स्क्रब टाइफसबाट चारको निधन, सचेत रहन चिकित्सकको अनुरोध

17.5k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

स्क्रब टाइफसका कारण धुलिखेल अस्पतालमा दुई सातामा तीन बालबालिका र एक ज्येष्ठ नागरिकको निधन भएको छ । कोभिडका कारण समयमै परीक्षण नहुँदा पछिल्लो तीन महिना स्क्रब टाइफस पोजेटिभका बिरामी अत्यधिक मात्रामा देखिन थालेका छन् ।

‘स्क्रब टाइफसका कारण धुलिखेल अस्पतालमा परीक्षण गर्न आएका तीन बालबालिकाको निधन भएको छ’, धुलिखेल अस्पतालका बाल रोग विशेषज्ञ डा. अनिश जोशीले भन्नुभयो– ‘स्क्रब टाइफसका कारण धेरै बालबालिका प्रभावित हुन थालेका छन् ।’ पछिल्लो तीन महिना धुलिखेल अस्पतालमा परीक्षणका लागि आएका बिरामीमध्ये १ सय ३१ जनाको परीक्षणमा २० जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ ।

अस्पतालका मेडिकल माइक्रोबायोलोजिस्ट सुरेन्द्रकुमार मधुपले धुलिखेल अस्पतालमा परीक्षण गरिएका १ सय ३१ व्यक्तिमध्ये २० जनाको तीन महिनाको अवधिमा पोजेटिभ देखिएको बताउनुभयो । ‘पछिल्लो दुई साता संक्रमितको संख्या बढेको छ’, मधुपले भन्नुभयो– ‘पोजेटिभ देखिनेमा १३ महिला र ७ पुरुष छन् । १५ वर्षभन्दा कम उमेरका ४ बालक र ३ बालिका छन् ।’

अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले स्क्रब टाइफसका बिरामीको संख्या दैनिक थपिँदै गएको बताउनुभयो । आकस्मिक बिरामी भएर आउनेको लक्षण स्क्रब टाइफसँग मिल्दोजुल्दो देखिन थालेको डा. श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो– ‘भदौ ८ गते पनौती ११ बल्थलीबाट आउनुभएका बिरामीलाई २४ घण्टा इमरजेन्सी विभागमै राखेर भेन्टिलेटरमा पठाएका थियौं । उहाँमा स्क्रब टाइफसका कारण शरीरका सबै अगं निस्क्रिय भइसकेको थियो ।’

अस्पतालको इन्टरनल मेडिसनमा कार्यरत डा. प्रकाश सापकोटाले स्क्रब टाइफसका बिरामी सातामा १/२ जना आउन थालेको बताउनुभयो । धान, मकै तथा ओसिलो स्थानमा हुने किर्ना मुसाको माध्यमबाट व्यक्तिको छालामा टोक्न पुग्छ । किर्नाले टोकेसँगै व्यक्तिको शरीरमा असर पुग्छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएलगत्तै परीक्षण गराई औषधि सेवन गर्दा उक्त रोगबाट निको हुन सकिन्छ ।

किर्नाको टोकाइबाट २ देखि २१ दिनसम्म उक्त रोगको लक्षण देखिन सक्छ । टोकेको स्थानमा कालो दाग देखिन्छ । खेतबारीमा काम गर्ने तथा रुख बिरुवा भएका स्थानमा काम गर्ने व्यक्तिमा उक्त किर्ना मुसाको माध्यमबाट सर्न सक्छ । सामान्य ज्वरो भनेर घरमै बस्दा व्यक्तिको निधन हुन सक्ने चिकित्सकले बताएका छन् ।

शिर मेमोरियल अस्पताल बनेपामा पनि सातामा एक/दुई जना स्क्रब टाइफसका बिरामी आउन थालेको मेडिकल डाइरेक्टर डा. एन्जिला बस्नेतले बताउनुभयो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जिल्लाका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी देखिन थालेकाले स्थानीय पालिका र नागरिक सचेत रहनुपर्ने बताउनुभयो । ‘हामीले स्क्रब टाइफसबाट बच्न र शंका लागेमा तत्काल उपचार गराउन अनुरोध गरेका छौं ।’ –डा. झाले भन्नुभयो । स्क्रब टाइफसको लक्षण देखिएर पनि समयमै उपचार नहुँदा किड्नी, फोक्सो र दिमागमा असर पु¥याई व्यक्तिको निधन हुन पुग्ने डा. प्रकाश सापकोटाले बताउनुभयो ।