शंकर पोखरेलसहित चार जनाविरुद्ध विमला वलीले हालिन् उजुरी


न्युज अफ नेपाल, बुटवल ।

लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी छन्।  पोखरेल मुख्यमन्त्रीमा रहँदा साउन १५ गते खत्रीलाई दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्।

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छन्। रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले खत्रीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको बताएकाे छन् । उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए।

खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन्।