औषधिको अनधिकृत उत्पादन तथा बिक्री–वितरण गर्दै डा.जीवनलाल अमात्य


काठमाडौं ।

भेटेरिनरी क्षेत्रका प्रतिष्ठित चिकित्सक डा. जीवनलाल अमात्य स्वयं औषधिको अनधिकृत उत्पादन तथा बिक्री–वितरणमा संलग्न रहेको पाइएको छ ।  डा. अमात्य स्वामित्वको सेरिन फर्मास्युटिकल्स प्रालिले दर्ताबेगर उत्पादित औषधि बजारमा बिक्री–वितरण गरेको भेटिएपछि यसको खुलासा भएको हो ।

नेपालको प्रचलित कानुनअनुसार कुनै पनि औषधि उत्पादकले औषधि उत्पादन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागसँग अनिवार्य अनुमति लिनुपर्छ । उत्पादन मात्र होइन, बिक्रीका लागि समेत स्वीकृति लिनुपर्छ । प्रत्येक ब्याचका प्रत्येक नाम दर्ता हुनुपर्छ । यस्तो स्वीकृति हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ ।
औषधि उत्पादन तथा बिक्री–वितरणसम्बन्धी कानुन यस्तो भए पनि डा. अमात्य स्वामित्वको सेरिन फर्मास्युटिकल्सले त्यसको बेवास्ता गदैर्फ्लोरोटिम नामक औषधिको उत्पादन तथा बिक्री–वितरण गरिरहेको भेट टाइम्सले फेला पारेको छ ।

भेट टाइम्सले सेरिन फर्मास्युटिकल्स कम्पनीले जनवरी २०२१ मा उत्पादन गरेको ब्याच नं. ध्क् ०१७ को औषधिबारे गुनासो प्राप्त भएपछि यसको वैधानिकताबारे नियामककारी निकाय औषधि व्यवस्था विभागलाई पत्राचार गरेकोे थियो । ०७८ साउन २७ गते विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भेट टाइम्सका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाईलाई एक पत्र लेख्दै उक्त औषधि विभागको दर्ता रेककर्डमा फेला नपरेको जानकारी गराएका छन् । अर्थात् उक्त औषधि गैरकानूनी रहेको पुष्टि गरेका छन् ।

यति मात्रै होइन, सेरिनले फ्लोरोटिम औषधि उत्पादक कम्पनीले कच्चा पदार्थको आयात अनुमतिका लागि आवश्यक पर्ने सिफारिसपत्र समेत नलिएको पाइएको छ । कुनै पनि औषधिमा प्रयोग हुने कच्चा पदार्थको आयातका लागि अनिवार्य पैठारी सिफारिस लिनुपर्ने प्रावधान छ ।‘सेरिन फर्मास्युटिकल्सले उत्पादन गरेको फ्लोरोटिम औषधि यस विभागमा दर्ता नरहेको साथै उक्त उत्पादनमा प्रयोग भएको कच्चा पदार्थहरूको आयात अनुमतिका लागि आवश्यक पर्ने पैठारी सिफारिस पत्र प्रदान नभएको व्यहोरा समेत अनुरोध छ,’ वरिष्ठ औषधि व्यवस्थापक केसीले पत्रमा भनेका छन् ।
दर्ताबेगर गैरकानूनी ढंगले सेरिन फर्मास्युटिकल्सले औषधि बेचेको भेटिएपछि त्यसका सञ्चालक डा. जीवनलाल अमात्यसँग पनि हामीले जिज्ञासा राखेका थियौं ।

सुरुमा त उनले आफूले कुनै औषधि नै उत्पादन नगरेको जिरह गरे । तर भेट टाइम्सले उत्पादन मिति र ब्याच नम्बर सहित स–प्रमाण प्रश्न तेर्साएपछि भने उनी हच्किए र कुरा बदले । भने, ‘तपाईंहरूले हाम्रो उत्पादन सेरेमिक्स दर्ता नभएको लेखिदिएपछि हामी बर्दाद भएका छौं । अहिले त हाम्रो कम्पनीमा नै ताला लगाउनु पर्ने अवस्था छ । यसका लागि तपाईंहरूलाई धन्यवाद ।’यसपछि भेट टाइम्सले जनवरी २०२१ मा औषधि उत्पादन गरेर बिक्री–विररण गरिरहेको कुरा स्मरण गराएको थियो । जवाफमा उनले आफूहरूले फिडमा मिसाउन उक्त औषधि उत्पादन गरेको बताए । त्यसका लागि पशु सेवा विभागबाट स्वीकृति लिएको दाबीसमेत उनले गर्न भ्याए । जबकि, विभागले भेट टाइम्सलाई उपलब्ध गराएको जानकारी पत्रमा कच्चा पदार्थ आयातका लागि समेत अनुमति नलिएको उल्लेख छ ।

स्मरणरहोस्, पशु सेवा विभागले ०७३ फागुनमा आयात निर्यात कार्यविधि संशोधन गर्दै कुनै पनि एन्टिबायोटिक्सजन्य पदार्थको सिफारिस नदिने व्यवस्था गरेको छ । अर्को लाजमर्दौ तर्क त के छ भने एक भेटेरिनरी पशु चिकित्सकले समेत नेपालमा कुन औषधि कुन निकायमा दर्ता गर्ने भन्ने समेत जानकारी नभएको गैरजिम्मेवार जवाफ फर्काएका छन् ।

कानुन मिच्ने पुरानै बानी

सेरिन फर्मास्युटिकलले गरेको अनधिकृत अभ्यासको यो पहिलो घटना भने होइन । उसले शक्ति र पैसाको बलमा विगतदेखि नै देशको कानुनलाई चुनौती दिँदै निरन्तर यस्तो अपराध कर्म गर्दै आइरहेको छ ।सेरिन फर्मास्युटिकल्सको बदमासीबारे जान्न धेरै पछाडि गइराख्नु पर्दैन, दुई वर्षअघिको एउटा घटना नियाले मात्र पनि पुग्छ । औषधि व्यवस्था विभागको टोलीले दुई वर्षअघि सेरिन फर्मास्युटिकल्सले उत्पादन गरेर बजारमा पठाएको एक औषधि त्रिपुरेश्वरस्थित एक औषधि पसलमा अहिलेजस्तै दर्ताबेगर बिक्री वितरण भएको फेला पारेको थियो ।

सेरिनले अनधिकृत काम गरेको फेला परेपछि विभागको चार सदस्यीय टोलीले मुचुल्का उठायो । तर कानुन मिचेर बदमासी गरेको सेरिनलाई अहिलेसम्म घुनपुत्लो लागेको छैन । कानुन मिच्ने सेरिन फर्मास्युटिकल्सको यो अपराध कर्मलाई विभागले किन यसरी ढाकछोप ग-यो ? स्वयं विभागका अधिकारीले समेत भेउ पाउन सकेका छैनन् ।

तर्किंदै जीवनलाल

जीवनलालको औषधि उत्पादक कम्पनीले गैरकानुनी ढंगले औषधि उत्पादन गरेर बिक्री वितरण गरेको पुष्टि भएपछि यसपटक भने औषधि व्यवस्था विभागले उनलाई बोलाएको थियो । बोलावट भएको लामो समयपछि उनी आफ्नी छोरीसहित औषधि व्यवस्था विभाग पुगे । जीवनलालको छोरी पनि पशु चिकित्सक हुन् ।

स्रोतका अनुसार, गैरकानुनी औषधि उत्पादन तथा बिक्रीबारे राखिएको जिज्ञासामा अमात्यले औषधि व्यवस्था विभागका अधिकारीसँग नै झूट बोलेका छन् । दर्ता नै नभएको औषधि पनि आफुले पशु सेवा विभागको महानिर्देशकको अध्यक्षतामा बसेको वैठकले सोही विभाग अन्तर्गतको कार्यालयमा दर्ता भएको भन्दै उनले विभागका अधिकारीसँग झूट बोलेका हुन् । विभागका अधिकारीले अमात्यको झूटको खेतीमा विश्वास गर्दै उनलाई ३ दिनको समय दिएको थाहा भएको छ । तर उनी हप्तौं बितिसक्दा पनि विभागको सम्पर्कमा गएका छैनन् ।

अहिले उनले फोनसमेत उठाउन छाडेको विभागका एक उच्च अधिकारीले बताए । ‘डा. अमात्य तीन दिनभित्र शिफारिस पत्र लिएर आउने प्रतिबद्धता जनाएर जानु भएको थियो,’ ती अधिकारीले भेट टाइम्ससँग भने, ‘तीन दिन होइन, हप्तौ गुज्रिसक्दा समेत उहाँ कार्यालयमा आउनु भएको छैन । गरेको फोन पनि उठाउनु हुन्न ।’

शंकाको घेरामा विभागको भूमिका

सरकारी निकायको अनुगनम टोलीले स्थलगत रूपमै अवैध औषधि जफत गरेको खण्डमा औषधि ऐन २०३५ अनुसार कारबाही हुन्छ । ऐनले यस्तो बदमासीमा कडाभन्दा कडा कारबाहीको प्रबन्ध गरेको छ ।दुई वर्षअघि नै बदमासी फेला परेकाले सेरिन फर्मास्युटिकल्सलाई कानुनको कठ्घरामा ल्याएर कारबाही गर्नुपर्ने हो । तर त्यसो नगरी उन्मुक्ति दिने काम भयो । यसले विभागका कर्मचारीको नियतमाथि नै प्रश्न खडा गरेको छ ।

औषधि व्यवस्था विभागको उच्च नेतृत्वसम्मै अमात्यले प्रभाव जमाउन सकेकाले उनले बदमासीकै बीच पनि उन्मुक्ति पाइरहेको स्रोत बताउँछ । ‘सेरिन फर्मास्युटिकल्सले गैरकानुनी काम गरेको लगातार प्रमाणित हुँदासमेत उन्मुक्ति दिइराखिएको छ,’ स्रोत भन्छ, ‘यसले अमात्य विभागमा राम्रै प्रभाव पार्न सफल छन् भन्ने देखाउँछ ।’पछिल्लो पटकको अर्को एउटा उदाहरण नै हेरौं । सेरिनको औषधिबारे प्रश्न उठेपछि भेट टाइम्सले यसको यथार्थबारे जान्न विभागलाई पत्राचार गरेको थियो । तर यसबारे सूचना दिनै आनाकानी गरियो ।

त्यसपछि भेट टाइम्सले ०७८ असार १४ गते सूचनाको हक प्रयोग गर्दै सेरिनले उत्पादन गरेको औषधिको वैधानिकताबारे एक पत्र लेखेको थियो । उक्त औषधि विभागमा दर्ता भए÷नभएको केही मिनेटमै पत्ता लाग्ने विषय हो । तर विभागले यति सामान्य सूचना उपलब्ध गराउन पनि झण्डै डेढ महिना लगायो । यसले पनि अमात्य र विभागका अधिकारीबीच कतै कनेक्सन त छैन भन्ने आशंका जन्माएको छ ।

करिअरमा सफल, व्यवसायमा बदनाम

नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरूले व्यावसाय विस्तार गर्दै सफलता चुमेका छन् । तर यस्ता व्यावसायिक घरनाले व्यवसाय सञ्चालनका क्रममा गैरकानुनी काम गरेका धेरै उदाहरण भेट्न सकिन्छ । यही सूचीमा थपिएका छन्, डा.जीवनलाल अमात्य । डा. अमात्य भेटेरिनरी क्षेत्रका एक प्रतिष्ठित चिकित्सक हुन् । औषधि उत्पादन कम्पनीसँगै, ह्याचरी उद्योग र पोल्ट्री फार्ममा करोडौं लगानी गरेका अमात्यले चिकित्सकका रूपमा जुन सफलता र प्रतिष्ठा हासिल गरेका थिए, त्यसलाई एक व्यवसायिका रूपमा जोगाउन नसकेको उनका निकटस्थहरू बताउँछन् । ‘डा. जीवनलाल अमात्य एक पशु चिकित्सकका रूपमा सफल व्यक्ति हुन्,’ जीवनलाललाई नजिकबाट चिनेका एक

अर्का भेटेरिनरी चिकित्सक भन्छन्, ‘करिअरबाट हासिल गरेको प्रतिष्ठा उनले व्यवसायीका रूपमा ध्वस्त पारेका छन् ।’
हुन पनि, उनी शक्ति र पैसाको बलमा निरन्तर अनधिकृत र गैरकानुनीमा कार्यमा संलग्न रहँदै आएका छन् । पटक पटक उनका उद्योगहरूले कानुनविपरीत काम गरेको प्रमाण फेला परे पनि उनले त्यस्ता कर्म छाड्नुको साटो निरन्तरता दिँदै आएका छन् । राज्यका निकायले निरन्तर उन्मुक्ति दिएकाले पनि यस्ता कर्म गर्न उनलाई प्रोत्साहन मिलेको पशुपन्छी औषधि व्यवसायीहरू
बताउँछन् ।

बढ्दै औषधिको गैरकानूनी बिक्री

औषधि उत्पादनसम्बन्धी ऐन-कानूनको परिधिमा रहेर उत्पादन गर्नुपर्नेमा गैरकानूनी उत्पादन तथा बिक्री वितरण बढ्दै गएको छ ।भेट टाइम्सले आफ्ना हरेक अंकहरूमा लगातार यसबारे खुलासा गर्दै आएको छ । तथापि न्यूनीकरण हुन सकेको छैन । बरू, गैरकानुनी ढंगले औषधिको बिक्री वितरण भइरहेका नयाँ केसहरू सतहमा आउन थालेका छन् । जानकारहरू नियामककारी निकाय औषधि व्यवस्था विभागको गतिहीनता, अकर्मण्यता र बेइमानी यसको मुख्य कारण मान्छन् । त्यसैले राज्यको नियामकारी निकायको भूमिका र सक्रियता बढाउनुपर्ने उनीहरूको राय छ ।

गैरकानुनी काम गर्न कसैलाई छुट छैन: केसी

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी गैरकानुनी काम गर्न कसैलाई पनि छुट नभएको बताउँछन् । उनले सेरिनले विभागको अनुमतिबेगर औषधि उत्पादन गरेर गैरजिम्मेवार र गैरकानुनी काम गरेको बताए ।
यसबारे विभागको अनुगमन तथा निरीक्षण शाखाले थप अध्ययन गरेर आवश्यक निर्देशन दिने उनले जानकारी दिए । ‘औषधिको गैरकानुनी उत्पादन र बिक्री वितरणबारे विभागको अनुगमन तथा निरीक्षण शाखाले अध्ययन गरेर दिने निष्कर्षका आधारमा विभागले कदम चाल्ने गरेको छ,’ उनले भने, ‘यसबारे शाखाले निचोड दिएपछि आवश्यक कदम चाल्छौं ।’

भन्सारसमेत गुमराहमा

सेरिन फर्मास्युटिकल्सले भन्सारसमेत छलेको पाइएको छ । औषधि व्यावस्था विभागबाट भेट टाइम्सलाई प्राप्त पत्रले त्यसको पुष्टि गर्छ ।कुनै पनि औषधि उत्पादकले आवश्यक कच्चा पदार्थ नियमानुसार सिफारिस लिएको खण्डमा मात्र नेपाल प्रवेश गर्ने भन्सार नाकाका जाँचकीले चेक जाँच गरी विभागको सिफारिसका आधारमा औषधिमा लाग्ने कच्चा पदार्थको हार्मोनिक कोड जनाई भन्सार छुटको सुविधा समेत दिई नेपाल भित्राउन पाउने स्पष्ट व्यावस्था छ । तर विभागको सिफारिसबिनै कच्चा पदार्थ भित्राउने काम भएको छ । जुन विभागको लिखित पत्रले नै बोल्छ ।

यससम्बन्धमा भन्सार विभागका एक अधिकारीसँ जिज्ञासा राख्दा उनले भने, ‘आयात सिफारिसबिना कुनै पनी सामान नेपाल भित्राउन असम्भवप्रायः छ । अहिले भन्सार विभागमा आधुनिक प्रविधि प्रयोग भइरहेको छ,” तपार्इंहरूले त्यसका लागि कम्पनीको नामसहित निवेदन दिएको खण्डमा प्रष्ट जानकारी गराउने छौं ।’