गोपाल ढकाल छन्दे एक, अभिनयका छन्द अनेक


नाम त उनको गोपाल ढकाल हो, तर चिनिन्छ चाहिँ छन्दे भनेर।

तनहुँको भिमादका ३५ वर्षीय गोपालले एक जमानाको सुपरहिट हास्य टेलिसिरियल तितो सत्यमा जब छन्देका रूपमा अभिनय गरे, उनको परिचय नै फेरियो। उनी गोपालभन्दा बढी छन्देका रूपमा चिनिन थाले। तितो सत्यका यी छन्देको अभिनय कौशलता हास्यपात्र छन्देमा मात्रै सीमित भने छैन। उनी हास्य अभिनयमै पनि विविधता दिन सिपालु छन् भने हरेक प्रकारका भूमिकामा उत्तिकै दमदार लाग्छन्। त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा कलाशास्त्रमा स्नातक गरेका ढकाल १८ वर्षदेखि कलाकारिताका क्षेत्रमा सक्रिय छन्। विद्यालय जीवनदेखि नै अभिनय गर्दै आएका उनले दर्जनौं स्टेज कार्यक्रमदेखि सडक नाटक, टेलिफिल्म तथा ठूलो पर्दाका फिल्ममा विभिन्न भूमिकामा अभिनय गरेर बहुप्रतिभाशाली कलाकारको छवि निर्माण गरेका छन्।

रंगमञ्चीय हास्य कार्यक्रम प्रस्तुतिको सिलसिलामा युरोप र युकेका विभिन्न देशका साथै साथै एसियाका आधा दर्जन बढी राष्ट्र पुगिसकेका गोपाल कार्यक्रम प्रस्तुतिकै लागि नपुगेका नेपालका जिल्ला कमै छन्। भारतीय राजदूतावासको छात्रवृत्तिमा भारतको पुणेमा अवस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआईआई) बाट अभिनयको विशिष्ट कोर्स गरेका उनले हिजोआजका कुरा, ट्वाक्क टुक्क रिटन्र्स्, तितो सत्य, मेरी बास्सै, बाउन्न घुस्सा त्रिपन्न ठक्कर, बुद्धको पाइला, गीताञ्जली, भद्रगोल, परिचय, घैँटामा घाम, ताइैं न तुइैं पारा उही, जालझेल, सहारा, राजश्री फिल्मी चक्कर, टेन टु फाइभ, शेर्पा दाईजस्ता दर्जनौं टेलिफल्म र भिडियो फिल्ममा विभिन्न चरित्रको हास्य भूमिकामा अभिनय गरेर दर्शकको मन जित्दै आएका छन्, तैपनि चिनिन्छन् छन्देकै रूपमा। त्यसैले मानिसहरू भन्छन्, छन्देका अनेक रूप।

त्यसो त टेन्सन साफ नामक हास्य टेलिश्रृंखलाका लेखक, निर्देशक तथा प्रमुख कलाकार रहेका उनी टेलिफिल्म र नाटकमा मात्र सीमित छैनन्, सावधान, भाइमारा, विष, दाइको ससुराली, दानवीर, देशदेखि विदेश, हात लाग्यो शून्य, इसारा, जंगबाज, खोज, मन परेपछि, नमस्ते, युद्ध, पहिलो पहिलो माया, नमस्ते नेपाल, पर्खी बसेँ, सपनाको नौलो संसार, वडा नं ६, ६ एकान ६, लभ यु हमेशा, पोइ प¥यो कालेजस्ता फिल्मका विभिन्न भूमिकाबाट मन पराइएका छन्। विज्ञापन फिल्ममा पनि त्यतिकै छाएका छन्। विज्ञापन फिल्मको क्षेत्रबाट बेस्ट टेलिभिजन कमर्सियल अवार्डलाई आप्mनो बनाउन सफल भएका गोपालले खाद्य सामग्रीदेखि सिमेन्टसम्म, जुत्तादेखि व्यापारिक भवनहरूको विज्ञापनसम्म उत्तिकै मात्रामा देखिएका छन् भने थुप्रै वृत्तचित्रमा पनि काम गरेका छन्।

हरेक चरित्रलाई न्याय गरेको दाबी गर्ने ढकालले यही खुबीका कारण ठूलो पर्दाको फिल्म मन परेपछिमा नारी चरित्र, सपनाको नौलो संसार र लभ यु हमेशामा जँड्याहा, युद्धमा शिक्षक, खोजमा जंगली मान्छे, नमस्तेमा दृष्टिविहीन, सावधानमा प्रहरी, दाइको ससुरालीमा हुलाकी, पोइ पर्‍यो काले र हात लाग्यो शून्यमा घरेलु कामदार, शेर्पा दाइ र नमस्ते नेपालमा कमेडी भिलेन बनेर गरेको अभिनय यसको उदाहरण भएको बताए। ‘जस्तोसुकै चरित्र र पात्र किन नहोस्, लेखकको कल्पना र निर्देशकको परिकल्पनाअनुसार अभिनय क्षमता देखाउँदै आएको छु’ कोरियोग्राफर, निर्देशक तथा फिल्म सम्पादक राजु शाहको राजश्रीबाट लामो समयसम्म दर्जनौं प्रतिभाशाली व्यक्तिलाई अभिनय प्रशिक्षणसमेत दिएका गोपाल भन्छन् ‘अभिनयको नवरसभित्र रहेर जस्तोसुकै चरित्रको अभिनय गर्न सक्छु। त्यसैले, दर्शक तथा निर्माता, निर्देशकले माया पनि गर्नुभएको छ। कतिपय भूमिकामा दर्शकहरू साँच्चिकै झुक्किनुभएको छ। कतिपय भूमिकामा अभिनय गर्दा आफूलाई नै बिर्सिन्छु। कहिलेकाहीँ त अभिनय गर्दागर्दै त्यो पात्रबाट बाहिर निस्कनै मुस्किल पर्छ।’

पछिल्लो समयमा रोमान्टिक, लभ, एक्सनभन्दा कमेडी फिल्मको दबदबा रहेको अवस्थामा गैरहास्य कलाकारहरूसमेत कमेडी फिल्ममा आकर्षित भएका छन्। कमेडियनलाई नै मुख्य नायक बनाएर फिल्महरू हिट र सुपरडुपर हिट भएका छन्। यही क्रममा गोपाल पनि मुख्य कमेडियन नायकको रूपमा चिट्ठी नामक फिल्ममा अनुबन्धित भइसकेका छन्। जुन फिल्मको चाँडै नै छायांकन हुने भएको छ। उक्त फिल्ममा महँगो पारिश्रमिकमा अनुबन्धित भएका गोपाल भविष्यमा अभिनयसम्बन्धी स्कुल खोल्ने योजनामा छन्। ‘नयाँ प्रतिभाको विकास र सहजताका लागि अभिनय सिकाउँदै आएको छु। अबचाहिँ आफैँएक्टिङ स्कुल खोल्ने सोचमा छु’ गोपालले सुनाए।