खेलाडीका मुद्दालाई बुलन्द बनाइने


हेटौंडा, (नेस) ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले खेलाडीका माग र मुद्दालाई लिएर आन्दोलनमा जाने बताएका छन् । शुक्रबार हेटौंडामा अध्यक्ष पौडेलले खेलकुद महासंघका पदाधिकारीसँगको भेटमा खेल क्षेत्रका समस्या, खेलाडीका माग र मुद्दाका विषयमा महासंघले आवाज उठाउने बताए ।

खेलकुद महासंघले राजनीतिक एजेन्डाभन्दा पनि खेल क्षेत्रलाई अगाडि बढाउने किसिमका एजेन्डा उठान गर्ने र मुलुकलाई खेल क्षेत्रबाट समृद्ध बनाउने प्रयास गर्ने अध्यक्ष पौडेलले बताए । देशमा खेलाडीमाथि लगानी कम र प्रतिफल धेरै अपेक्षा गर्ने गरिएका कारण खेल क्षेत्रको विकास हुन नसकेको उनको भनाइ थियो ।

खेलाडीहरूले भोकभोकै खेल्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै उनले खेलाडीको आर्थिक सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताए । जसका लागि देशको समग्र बजेटको पाँच प्रतिशत खेलकुदमा विनियोजित गर्नुपर्ने उनको माग छ ।

राष्ट्रियस्तरको खेलमा राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई दिने भत्ता पाँच हजार बनाउन महासंघले माग गरेको छ । हाल राखेपले खेल प्रशिक्षक तथा अफिसियललाई ३ हजार ५ सय भत्ता दिने गरेको उनले बताए ।

राखेपको विभेदकारी नीतिविरुद्ध महासंघले आवाज उठाउँदै आएको भन्दै अध्यक्ष पौडेलले भने–‘राखेपअन्तर्गत अस्थायी खेल प्रशिक्षकलाई स्थायी गरौँ भन्ने माग गरिरहेका छौं । जसका कारण प्रशिक्षकले ढुक्कसँग खेलाडीलाई प्रशिक्षण गर्न सक्छन् र सोहीअनुरूप क्षमतावान् खेलाडी उत्पादन हुन्छन् । हाल भइरहेको २ सय ९ वटा खेल संघलाई आवश्यकताअनुसार मान्यता दिन र सबैलाई प्रशिक्षक नियुक्त गर्नुपर्ने माग रहेको उनले बताए ।