कांग्रेस महाधिवेशन: दोहोर्‍याएर नेतृत्व हत्याउन देउवालाई सकस

196
Shares

रामकृष्ण चापागाईं, काठमाडौंं ।

१४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लाग्नुभएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ । संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व लिने रणनीति बनाइरहेका बेला महाधिवेशनका लागि सहयोगी भनिएका आफ्ना पक्षका प्रभावशाली नेताहरु एकपछि अर्कोले देउवालाई छोड्दै गएका छन् ।

मुख्य गरी कांग्रेसभित्र सभापति देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष गरी तीन गुट सक्रिय थियो । देउवा पक्षका प्रभावशाली नेता उपसभापति विमलेन्द्र निधिले आफूलाई सभापतिको उम्मेदवार घोषणा गरी तयारीका गतिविधि अगाडि बढाएसँगै पार्टीभित्र चौथो गुट पनि बन्दै गएको छ । कांग्रेसभित्र प्रभावशाली नेताहरुको थप उपगुट पनि छ ।

संस्थापन पक्षइतरका वरिष्ठ नेता पौडेलका साथै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, १३औं महाधिवेशनमा सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य विजयी भएका नेता डा. शेखर कोइरालालगायतका शीर्ष नेताले आफूहरु एकढिक्का भएर नेतृत्वका लागि साथ दिँदै देउवालाई नेतृत्वबाट हटाउने रणनीति बनाइरहँदा आफ्ना मुख्य सारथी निधि गुटबाट बाहिरिएपछि देउवालाई थप संकट उत्पन्न भएको हो । कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी भन्नुहुन्छ– ‘१४औं महाधिवेशनमा देउवालाई पराजित गर्न संस्थापन पक्ष एकजुट भएर सभापतिमा एकमात्र उम्मेदवारी दिनुपर्छ ।’

निधि बाहिरिएसँंगै १४औं महाधिवेशनमा अन्य प्रभावशाली नेता ज्ञानेन्द्रवहादुर कार्की, एनपी साउदलगायतका नेताहरुको साथ पनि देउवाले नपाउने निश्चित छ । अघिल्लो अधिवेशनमा देउवालाई साथ दिँदै महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसीले पनि यो अधिवेशनमा देउवालाई साथ नदिने निश्चित छ । केन्द्रीय सदस्य केसी पनि अहिले वरिष्ठ नेता पौडेल पक्षमा रहेर देउवालाई नेतृत्वबाट हटाउने गतिविधिमा संलग्न हुनुहुन्छ ।

यता तेस्रो गुटको नेतृत्व गरिरहनुभएका सिटौला पनि आफंै सभापतिको उम्मेदवार बन्ने बताउँदै आउनुभएको छ । सिटौला गुटभित्र उमाकान्त चौधरी, भीमसेनदास प्रधान, शिव हुमागाईं, गगनकुमार थापाजस्ता प्रभावशाली नेता छन् । महाधिवेशनमा सिटौला गुटको राणनीति के हुन्छ भन्नेबारेमा भने अझै प्रस्ट भइसकेको छैन । सिटौला गुटका नेता शिवप्रसाद हुमागाईं भन्नुहुन्छ– ‘सिटौलाको समूह अहिले पनि कायम छ ।’ जिल्ला अधिवेशनपश्चात् महाधिवेशन प्रतिनिधिको जोडघटाउ गरेपछि मात्र नेतृत्वको सवालमा के गर्ने भन्नेबारेमा सिटौला पक्षको रणनीति बन्ने हुमागाईंको भनाइ छ ।

१२औं महाधिवेशन अघि पार्टीभित्र ४० प्रतिशत भागवण्डा लिएर राजनीति गर्दै आउनुभएका देउवालाई १३औं महाधिवेशनमा नेतृत्व दिलाउन सिटौला गुटले पनि महत्वपूर्ण भूमिका निभाएको थियो । अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाले दोस्रोपटकको निर्वाचनमा देउवालाई समर्थन गरेपछि मात्र रामचन्द्र पौडेललाई पराजित गरी नेतृत्वमा पुग्नुभएको थियो । कांग्रेसभित्र सभापतिमा विजयी हुन दुईभन्दा बढी उम्मेदवार भएमा पनि कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

मंसिर ९ देखि १३ सम्म महाधिवेशन गर्न लागेको कांग्रेसको तल्लो तहको अधिवेशन भने भदौ १८ बाट शुरु हुँदै छ । महाधिवेशन नजिकिएसँगै कांग्रेस केन्द्रीय नेताहरुको ध्यान भने महाधिवेशन प्रतिनिधि निर्वाचनमा छ । प्रतिनिधिसभा क्षेत्रको अधिवेशनले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्छ । महाधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रको अधिवेशन असोज ५ गते हुँदै छ । यो अधिवेशनमा करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि हुने अनुमान छ । वडा अधिवेशनबाट निर्वाचित भएर आएका प्रदेशसभा क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्ने हो ।

विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले चार महिलासहित १४ जना खुला र विभिन्न क्लस्टरबाट १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था छ । यो हिसाबले १ सय ६५ निर्वाचन क्षेत्रबाट ४ हजार १ सय २५ जना महाधिवेशन प्रतिनिधि हुन्छन् । साथै ७७ जिल्लाका जिल्ला सभापति, केन्द्रीय सदस्यहरु, विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधि र भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट आउने गरी करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि हुने अनुमान छ ।