राजनीतिमा नयाँ समीकरण, वागमतीका ११ सांसद एकीकृत समाजवादीमा



 रोशन पराजुली, हेटौंडा ।

नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा वागमती प्रदेशसभाका ११ सांसदले सनाखत गर्नुभएको छ ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भएर सनाखत गर्नेमा प्रदेशसभा सांसद राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल हुनुहुन्छ । वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि एकीकृत समाजवादीमा सनाखत गर्नुभएको छ ।

माधव नेपाल पक्षका सांसदहरूका अनुसार अझै केही सांसद थपिनेछन् । उनीहरूका अनुसार समाजवादीमा २१ सांसद छन् । अरूले पनि सनाखत गर्ने सांसदहरूले बताएका छन् । प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन भदौ २ गते नियुक्त गर्नुभएका सामाजिक विकासमन्त्री कृष्ण खनाल भने मंगलबार उपस्थित हुनुभएन ।

तर, सांसद हुमागाईंका अनुसार खनाल सनाखतका लागि आउने पक्का भइसकेको छ । मन्त्री खनाल र पाण्डेले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर गरेर नेकपा एमाले त्याग गरिसक्नुभएको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्माओलीले माधव नेपालनिकट शाक्यलाई वागमतीको मुख्यमन्त्रीमा अघि सार्नुभएको थियो । शाक्य मुख्यमन्त्री बन्दा नेपालनिकट सांसद एमालेमै बस्ने आंकलनविपरीत मंगलबार ११ सांसद एकीकृत समाजवादीमा खुलेका हुन् ।

११ सांसदले नयाँ  दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै स्पष्ट अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ ।

१ सय ९ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । हालको अवस्थामा दुई जनाले मात्र अर्को दल रोजे मुख्यमन्त्रीको पद धरापमा पर्नेछ । तर, एमालेका दर्जन बढी सांसद नवगठित समाजवादीमा खुलिसकेका छन् । केही खुल्ने क्रममा छन् ।

प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन मिलेर प्रदेशमा सरकार बनाउने रणनीतिमा विपक्षी छन् ।
एकीकृत समाजवादीका नेता पाण्डेले शाक्यलाई मुख्यमन्त्रीबाट प्रक्रियागतरूपमा हटाइने भन्दै प्रदेशको वर्तमान सरकार ढल्ने दाबी गर्नुभयो । ‘३ पार्टी मिलेर नयाँ सरकार बनाउँछौं’ –उहाँले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले वर्तमान सरकार गणितीय हिसाबमा अल्पमतमा परिसकेको बताउँदा कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा विपक्षीहरूले आन्तरिक छलफल शुरू गरिसकेको दाबी गर्नुभयो ।

यदि शाक्य आफ्नो पक्षमा नआए शाक्यको स्थानमा राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने योजना बनाइएको छ । एकीकृत समाजवादी पार्टीका नेताहरूका अनुसार वागमती प्रदेशका नयाँ मुख्यमन्त्री पाण्डेलाई बनाउने तयारी छ । पाण्डेले माधव नेपालको साथ छाड्नुभएन । सोही कारण उहाँलाई वागमती प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा पार्टीमा छलफल शुरू भएको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादीमा मंगलबार सनाखत गर्नुभएकी सांसद मुनु सिग्देलले मुख्यमन्त्री शाक्यविरुद्ध तत्काल अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताउनुभएको छ । सांसद सिग्देलले सरकार तत्काल नढल्ने बताउनुभएको हो । ‘मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार कति दिनमा ढल्छ’ भन्ने प्रश्नमा उहाँले मुख्यमन्त्री शाक्यको सरकार तत्काल नढल्ने दाबी गर्नुभयो ।

‘अदालतले सनाखत गर्न २२ गतेसम्म समय दिएको छ । २२ गतेसम्म शाक्यजीले पनि सनाखत गर्न सक्नुहुन्छ’, आशावादी रहँदै उहाँले भन्नुभयो– ‘त्यसैले हामी अहिल्यै नै शाक्यको सरकार ढल्छ भन्न सक्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्