कहीं नभएको जात्रा काठमाडौंमा



इन्द्रबहादुर शाक्य

नेपालीबीच लोकप्रिय एक उखान छ– कहीं नभएको जात्रा हाँडीगाउँमा। तर, यो भनाइ नेपालको सन्दर्भमा मात्र हो। जीवित देवीको अवधारणाअनुसार काठमाडौं उपत्यकामा कुमारीको पूजा गरिन्छ, जात्रा मनाइन्छ। त्यसैले विश्वले नै चिन्ने गरी भन्नुपर्दा– कहीं नभएको जात्रा काठमाडौंमा भन्नु ठीक हुन्छ।

२०७८ साल आश्विनमा भाद्र शुक्लपक्षमा पर्ने पूर्णिमाको दिन यसपाली आश्विनमा पर्न गएको छ। चन्द्रमास तिथिमितिबाट यो जात्रापर्व शुरु हुने भएकाले यो पर्व आश्विनमा मनाउन लागिएको हो।
रजश्वला नभएकी छोरी (कन्या) लाई जीवित कुमारी जात्रालाई कुमारी जात्रा अथवा पर्व भनिन्छ। कुमारी छान्ने धेरै विधिअनुसार दशैंमा कुमारी छानिने एक चलन हो।

कुमारी जात्रा (इन्द्रजात्रा) शुरु हुनुभन्दा अघि द्वादशीको दिनमा मानन्धर समाजले हनुमान ढोकामा इन्द्रध्वजलिंग उठाउँदछ। सोही दिनमा साँझ काठमाडौंवासीको स्वर्गीय भएको व्यक्तिहरूको सम्झनामा बाजा बजाई धारणी श्रावन गरी पाल्चादियो बाली काठमाडौं नगर परिक्रमा गर्दछ। यो दुई दिन लगाएर परिक्रमा गरिन्छ।
काठमाडौंवासीका शाक्य वंश कुलमा जन्मेकी कन्यालाई नेपाल राष्ट्रको जीवित कुमारी भनेर जात्रा गर्ने चलन छ। कुमारी जात्रा गर्दा यसको साथमा गणेश र भैरवको पनि जात्रा हुन्छ। यो जात्रा गर्दा हातले बनाएको हस्तकलाको रथमा राखेर जात्रा गरिन्छ। यो लिच्छवी राजाको पालादेखि शुरु भएको मानिन्छ। किंवदन्तीअनुसार पहिले यो रथ अर्थात् कुमारी जात्रा देवगणहरूले पनि आएर हेर्दछन् भनी राखेको अवस्था छ।

इन्द्र देवता पनि वंगमा (टोल वा स्थानमा) बसेर हेरेको कुरा किंवदन्तीमा उल्लेख छ। इन्द्र देवताले त्यस ठाउँमा बसेर जात्रा हेरेको हुनाले त्यस ठाउँलाई इन्द्रचोक भनिन्छ। इन्द्र आएर हेर्ने जात्रा भएकाले त्यसलाई इन्द्र जात्रा पनि भन्ने गरिएको छ। यो दिन इन्द्रको जात्रा हुँदैन, खास कुमारी जात्रा हुन्छ। अहिले पनि यो जात्रा हुन्छ।

यो नेवारीमा येंयापूर्णि (पूर्णिमा) को दिनमा कुमारी जात्रा शुरु हुन्छ (इन्द्रजात्रा) हुन्छ।

यो तीनवटा रथ यात्रा, काठमाडौंको वसन्तपुर गद्दी बैठक अगाडिबाट तानेरमरु, अट्कोनारायणथान, मजिपा, जैसीदेगल, लगन, ब्रह्मटोल, हिउमत, कोहिटी, भीमसेनस्थान, वसन्तपुर ल्याएर विसर्जन गरिन्छ। यो जात्रा हुने बेलामा राष्ट्राध्यक्ष आएर नेपाल सरकारको प्रधानमन्त्रीदेखि लिएर उच्च पदस्थ सरकारी कर्मचारी समेतको उपस्थितिमा जात्रा शुरु हुन्छ।

यही दिनमा काठमाडौंको मजिपा लाखे नाँचको प्रदर्शनी अथवा देखाउने गरिन्छ। यो लाखे नाँचको प्रदर्शनी अथवा देखाउने मजिपाको रञ्जित जाति हो। उनीहरूको गुठीले यो लाखे आजुको नाँच देखाउँदछ। यस्तै, पुुलु किसी (हात्ती) नाँच केल टोलको महर्जन समाजले गर्दछ। दश अवतार नाँच, सवभकू नाँच हलचोक गाउँको पुतुवार जातिले देखाउँछन्।

यो दिनमा स्वर्गीय राजा पृथ्वीनारायण शाह गद्दीमा बसेको र राज्य चलाएको दिन अथवा काठमाडौं जितेको दिन पनि हो। यसै दिनदेखि शाहहरूले काठमाडौं उपत्यकामा बसेर नेपालमा राज्य चलाउन शुरु गरेका हुन्।

गद्दीमा बसेको दिनमा परेको हुनाले उक्त दिन कुमारी जात्रा (इन्द्रजात्रा) पर्व शुरु भएन। यो जात्राको दिनमा कसैलाई हर्ष र कसैलाई विस्मात् भयो। कुमारी जात्रा शुरु नभएर काठमाडौंवासी दुःखी भए। कुमारी जात्रा पनि भएन। कुमारी जात्रा शुरु नभएपछि यसको दोष सबै राजा पृथ्वीनारायण शाहमाथि लाग्यो। राजाले केही गर्न सकेनन्। राजा बिरामी भए। राजाको यस्तो अवस्थादेखि राजाका भारदारहरू, वैद्यहरू, राजगुरु तथा तान्त्रिक वैद्यहरूले राजाको अवस्था हेरिसकेपछि यो केही हुँदैन, यसमा देवी कुमारीको दोष छ, कुमारी पर्व रोकिएकाले यस्तो हुन सक्दछ। यसमा कुमारीसँग क्षमा माग्नु र कुमारी जात्रा चलाउनका लागि, राजाले क्षमा पूजा गरिदिनू भनेर भनियो। सोहीअनुसार (किसली) एउटा राखेर राजाले ढोग गरी क्षमा मागेर कुमारी घरमा राखेपछि, राजालाई विस्तारै सन्चो भएर गयो।

भोलिपल्ट बिहानै राजा कुमारीघर गई कुमारीसँग क्षमा मागे, प्रणाम गरी पहिलेभन्दा राम्रोसँग यो पर्व मनाउने र जात्रा गरिदिने वचन कुमारीको अगाडि राखेको त्यतिखेरका मानिसहरूले देखेअनुसार भइराखेको छ। त्यसपछि राजाले वाचा गरेअनुसार फेरि कुमारी जात्रा शुरु भयो। दोस्रो दिनमा पनि कुमारीको राम्रोसँग जात्रा शुरु भयो। यो दिन वसन्तपुर प्याफल, भेडासिं न्हायकं तल्ला, असन, केल टोल, जनबहाल, इन्द्रचोक भएर हनुमानढोका आई जात्रा विसर्जन गरियो।

कुमारी जात्राका दिनमा काठमाडौंवासीले समयवजी राखी पूजा गरेर आफूहरू पनि खाने र अरूलाई पनि खुवाइन्छ। हनुमा ढोकामा ठूलो भैरवको प्रदर्शन हुन्छ। ठूलो सम्यबजी राखी त्यहाँ वितरण गर्ने गरिन्छ। भैरवको मुखबाट रक्सी र जाँडको धारा बगाइन्छ। सर्वसाधारणले यो जाँड पिउँदछन्। सोही दिन इन्द्रचोकमा आकाश भैरवको मुकुट प्रदर्शनी हुन्छ। यो आकाश भैरव भनेको यलम्बर राजाको टाउको अथवा शिर हो भनिन्छ।

कुमारीको अन्तिम दिन जात्रा भनेको नानिचया हो। यो दिनमा राम्रोसँग जात्रा गरी, वसन्तपुर प्याफल किलागढ, इन्द्रचोक मखन हुँदै वसन्तपुरसम्म राम्रो जात्रा गरी कुमारीलाई रथबाट उतारी कुमारीघरमा लगिन्छ। कुमारी देवी भित्र्याइसकेपछि देवीसँग क्षमापूजा गरी कुमारीसँग आर्शिवाद मागिन्छ।

जबसम्म टीका लगाइन्छ तबसम्म राजा गद्दीमा बसिरहने छन्। कुमारीले हातको बूढी औंलाले टीका लगाइदिन्छिन्। अरूलाई टीका लगाइदिन्छन्। टीका लगाइँदा सुनको एक असर्फी चढाइन्छ। टीका नलगाइएको वर्षमा नै राजा गद्दीमा रहन सक्दैनन्। यसले नयाँ राजा आउने संकेत गर्छ। नयाँ राजा आउने अवस्था अब छैन किनकि नेपालमा गणतन्त्र आएपछि राजाले गर्ने सबै काम अब राष्ट्रपतिले गर्दछन्।

ललितपुर

यंन्यापुन्हिलाई ललितपुरमा एउटा चाडपर्वका रूपमा लिएका छौं। यो चार स्थानमा विभाजित गरी पर्व मनाइन्छ। पहिलो दिन नागबहालदेखि च्यासलसम्म दोस्रो दिन हःखादेखि सुन्धारा, ओकुबहालदेखि टंगलसम्म, तेस्रो दिन मंगलबजारदेखि हौगलसम्म र अन्तिम दिनमा पूर्णचण्डी भुजा राखी यो चाड समाप्त गरिन्छ। यो चाडपर्वमा गणेशको मात्र पूजा हुन्छ। यसमा गणेशको अगाडि समेवजी राखी प्रदर्शन गरिन्छ। गणेशलाई जाँडरक्सी पनि चढाइन्छ। उपत्यकाभित्र मासु राखेर रक्सी जाँड राखेर पूजा गर्न नहुने गणेश देवता ललितपुरको एक ठाउँमा अथवा एक टोलमा मात्र छ। त्यो हो गुइटोलमा रहेको पश्चिम फर्केको गणेश।

यस पर्व नेपालको धेरै जिल्लामा मनाइन्छ। यो पर्व इलाम, धरान, धनकुटा, भोजपुर, चैनपुर, पनौती, पाल्पा, नारायणगढ, पोखरा, बाग्लुङ, म्याग्दी आदि जिल्लामा मनाइन्छ। धेरैले गणेश पूजा गरी यो पर्व मनाउँदछन्। यो तराईको भागमा पनि गणेश चौथी भनेर मनाउने चलन छ। अहिले पनि यो जात्रा चलिरहेको छ। नेवार बस्तीमा समेवजी राखिन्छ। तराईमा रोटी फलफूल आदि राखी मनाइन्छ।

यो पूर्णिमाको दिनमा दोलखामा इन्द्रजात्रा पर्व राम्रोसँग मनाइन्छ। यो जात्राको समयमा ठाउँ–ठाउँमा लिंगो गाडी टोल–टोलमा आकाश भैरवको प्रदर्शन गरिन्छ। नाचगान पनि गरिन्छ। इन्द्रजात्रा गर्ने गुठीहरू पनि धेरै छन्। पाँच दिनसम्म जात्रा मनाइन्छ। यो दिनमा इन्द्रदहमा पनि मेला लाग्द छ। बनेपामा जलपादेवीको जात्रा, चेपागचोनम पर्व र ललितपुरमा गणेश पूजा गरिन्छ।

भक्तपुरको सिद्धपोखरीम मेला लाग्दछ। चम्पादेवीको पूजा हुन्छ। फर्पिङमा हरिशंकर रथयात्रा शुरु गरिन्छ। पश्चिमको बझाङ जिल्लामा पनि यो दिनमा इन्द्रजात्रा शुरु हुन्छ। बझाङका मष्टाको मन्दिरमा पनि यो इन्द्रजात्रा मनाउने चलन पहिलेदेखि छ। यो पर्व खस–आर्यहरूले द्वादशीदेखि पूर्णिमासम्म मनाउँदछन्। देशभरि छरिएर बसेका खस–आर्यहरूले यो मष्टो देवतालाई १२ (बाह्र) स्वरूप र तेह्र (१३) भाइ रहेको विश्वास गर्दछन्। यो देवता माटोको मालिक भएकाले माटोलाई मट्टेदेवता, भूमि देवता पनि भन्दछन्। यो पर्व डडेलधुरा, डोटी, बैतडीमा मष्टो देवतालाई भूमिराज देवता अथवा भूमेश्वरको नाममा पनि पूजा गरिन्छ। आछाम, जुम्ला, हुम्ला, मुगु, जाजरकोट, दैलेखबाट मानिसहरू आएर यो पर्व मनाउँदछन्।

हाम्रा पर्वहरू यसरी नै शुरु भई वर्षभरि विभिन्न किसिमले मनाइन्छ।

(शाक्य नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्