एक महिना तालिम लिएर दुई हप्तामै फिल्म तयार


एक महिना फिल्मको तालिम अनि दुई हप्तामा फिल्म तयार। क्यामेरा र फिल्म मेकिङको फ पनि थाहा नभएका किशोरीले यसरी यति छोटो समयमै गतिला फिल्म बनाएर देखाएका हुन्।

किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वेल अभियानअन्तर्गत गरेकोे फिल्म मेकिङ कार्यशालामा सहभागी १० किशोरीले यसरी एक महिना सिकेकै भरमा उम्दा फिल्म बनाएर देखाएका हुन्। एक महिना फिल्मबारे सिकेका उनीहरूले बाँकी दुई हप्तामा तयार गरेका फिल्म नै देखाए। हालै चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका फिल्म हेर्दा सिकारु हैन अनुभवी फिल्म मेकिङको झलक पाएको अनुभव सहभागीहरूले गरे। कार्यशालाअन्तर्गत बनाइएका पाँच फिल्म प्रदर्शन गरिएको थियो। वुमन मेक फिल्मस् शीर्षकमा दिइएको तालिममा ओस्कार इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले सघाएका थिए। पाँच फिल्मकोे लम्बाइ औसतमा ५ मिनेट थियो। किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट मागिएका आवेदनबाट १० जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको जानकारी गराइन्। शुरूमा कार्यशाला भौतिकरूपमै काठमाडौं र चित्लाङमा गर्ने योजना रहे पनि महामारीको दोस्रो लहर आएसँगै कार्यशाला भर्चुअलरूपमा सम्पन्न गरिएको थियो। एक महिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको थियो। कार्यशालामा आश्रुति त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए। १० जनाले ५ समूहमा विभाजित भई बनाएका फिल्ममा पाँच फरक महिलाको जिन्दगी प्रस्तुत गरिएको थियो।

यौनकर्मीको कथामा फिल्म बनाएकी पुष्पा जोशीले कार्यशालाले आफूलाई फिल्म बनाउने कला मात्र नसिकाएर महिलाका मुद्दालाई लेन्सको आँखाले हेर्न सकिन्छ भन्ने ज्ञान पनि दिएको बताइन्। कार्यशालामा उनीहरूलाई राजन कठेत, रजिला श्रेष्ठ, बबिन दुलाललगायतले प्रशिक्षण दिएका थिए।