नागरिक बडापत्रलाई चासो दिँदैनन् सेवाग्राही

224
Shares

अमृत अर्याल, स्याङ्जा ।

जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा नागरिक बडापत्र छैनन् । भएकामा पनि यसको प्रयोगबारे सेवाग्राही अनभिज्ञ छन् । सार्वजनिक निकायले आफूले प्रदान गर्ने सेवासुविधा सेवाग्राहीले देख्नेगरी लिखित रूपमा राखिएको प्रतिबद्धता नै नागरिक बडापत्र हो ।

जनताको सबैभन्दा नजिकको सरकार हो स्थानीय सरकार । संघीय र प्रदेश सरकारका निकायहरुको सेवा समेत स्थानीय तहमार्फत कार्यान्वयन हुने हुँदा जनताको सरकारको रुपमा स्थानीय सरकारलाई लिइन्छ तर जनप्रतिनिधिले नै शासन सञ्चालन गरेपनि सूशासनका लागि महत्वपूर्ण सूचक मानिने नागरिक वडापत्र राख्ने र कार्यान्वयन गर्ने कुरामा स्थानीय तह चुकेको पाइएको छ ।

वालिङ नगरपालिका कार्यालयको मुल गेट पुग्नु भन्दा अगाडी नागरिक बडापत्र राखिएको छ । सानो अक्षरमा लेखिएको बडापत्रमा २४ ओटा सेवा प्रवाह हुने सुचकहरु उल्लेख गरिएको छ । तर नगरपालिकाबाट सेवा लिने नागरिकले त्यो बडापत्रमा आँखा नै लगाउदैनन् ।

नगरपालिका भित्र प्रवेश गरेपछि जुन शाखाबाट काम लिनुपर्ने हो सिधै सोही शाखामा पुगेर सेवा लिने गरेको सेवाग्राहीहरु बताउछन् । वालिङ नगरपालिकामा मात्रै होइन जिल्लाका ११ वटै स्थानीयतहबाट सेवा लिने सेवाग्राहीले नागरिक बडापत्र नै अध्ययन गर्दैनन् ।

नागरिक बडापत्रको प्रमुख उद्देश्य सेवा प्रवाहलाई पारदर्शी, जिम्मेवार र सरल अनि प्रभावकारी बनाउनु हो । जिल्लाका ११ पालिका मध्ये वालिङ नगरपालिकामा शेयरकाष्ट इनिशियटिभ नेपालले गरेको गोप्य मत सर्वेक्षण अनुशार नागरिक बडापत्रको बारेमा चासो नभएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

शेयरकाष्ट इनिशियटिभ नेपालले गरेको मत सर्वेक्षण अनुशार नागरिक बडापत्रबारे धेरैलाई थाहा नै नभएको पाईयो । गोप्य रुपमा शेयरकाष्टले गरेको मत सर्वेक्षणमा वालिङ नगरपालिकामा ६ प्रतिशत सेवाग्राहीले मात्रै नागरिक बडापत्रबाट नगरपालिकाको सेवाबारे थाहा पाएको उल्लेख छ । जसले गर्दा कार्यालयको पारदर्शिताको सुचाङ्कको रुपमा रहेको नागरिक बडापत्र बारे पनि प्रश्न उठ्न थालेको छ ।

नागरिक बडापत्र सार्वजनिक सेवा तथा वस्तुको उपलब्धता र प्राप्तिको सूचना हो । हरेक सरकारी कार्यालयको पारदर्शिताको सुचाङ्क नागरिक बडापत्र भएपनि न सेवाग्राहीले त्यस तर्फ ध्यान दिन्छन् न कर्मचारीले नै । यसको प्रयोगलाई चासो नदिदा सेवाग्राही र कर्मचारी विचको सेवामा कठिन समस्या उत्पन्न भएको देखिन्छ ।

कागजात नमिल्दा धेरै सेवाग्राहीले दुख पाएकोे देखिन्छ । सार्वजनिक सेवा बडापत्रको उद्देश्य भनेको नागरिकलाई सेवाबारे सुसूचित गराउनु, सेवा–प्रदायक निकायको जिम्मेवारी र दायित्व सिर्जना गर्नु, तथा सेवा–प्रवाहमा छिटो र सहजता कायम गर्नु हो ।

नागरिक वडापत्र सेवाप्रदायक निकायले सार्वजनिक सेवाको प्राप्त गर्न नागरिकले पु¥याउनुपर्ने प्रक्रिया, सेवाको गुणस्तर, सेवा प्राप्त गर्न लाग्ने समयावधि आदिका सम्बन्धमा एकपक्षीय रुपमा गरिएको प्रतिबद्धता हो । भीरकोट नगरपालिकाले कार्यालय भवनको भित्रपट्टी एउटा कुनामा नागरिकले सहजै नदेख्ने ठाँउमा बडापत्र राखेको छ । यही बडापत्रको अगाडीबाट सेवाग्राही भित्र बाहिर गर्ने भएतापनि सेवाग्राहीलाई यसको बारेमा केही थाहा छैन् ।

अहिले सम्म बडापत्र पढेर सेवा लिने नागरिकको बानी नरहेको भीरकोटका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । नगरपालिकाबाट सेवा लिदा बडापत्र हेर्न अनुरोध गर्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले कार्यालय भित्र रहेको बडापत्र सबैले देख्ने उचित स्थानमा राखिने बताउनुभयो ।

नागरिकलाई सेवासम्बन्धी सुसूचित गर्ने औजार नै नागरिक बडापत्र हो । बडापत्रमा उल्लेख गरिएका प्रतिवद्धता अनुसार कर्मचारीले सेवा नदिएमा क्षतीपुर्ति भराउने सम्मको कानुनी व्यवस्था छ । तर यस बिषयमा अधिकांश सेवाग्राही बेखबर छन् । बडापत्र हेर्नुपर्छ भन्ने अहिले सम्म जानकारी नै नपाएको भीरकोट ६ का श्यामप्रसाद रेग्मी बताउनुहुन्छ । यसको राम्रोसगँ अध्ययन गरे सेवाग्राहीले सेवा लिन तथा आवश्यक कागजपत्र मिलाउन सहज हुने भीरकोटका उपप्रमुख सिमा केसी कर्माचार्यको भनाई छ ।

बडापत्रमा गरिएको प्रतिबद्धता पूरा गर्नु सेवाप्रदायक निकायको कर्तव्य मानिन्छ । सार्वजनिक सेवा बडापत्रको उद्देश्य भनेको नागरिकलाई सेवाबारे सुसूचित गराउनु, सेवा–प्रदायक निकायको जिम्मेवारी र दायित्व सिर्जना गर्नु, तथा सेवा–प्रवाहमा छिटो र सहजता कायम गर्नु हो । नगरपालिकाले बडापत्रमा उल्लेख गरिएको भन्दा अगाडी रहेर सेवा प्रवाह गरेको दावी वालिङ नगरपालिकाका सुचना अधिकारी बावुराम सापकोटाको छ ।

सबैले नागरिक बडापत्र अध्ययन गर्दैनन् भन्ने होइन सुचना अधिकारी सापकोटाले भन्नुभयो,‘चासो राख्ने सेवाग्राहीले अध्ययन गरेका छन् भने कतिपयले नहेरेका हुनसक्छन् ।’ मुलभुत बिषय सेवाग्राहीलाई छिटो सेवा प्रवाह गर्नु हो त्यो नगरपालिकाबाट भएको छ । अहिले सम्म कुनै नागरिकको समयमै काम नभएको गुनासो आफुकहाँ नआएको सापकोटाको भनाई छ ।

सेवाग्राहीले जुनसुकै कार्यालयबाट सेवा लिनुपुर्व यसको अध्ययनमा चासो दिने हो भने अरुको सहारा लिनुपर्ने आवश्यकता पर्दैन । यसको महत्वका बिषयमा नागरिकलाई सचेत बनाउनु सबै सार्वजनिक निकायको आवश्यकता देखिन्छ । नागरिक बडापत्रको सफल कार्यान्वयनले सरकारको इमेज राम्रो देखाउँछ ।