बाघलाई पाडोको पासो, दिनभर खान आएन


कुमार श्रेष्ठ, बाँके ।

बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघलाई नियन्त्रणमा लिनका लागि निकुञ्जमा पाडो देखाएर लोभ्याएको छ । दुई दिनअघि मान्छे खाएको ठाउँमा पाडो बाँधेर पासो थापिए पनि बुधबार दिनभर नै बाघ त्यस ठाउँमा आएन ।

‘बुधबार दिनभर नै घटनास्थलमा पाडो बाँधेर राख्यौं । बाघ देखा परेन । राति आउला । पाडो खान आयो भने त्यसलाई लठ्याउने औषधि राखेको बन्दुकले हानेर नियन्त्रणमा लिन्छौं ।’ –निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको गाभरमा दुई दिनअघि एक जनालाई बाघले खाएपछि गाउँले त्रसित भएका छन् । गाउँलेको चर्को दबाब र पटक–पटक बाघ बस्ती आसपासमा देखिन थालेपछि निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रण लिन थालेको हो ।

सोमबार एक जना मान्छे खाएको बाघ मंगलबार पनि राजमार्गमा देखिएको थियो । बस्ती आसपासको जंगलमा बाघ देखिन थालेको दुई/चार महिना नै भएको स्थानीयवासी बताउँछन् । जंगलमा चराउन लगेको बाख्रा, गाई, बाछाबाछीमाथि आक्रमण गरिरहने बाघले सोमबार मान्छेलाई नै खाएपछि गाभर क्षेत्रमा त्रास बढेको हो । स्थानीयवासी चन्द्र मगरले दिउँसो जंगलमा गाईबस्तु, बाख्रा चराउन जादा र रातिमा घरबाहिर शौच गर्न निस्किन पनि डर भएको बताउनुभयो । गाभर गाउँको हरेक घरमा कतै काठ त कतै तारले बारिएको छ । मान्छे खान पल्केको बाघ जुनसुकै बेला बस्तीमा आउन सक्ने स्थानीयको भनाइ छ ।

पटक–पटक बस्ती आसपासमा बाघ देखिन थालेपछि निकुञ्ज प्रशासनले समातेर खोर राख्ने योजना बनाएको छ । निकुञ्ज प्रशासनले दुई वटा हात्तीको प्रयोग गरेर बस्ती आसपासमा गस्ती गरिरहेको छ । ‘आज राति हाम्रो टोली लठ्याउने औषधि राखेको बन्दुक लिएर रातिभर नै त्यही बस्छ’, वार्डेन शाहले भन्नुभयो– ‘राति पाडो खान आयो भने बन्दुकले हानेर नियन्त्रणमा लिन्छौं । र, खोरमा लगेर राख्छौं ।’

निकुञ्ज प्रशासनले घटनास्थल आसपासमा ६ वटा क्यामेरा जडान गरेको छ । गाभरको एक होटलमा काम गर्ने भारतीय मूलका नागरिकलाई सोमबार बिहान बाघले राजमार्गदेखि २ सय मिटर टाढा पर्ने भट्टीखोला किनारमा लगेर खाएको थियो । यही भट्टीखोला आसपासमा बाघ आउन सक्ने भएकाले पाडो बाँधेर नियन्त्रणको प्रयास गरिएको छ ।

मान्छे खाएको बाघलाई नियन्त्रणमा नलिँदासम्म पूर्व–पश्चिम राजमार्गको शिवखोला गाभर क्षेत्रमा राति साना सवारीसाधनलाई प्रतिबन्ध लगाइएको छ भने दिउँसो पनि एक्लै हिँड्न रोकिएको छ ।

बाँकेमा अहिलेसम्म तीन जनालाई बाघले खाएको छ । दुई वर्षअघि घाँस काट्न गएका दुई जनाालाई बालापुर क्षेत्रमा बाघले खाएको थियो । वर्षेनी बाघको संख्या बढ्दै जाँदा निकुञ्ज आसपासका बस्तीमा जोखिम बढेको छ । बाँके राष्ट्रिय निकुञ्जमा अहिले २१ वटा पाटेबाघ रहेका छन् । राम्रो बासस्थान र आहारा प्रजातिको बाक्लो उपस्थिति रहेकाले बाघको संख्या बढ्दै जाने विश्वास गरिएको छ । बाँकेमा छोटो समयमा बाघको संख्या बढेको हो ।

२०६७ सालमा बाघको बासस्थानको रुपमा विकास गर्न निकुञ्ज स्थापना गरिएको थियो ।