाटोपी अल्लो उद्योग नाम दिई फर्म दर्ता गरेर व्यवसायलाई निरन्तर दिए । उक्त व्यवसायबाट सोचे भन्दा निकै बढी आम्दानी हुन थालेपछि अहिले अपिनाम्पा अल्लो उद्योग दर्ता गरी उद्योग संचालन गर्दै आएका छन् ।अल्लोबाट निस्कने लोता (रेसा) लाई उद्योगमा प्रशोधन गरी अहिले ढाकाटोपी, कोटपाखी, शौल, झोला लगायतका थुप्रै सामग्रीहरु उत्पादन गर्दै आईरहेका छन् ।
उनले उद्योगमा स्थानिय १० जनालाई रोजगारी दिएका छन् । उद्योगमा उनिहरुले अल्लो, बाँस र ऊनको धागोबाट कपडा उत्पादन गर्ने गर्दछन् । उत्पादित कपडा नेपालका सबै जसो जिल्लाहरुका ठुल–ठुला कर्मचारीहरुले लैजाने गरेका छन् । खासगरी दार्चुलामा पाइने अल्लोको कोट सबैजसो कर्मचारीहरुको रोजाइमा पर्ने गरेको उद्यमी जोशी बताउछन् ।सुदुरपश्चिमको दार्चुला देखी पुर्वको झाँपा सम्म आफ्नो उत्पादनले बजार पाएको उनि खुसी छन् । पहिले चिनको तिब्बतबाट च्याङग्राको ऊन (कच्चा) पदार्थ आयात गरेर ऊनका विभिन्न सामग्री उत्पादन गर्ने गरेकोमा कोरोना संक्रमण पछि तिब्बती च्याङग्राको ऊन आउन छोडेको बताउछन् । दार्चुलाको हिमाली भेगबाट आउने अल्लोलाई प्रशोधन गरी अहिले अल्लोका उत्पादनमा बढी जोड दिएको बताए ।सिस्नो प्रजातीको अल्लो दुहुँ गाउँपालिको कौवालेक, ब्याँस गाउँपालिकाको दुम्लिङ, घाटीवगर, मार्मा क्षेत्रको दल्लेक, खार तथा सुदुरपश्चिमका बाहेका जिल्लाहरु डोल्पा, रोल्पा र प्युठानबाट समते अहिले कच्चा पदार्थ आयात गर्ने गरेको उनि जोशीले बताछन् । उद्यमी जोशीले आफ्नै स्वविवेकले २७ वर्षको उमेरमा पहिलो पटक हातैले बुनेर सिस्नोको सउल (गल्बन्दि) बनाएका थिए । त्यसपछि कास्की जिल्लाको पोखराबाट १ वर्षे उद्यमी तालीम लिएर उनले दार्चुलामा उद्योग स्थापना गरे ।
पहिले दैनिक ५० देखी ६० हजार बराबरको कारोबार हुने गरेकोमा कोरोना संक्रमण पछि त्यो व्यापार ह्वातै घटेको उनको भनाई छ । ‘पहिले राम्रै व्यापार हुन्थ्यो, कोरोना पछि अहिले दैनिक ३० देखी ४० हजारको मात्रै व्यापार हुन्छ, उनले भने ।’ पहिले भारतका विभिन्न सहरहरुबाट अल्लोको कपाडाको माग आउने गरेको उनि बताउछन् ।कुसल उद्यमी तथा स्थानिय व्यापारी जोशीले अल्लोबाटै मनग्य आम्दानी गरिरहेका छन् । उनले एक वर्षमा अल्लोका उत्पादनबाटै करोडको हाराहारीमा आम्दानी गर्दछन्, भने सबै खर्च कटाएर ५० लाख बचत गर्दछन् । उद्योगबाटै आफ्नो जिवनलाई सहज रुपमा बिताएका छन ।
१०-१२ जनाको परिवारलाई आवश्यक शिक्षा दिक्षा देखी लिएर परिवारलाई पनि खुसी बनाएका छन । उनलाई अधिराज्यभरीका र विदेशका मानिसहरुले समेत सफल उद्यमीका रुपमा चिन्ने गर्दछन् । उद्यमी जोशीले जिल्लाको विभिन्न ठाउँमा र भारतको तमोरी गडवाल, भिमताल, पिपलकोट, जोशीमट र गोपेश्वरका मानिसहरुलाई विभिन्न समयमा उद्योग सञ्चालन तालिम दिएका छन् ।
प्रतिक्रिया