‘नेपाल बालसाहित्यको आदिभूमि’


नेपाल समाचारपत्र, काठमाडौं ।

प्रज्ञा बालकविता महोत्सवमा ३५ जना बालबालिकाले कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्य ज्ञापन गर्दै सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागको आयोजनामा ‘प्रज्ञा बालकविता महोत्सव’ सम्पन्न भएको हो ।
नेपाल प्र्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रिय बालदिवसको अवसरमा बालसाहित्यको प्रवद्र्धनका निमित्त बालकविता महोत्सव आयोजना गरिएको उल्लेख गर्नुभयो । बालबालिका नयाँ शिल्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको भन्दै उहाँले यस्ता कार्यक्रमले उनीहरूको प्रतिभालाई प्रस्फुटित गराउने बताउनुभयो । बालबालिकाको समूहले भोलि देश निर्माण गर्ने भएकाले त्यसका लागि हामीले आधार तयार गरिदिनुपर्ने र यसका लागि प्रज्ञा–प्रतिष्ठानको अभिभावकीय जिम्मेवारी महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘जोसँग सपना छ, कल्पना शक्ति छ र नयाँ ढङ्गले हिँड्ने चाहना छ उनीहरूलाई साथ र सहयोग चाहिन्छ । यसमा हामी सधैं साथमा छौं ।’

उपकुलपति डा. जगमान गुरुङले महोत्सवमा सहभागी बालबालिका अनेकन ताराबीचका २७ नक्षत्रजस्तै नक्षत्र भएको बताउनुभयो । उहाँले जयस्थिति मल्लले आफ्नो पालामा आफ्ना सन्तानलाई पढाउन संस्कृत भाषामा ‘बालविनोदिनी’ नामक पुस्तक लेखाएको उल्लेख गर्दै बालसाहित्यको इतिहास त्यहाँबाट शुरू भएको उल्लेख गर्नुभयो । त्योभन्दा अघिका समय अध्ययनको विषय भएको भन्दै उहाँले नेपाल बालसाहित्यको आदिभूमि भएको उल्लेख गर्नुभयो । विश्वमा बालसाहित्यको नाम पनि नसुनिएको अवस्थामा नेपालमा बालसाहित्यले विकसित रूप लिइसकेको उहाँले बताउनुभयो ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले २०२२ सालदेखि भदौ ४ गतेलाई बालदिवसको रूपमा मनाउने गरिएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको महासन्धिमा हस्ताक्षर गरेको आधारमा २०६२/०६३ को राजनीतिक परिवर्तनपछि नेपालमा भदौ २९ गतेलाई बालदिवसको रूपमा मनाउन थालिएको उल्लेख गर्नुभयो । बालसाहित्य लेख्दा बालअपमान, बालमनोविज्ञान र बाल संवेदनशीलतामा आघात पर्ने शब्द, वाक्य तथा विषयवस्तु समावेश हुने गरेकाले भन्दै त्यो अन्त्य हुनुपर्ने उहाँको धारणा थियो ।

प्रज्ञा बालकविता महोत्सवको औचित्यमाथि प्रकाश पार्दै प्रा.डा. हेमनाथ पौडेलले कस्तो उमेरका बालबालिका भन्ने सन्दर्भमा १८ वर्ष उमेर मुनिकालाई भन्ने कानुनले नै तोकेको र त्यो संख्या ४० प्रतिशत रहेको उहाँले उल्लेख गर्नुभयो । डा. देवी नेपालले बालसाहित्यको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । देशभरिबाट ४० जना बालबालिका छनोट गरिएको र जसमध्ये ३५ जना जोडिएर कविता प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले बालबालिकाको क्षेत्रमा कार्यरत अभियन्ताको रूपमा आफू लागिपरेको उल्लेख गर्दै साहित्यको माध्यमबाट मानिसको चेतनामा परिवर्तन आउने उहाँले बताउनुभयो । कार्यक्रममा वरिष्ठ बालसाहित्यकार प्रमोद प्रधानले ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।