न्युज अफ नेपाल, काठमाडौं ।
वरिष्ठ साहित्यकार प्रा. डा. विष्णुराज आत्रेयको प्रथम वार्षिक पुण्यतिथिमा स्मृतिग्रन्थ ‘स्मृतिमा प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी’ एवं अन्तिम ऐतिहासिक उपन्यास ‘वररुचि कात्यायन’को विमोचन भएको छ । काठमाडौँमा आयोजित एक समारोहमा उक्त स्मृतिग्रन्थ र ऐतिहासिक उपन्यास विमोचन भएको हो । दुवै कृतिहरूको लोकार्पण प्रा डा आत्रेयकी धर्मपत्नी आर्या आत्रेय तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संयुक्त रूपमा गरे ।
डा। अलका आत्रेय चूडालको सम्पादकत्वमा प्रा डा विष्णुराज आत्रेय स्मृति प्रतिष्ठान, कपिलवस्तुद्वारा प्रकाशित ६५२ पृष्ठको सो स्मृतिग्रन्थमा डा आत्रेयको जीवनवृत्त, उनका बारेका संस्मरण, कृति विवेचना, कविता आदि विधाहरूमा विविध १५२ लेखकहरूका रचनाहरू समावेश गरिएका छन् भने वररुचि कात्यायन संस्कृत वैय्याकरणको जीवनीमा आधारित ऐतिहासिक लघु उपन्यास हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कार्यक्रममा प्रमुख अतिथि गङ्गा प्रसाद उप्रेतीले बहुआयामिक व्यक्तित्व एवं प्राग् ऐतिहासिक र पौराणिक पात्रहरूलाई नेपालसँग जोडेर यसलाई गौरव गाथाले भरिएको देशका रूपमा नेपाललाई चिनाउन अथक प्रयत्न गर्ने डा आत्रेयबारेको आधिकारिक ग्रन्थले उहाँको परिचय वर्तमान एवं भावी पुस्ता समक्ष ल्याएको कुरा बताए । अद्भुत कपिलधाम एवं साहित्य तीर्थका परिकल्पनाकार डा आत्रेयको विद्वत्क्षमता अतुलनीय रहेको बताए ।
‘वररुचि कात्यायन’ उपन्यासको समीक्षा गर्दै प्राज्ञ डा। देवी नेपालले यो उपन्यास नेपालका पुण्य क्षेत्र र ऋषिमुनिहरूबारे गहन अध्ययन गरी विविध ग्रन्थहरूको स्रोत पनि उल्लेख गरी प्रामाणिकतापूर्वक लेखिएको यस उपन्यासले वररुचि कात्यायानको रोचक औपन्यासिक जीवनवृत्त प्रस्तुत गरेको बताए । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले प्राज्ञिक लेखन र संस्कृत, नेपाली एवं अवधि वाङ्मयमा गुणात्मक र परिमाणात्मक दुवै दृष्टिले डा आत्रेयको विशेष योगदान रहेको स्मरण गरे।
प्राज्ञ डा। हेमनाथ पौडेलले सदैव गहन र प्रामाणिक प्रस्तुति गरेर सबैलाई मोहित पार्ने यस अवनिका मूर्धन्य व्यक्तित्व डा. आत्रेय सरस्वतीका वरद पुत्र भए कुरा उल्लेख गरे । स्मृति ग्रन्थका सम्पादक डा अलका आत्रेयले २०४४ सालमा विश्व हिन्दू सम्मेलनमा प्रथम पटक पिताको हात समाएर प्रज्ञा प्रतिष्ठान आएको र आज बुवालाई स्मृतिग्रन्थभित्र हातमा बोकेर प्रज्ञा प्रतिष्ठानमा आएको बताउँदै पितृऋणको सानो अंश चुकाउने प्रयास गरेको बताए ।
प्रतिक्रिया