मकवानपुरमा पाहा मार्न जाँदा चिप्लिएर २ को मृत्यु


हेटौंडा, (नेस) ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा–५ स्थित खोलामा पाहा (एक प्रकारको भ्यागुता) मार्न गएका २ युवकको मंगलबार चिप्लिएर खोलामा परेपछि मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी–५, माथिल्लो ज्यामिरेका २२ वर्षीय नवीन दोङ र सोही वडा बाह्रबीसेका २० वर्षीय राजन दोङ छन् ।

पर्याप्त पाहा पाइने धुन्धुरे खोलाको उचाईंबाट चिप्लिएर लड्दा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । खोलाको खाेंचमा उनीहरुको शव तैरिएको अवस्थामा फेला परेको थियो । धुन्धुरे खोलाको भीरको उचाईं करिब १ सय १० मिटर रहेको बताइएको छ ।इलाका प्रहरी कार्यालयबाट प्रहरी पुगेर पोष्टमार्टमका लागि शवहरु हेटौंडा ल्याएको स्थानीय शुक्र थापाले बताउनुभयो ।

कैलाश, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङलगायत पालिकामा पाहाको शिकार हुने गरेको छ । रातमा आहारका लागि निस्कने पाहाको शिकारका लागि मानिसहरु जंगल जाने गरेका छन् । पाहालाई राति टर्च बालेर खोज्ने गरिन्छ । टर्चको उज्यालोले पाहालाई आकर्षण गर्ने हुनाले समात्न सहज हुने गर्दछ ।जंगली हात्तीले धान खान थालेपछि धपाउन गएकामध्ये एक जनाको ज्यान गएको छ । मनहरी गाउँपालिका–६, जोगीतालका ३४ वर्षीय रामलाल जिम्बा तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

हात्तीले धान खान थालेपछि मंगलबार राति जोगीतालका किसानले जंगली हात्तीको प्रतिकार गरेका थिए । तर, हात्तीले मान्छेलाई नै लखेट्न थालेपछि भागभाग भएको थियो । सोही क्रममा जिम्बालाई आक्रमण गरेर मारेको बताइन्छ । टाउकोमा चोट लागेको, कपडाहरु च्यातिएको अबस्थामा फेला पारिएका जिम्बालाई उद्धार गरी उपचार गर्न लगिए पनि डाक्टरले मृतघोषणा गरेको सुनाचुरी सामुदायिक बन उपभोक्ता समितिका सचिव रमेश कार्कीले बताउनुभयो ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पर्ने जोगीतालका किसान जंगली जनावरको आक्रमणबाट आजित भएका छन् । जोगीतालमा करिब एक महिनादेखि हात्तीले घरगोठ भत्काउने र अन्नपातमा क्षति पु¥याउँदै आएको लोथर मध्यवर्ती उपभोक्ता समिति सदस्य नारायण श्रेष्ठ बताउनुहुन्छ ।