स्वर्गका राजा इन्द्रलाई समाउन सक्ने उपत्यकावासीको सम्मान



फिरोज राजोपाध्याय

काठमाडौंमा मनाइने महान् जात्रामध्ये इन्द्रजात्रा एक हो। गत वर्ष कोरोना भाइरसका कारण जात्रा धुमधामसँग मनाउन पाइएन। यसपटक सुरक्षित र सतर्क हुँदै जात्रा मनाउने तयारी गरिएको छ। यो जात्रा काठमाडौंको मुटुमा रहेको वसन्तपुर दरबार वरिपरि मनाइने गर्छ। हरेक वर्ष हुने यो जात्रा राजा गुणकामदेवको पालादेखि मनाउँदै आएको भनिन्छ। इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण पञ्चमीसम्म गरी आठ दिनसम्म मनाउने गरिन्छ। भाद्र शुक्ल द्वादशीको दिन हनुमान ढोकामा बिहानै यःसिं (काठको लिंगो) उठाएपछि जात्रा शुरू भएको मानिन्छ।

यःसिं उठाएपछि हरेक टोल–टोलमा भैरवको मूर्तिहरू प्रदर्शनमा राख्दछन्। इन्द्रचोकको आकाश भैरवलाई बाहिर ल्याएर फूलले राम्रो सजावट गरेर राख्ने गर्छ। यही बेला विभिन्न नाच पनि शुरु हुने गर्दछ। जसमा मुख्यरूपमा लाखेनाच, पुलुकिसि नाच, सवःभक्कु नाच, महाकाली नाच रहेका छन्। यस्तै, आठ दिनसम्म वसन्तपुरस्थित कुमारीघर नजिकै रहेको मन्दिरमा दश अवतार पनि देखाउने गरिन्छ। इन्द्रजात्राको दिन थःनेयाः र क्वःनेयाः गरी लगातार दुई दिन जात्रा गरिन्छ। उक्त जात्रामा जीवित देवताहरू गणेश, भैरव र कुमारीको रथ तानिने गर्छ। भाद्र शुक्ल पूर्णिमाको दिन क्वःनेयाः गरिन्छ। यस वर्ष असोज ३ गते येंयापुन्हि परेको छ। यो दिन क्वःनेयाः अर्थात् तलतिरको जात्रा परेको छ।

क्वःनेयाः मा वसन्तपुर दरबार हुँदै मरु, चिकंमुगल, जैशीदेवल, ज्याबहाल, लगन, ब्रह्मटोल, वनडे, ह्युमत, कोहिटी हुँदै भीमसेनस्थानबाट वसन्तपुरमा पुगेर जात्रा टुंगिन्छ। यसै गरी, भोलिपल्ट थःनेयाः यानि माथितिरको जात्रा मनाइन्छ। यो दिन वसन्तपुर दरबारबाट प्याफल, नरदेवी, न्ह्योखा, बांगेमुढा, असन, जनबहाल, इन्द्रचोक, मखन हुँदै वसन्तपुरमा गएर जात्रा टुंगिन्छ। अर्को आश्विन कृष्ण पञ्चमीको दिन नानिचा या हुन्छ। यो जात्रामा पनि गणेश, भैरव र कुमारीको रथ तान्ने गर्छ। यो दिन इन्द्रजात्राको अन्तिम दिन हो। यो जात्रामा वसन्तपुर दरबारबाट प्याफल, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक, मखनको रुटमा रथ तान्ने गर्छ। यो जात्रा जंगबहादुरको पालोमा शुरु गरेको भनाइ छ। जंगबहादुरको मन पर्ने प्रेमिकालाई खुसी पार्न यो जात्रा तानेको हो भनिन्छ।

यो जात्राको अन्तिम दिन भएको हुँदा जात्रा सकेपछि राष्ट्रप्रमुख आएर कुमारी, गणेश र भैरवको हातबाट टीका थाप्ने गरिन्छ। यसपछि यःसिं काठको लिंगो ढाल्छ र नदीमा लगेर विर्सजन गर्छ। योसँगै इन्द्रजात्रा समाप्त हुन्छ।

उपाकु जाने

इन्द्रजात्राको पहिलो दिन यानि भाद्र शुक्ल द्वादशीको दिन एक वर्षभित्र मर्नेहरूको नाममा मृतकका आफन्तहरूले पालामा बत्ती बालेर घुम्ने गर्छन्। यसलाई नै उपाकु जाने भनिन्छ। यस बेला पालामा बत्ती बालेर निश्चित स्थानहरूमा मात्रै उपाकु जाने चलन छ।

दागिं

येँया पुन्हि यानि इन्द्र जात्रामा क्वःनेयाः समाप्त भएपछि दागिं आउने गर्छ। दागिं मरुबाट शुरु हुने गर्छ। दागिंलाई इन्द्रकी आमाको प्रतिक हुन्। इन्द्र भेष बदलेर मरुहिटी आएर पारिजात फूल टिपी स्वर्ग जान खोज्दा उनलाई स्थानीयले समात्छन्। इन्द्रकी आमा मरुहिटी आएर इन्द्रलाई छुटाएर लाने बेला स्थानीयले आफ्ना मरेकाहरूलाई स्वर्गमा भेट्न पाउँ भनेर मागेका थिए। त्यसैले त्यो दिन दागिंसँगै घुमेर स्वर्ग जाने भन्दै मरुदेखि इन्द्रदहसम्म जान्छन्।

प्रतिक्रिया दिनुहोस्