संसद् बैठक पुनः अवरुद्ध, अर्को बैठक भदौ २९ गते

126
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोधका कारण स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद् बैठक चल्न नसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरिरहेका बेला सहमतिको प्रयासस्वरूप सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको सभामुखको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सोमबार दिउँसो साढे २ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

एमालेले आइतबारको संसद् बैठक पनि अवरुद्ध गराएको भए तापनि यसअघिको तुलनामा एमालेका सांसदहरू संयमितरुपमा प्रस्तुत भएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई संसदीय मर्यादाभित्र बसेर विरोध गर्न निर्देशन दिनुभएका कारण तुलनात्मकरूपमा विरोध प्रदर्शन संयमित देखिएको थियो । अघिल्लो पटकजस्तो आइतबारको बैठकमा मर्यादापालक र सांसदहरुबीच घम्साघम्सी देखिएन । प्रतिस्थापन बजेट पेस गर्ने क्रममा काँधमा चढेर रोस्टम पुग्ने प्रयास गरेका एमाले सांसदहरुले भौतिकरूपमै आक्रमण गर्ने जस्ता आक्रामक शैली पनि अपनाएनन् ।

प्रतिनिधिसभाको बैठक अघि एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले वेलमा जाने र तोकिएको नारामात्र लगाउने पार्टीको निर्धारित कार्यक्रम रहेको आफ्ना सांसदहरूलाई स्मरण गराउँदै भन्नुभएको थियो– ‘म माननीयजीहरूलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरू छन्, त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं । हामी वेलमा जान्छौं, नारा लगाउँछौं । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलि बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा नारा लगाउने हुन सक्छ । तर, हामीले नारा लगाउने र वेलमा जानेभन्दा बाहिर जानु हुँदैन ।’

संसद् बैठकको शुरुमै एमालेका सांसदहरुले उठेर रोस्टममा नाराबाजी गरेका थिए । बैठक शुरु हुन नसकेपछि संसद्मा सभामुख सापकोटा र एमालेका सांसदहरुबीच लामै समय सवाल–जवाफ चल्यो । एमालेका सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’ भन्ने नारा लगाएका थिए । एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले सदन सहजरूपमा सञ्चालन गर्न दिन आग्रह गर्नुभयो ।

तर, एमालेका सांसदहरु महेश बस्नेत, कृष्णगोपाल श्रेष्ठ, निरू पाललगायतका सांसदले सभामुखविरुद्ध झन् चर्को स्ववरमा नाराबाजी गर्नुभयो । बैठक सहजरूपमा सञ्चालन हुन सक्ने अवस्था नरहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । स्थगित भएर शुरु भएको बैठकको शुरुमै पुनः एमालेका सांसदहरुले ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय मर्यादा कायम गर, गैरसांसदलाई प्रवेश निषेध गर, यथास्थितिमा संसद् चल्न सक्दैन’ लगायतका नारा लगाएका थिए ।
एमालेका सांसदहरुले निरन्तररूपमा नारा लगाउने क्रम जारी राखेपछि सभामुखले संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन मुद्दामा प्रतिनिधिसभामा छलफल गर्न नपाइने व्यवस्थाप्रति ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले प्रतिनिधिसभा नियमावली–२०७५ को नियम २१ को खण्ड ‘ख’ ‘ग’ र ‘घ’ को प्रावधान पालना गर्न आग्रह गर्दै भन्नुभयो– ‘माननीय सदस्यहरुले नियमितरूपमा नाराबाजी गरेर अवरोध गर्दा अन्य बोल्न चाहने माननीय ज्यूहरुको बोल्न पाउने अधिकार हनन भएको छ ।

देशमा बाढी–पहिरोको समस्याका बारेमा बोल्नुपर्ने छ । कृपयाँ आफ्नो आसनमा गएर सदन सञ्चालनका लागि सहयोग गरिदिनुहुन आग्रह गर्दछु ।’ तर, सभामुखको उक्त आग्रहको कुनै सुनुवाइ नगरी एमालेका सांसदहरुले आफ्नो विरोध कायमै राखेका थिए ।

एमालेका सांसदहरुले नाराबाजी चर्काउँदै गएपछि सभामुखले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको भनाइलाई अवरोध गर्न नमिल्ने जिकिर गर्दै सदन सञ्चालनको वातावरण बनाउन सत्तापक्ष र प्रतिपक्ष दललाई आग्रह गर्नुभयो । लामो समय सवाल–जवाफ हुँदा समेत एमालेका सांसदहरुले पूर्वनिर्धारित विरोध गर्ने कार्यक्रमलाई जारी राखेपछि अन्नतः सभामुख बैठक स्थगित गर्न बाध्य हुनुभएको थियो ।

ओलीजीलाई सोध्नुहोस् : देउवा

संसद् बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेपछि सहजरूपमा संसद् चल्न सकिरहेको छैन । संसद् सञ्चालन भएपछि नियमितरूपमा संसद्मा आउने गर्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका सांसदहरुले गर्ने विरोध प्रदर्शनको दृश्य हेरेर फर्किने गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भएको बताउनुभएको छ । संसद् बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले आइतबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो– ‘संसद् बैठक सुचारु कहिले हुन्छ भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्नुस् ।’